हिजो ‘आवारा भई’ भन्नेले आज ऊ जस्तो व्यवसायी हुनुपर्छ भन्न थालेका छन्
पोखराकी स्मृति ओझा सानै देखि हक्की स्वभावकी थिइन् । पढाइका साथसाथै अन्य क्रियाकलापमा पनि अब्बल थिइन् । विद्यालयको हरेक प्रतियोगितामा जित हासिल गर्थिन् ।
आफ्नो मिलनसार र बहिर्मुखी स्वभावको कारण बाल्यकाल देखि नै अवसरहरू उनलाई पछ्याउने गर्थे । विद्यालय पढ्दै गर्दा नगर बाल मञ्च र जिल्ला बाल मञ्चको अध्यक्ष भइसकेकी थिइन् । त्यसै दौरान युनिसेफसँग समन्वित कार्यक्रम ‘नेट फर गुड’ मा पनि सहभागी भइन् ।
पढाई र यस्ता क्रियाकलाप सँगै जान थाले । उनले समय सापेक्ष रूपमा ती अवसरहरूको सदुपयोग गर्दै गइन । त्यस क्रममा धेरै मान्छे भेटिन् । धेरैतिर यात्रा गरिन् । ‘जेनेरेसन् अमेजिङ’ को एम्बासडर भएर नेपाललाई प्रतिनिधित्व गर्दै जर्मनी र कतार पुगिन् ।
सामाजिक कार्य तर्फ उनको रुचि झनै बढ्दै गयो । त्यसले अझै मान्छे चिनाउँदै लग्यो ।
उनी कार्यक्रममा सहभागी भए बापत केही रकम दिइन्थ्यो । त्यही पैसाले पढाइको खर्च जुटाउने गर्थिन् । आठ कक्षा पढ्दा देखि नै बाबुआमासँग पैसा माग्न छोडिसकेकी थिइन् । त्यसरी कमिँदै गरेको पैसाले उनको आत्मविश्वास बढाउँदै लगेको थियो । उनलाई त्यो मनपरिरहेको थियो ।
परिवारमा दुई छोरी मात्र भएका कारण बाबुआमा सुरुवातका दिनमा अलि दोधारमा नभएका हैनन् । कार्यक्रममा सहभागी हुन घर बाहिर गइरहनुपर्ने हुन्थ्यो । कहिलेकाहीँ घर आउँदा राती अबेर हुन्थ्यो । ‘मेरो रुचि प्रति उहाँहरूको विमति कहिल्यै रहेन तर सायद पढाइ बिग्रने हो कि भनेर सचेत हुन्थे हुनुहुन्थ्यो होला’ उनी भन्छिन् । कतिपय समयमा आफन्तहरूको आक्षेपले परिवारलाई निरुत्साहित पक्कै बनाएको थियो तर उनको सपनाको उडान भने कहिल्यै रोकिएन ।
त्यैबिचमा कोभिड भयो ।
आफूलाई सधैँ सक्रिय राख्न रुचाउने उनको गतिविधि रोकियो । के गर्ने के गर्ने भयो । कोभिडमा बाहिर जान नपाएको र बाबुआमासँग पैसा माग्न नसकेको अवस्थामा उनले सोचिन् ‘अनलाइनबाट व्यवसाय गर्छु ।’
तर व्यवसाय गर्ने कुरा पहिला उनको दिमागमा थिएन । उनी त समाजको लागि केही गर्न चाहन्थिन् । कोभिड पहिला जस्तो क्रियाकलाप गरिरहेकी हुन्थिन् त्यसमै रमाउन चाहन्थिन । तर अचानक आएको महामारीको उनको यात्राको गाडी मोडिदियो । त्यो पललाई सम्झिँदै उनी भन्छिन् ‘मैले व्यवसायी बन्छु भनेर कहिल्यै कल्पना समेत गरेकी थिइन तर समय सधैँ कल्पना गरेको जस्तो हुँदैन ।’
उनले नाम राखिन् ‘द्रिफ्ट ह्याप्पिनेस ।’
सुरुवातमा बजारबाट सस्तोमा क्यामी टप्स र टिसर्ट किनेर ल्याउने र बेच्ने गर्न थालिन् । सुरुसुरुमा व्यवसाय गरेको अनुभव नभएको कुरा देखियो । उनलाई ल्याएको सामान बिक्री नहुँदासम्म चिन्ता हुन्थ्यो । मेरो पैसा अझै बाँकी छ जस्तो लाग्थ्यो ।
कोभिडको समय भएकाले ग्राहक आउँछन् कि आउँदैनन् भन्ने डर त मनमा थियो नै तर उनको डरमाथि आत्मविश्वास हाबी भयो । केही समयमा उनले सोच्दै नसोचेको मात्रामा ग्राहकहरू आउन थाले । त्यसले उनको आत्मविश्वास झनै बढ्दै गयो र उनले आफ्नो व्यवसायलाई नयाँ आयाम दिने विचार गरिन् ।
नयाँ नाम ‘फोरफिट ह्याप्पिनेस’ बन्यो ।
फोरफिट ह्याप्पिनेसले दुरी जनाउँछ । अर्थात् उनी खुसीको लागि दुरीले खासै महत्त्व नराख्ने र दुरीमा रहेर पनि आफ्नो व्यवसाय मार्फत खुसी प्रदान गर्न सकिने बताउँछिन् ।
नयाँ नाम सहित व्यवसाय सुरु गर्दा उनको गोजीमा पाँच सात हजार मात्र थियो । उनी बी. बीए गर्दै थिइन् । परिवारमा पढाइ बिग्रने डर भएता पनि दुवै सँगै लान सक्छु भन्ने आत्मविश्वास थियो । उनी भन्छिन् ‘मेरो व्यवसायले मेरो पढाइलाई कहिल्यै प्रभाव पारेन ।’
अहिले उनको बी. बीए सम्मको अध्ययन सकिइसकेको छ । अब ध्यान पुरै व्यवसायप्रति छ । सुरुवातमा उनले केही लगाएका र नलगाएका कपडाहरू थोरै अंशमा फाइदा राखेर सामाजिक सञ्जालबाट बिक्री गर्ने गर्थिन् । आफ्नो पर्सनल इन्स्टाग्राममा राखेर बेच्ने गर्थिन् । अहिले त्यो फोरफिट ह्याप्पिनेसको आफ्नै इन्स्टाग्राफ ह्याण्डलरमा पुगिसकेको छ ।
विदेशमा बसेर पनि सामाजिक सञ्जालको सहायताले उनीहरू फोरफिट ह्याप्पिनेसको टिकटक तथा इन्स्टाग्रामसम्म
आइपुग्छन् । उनी आफ्नो ग्राहकहरूमा विश्वास दिलाउन सकेकोमा गर्व गर्छिन् ।
ग्राहकहरू ८० प्रतिशतभन्दा बढी विदेशमा हुनुभएको नेपालीहरूले रहेको उनी बताउँछिन् ।
सामाजिक सञ्जालबाट सञ्चालन गरिरहेको व्यवसायलाई अहिले स्टोरसम्मको यात्रा तय गरिसकेकी छिन् । उनले गएको वैशाखबाट ललितपुरको कृष्ण गल्लीमा स्टोर खोल्दै काठमाडौँ उपत्यकामा पनि व्यवसाय विस्तार गरेकी छन् ।
‘किन काठमाडौँ ?’
उनी भन्छिन् ‘मलाई केवल ग्राहकहरूको मायाले काठमाडौँ तानेको हो । एउटा व्यवसायीको लागि उसको भगवान भनेको ग्राहक हो । आफ्नो भगवानले बोलाउँदा मैले हार्न सकिन ।’
अनि सँगै आफ्नो परिवारलाई पनि सम्झिँदै भन्छिन् ‘मेरो परिवारले नै मलाई काठमाडौँले अझ बढी अवसरहरू को ढोका खोलिदिन सक्छ भनेर काठमाडौँ आएकी हुँ । परिवारको आडभरोसाबिना त कुनै पनि कार्य सफल हुनै सक्तैन ।’
उनले अहिलेसम्म ग्राहकहरूसँग नराम्रो अनुभव गरेको थाहा पाएकी छैनन् । आफ्नो परिश्रम पनि उनीहरूको मुहारमा आफ्नो कामप्रतिको सन्तुष्टि देख्नलाई गरेको बताउँछिन् । भन्छिन् ‘सायद एक दुईपटक मात्र हामीले तीतो अनुभव भोगेका छौँ अन्यथा भने उहाँहरूको सद्भाव र साथ ले नै अघि बढ्न प्रेरित गर्छ |’
अहिले उनको व्यवसायले दैनिक कम्तीमा पनि बाह्र वटासम्म डेलिभरी गरिरहेका हुन्छौँ । धेरै जसो ब्राइडल सेटहरू बिक्री हुने गरेको छ । विवाह सबैको लागि विशेष हुन्छ त्यसैले पनि त्यस्तो अर्डर आउँदा उनीहरूको लागि अझ बढी समय दिनेगरेकी छन् । उनीहरूले गत असारमा मात्र पचास वटा ब्राइडल तयार पारेका थिए ।
उनी आफूसँग अन्य भेराइटीका पनि लुगाहरू रहेकोले विवाहको लगन नहुँदा पनि व्यवसायमा खासै फरक नपरेको बताउँछिन् | उनी सारी, लेहेँगाको साथसाथै पास्नी सेट पनि अधिकतम मात्रामा विक्री हुने बताउँछिन् | उनकोमा कपडाहरू ३५०० देखि २,३ लाखसम्मको बिक्री हुनेगरेका छन् ।
उनी एक्लैले सुरु गरेको व्यवसायमा अहिले २८ जना सहयोगी हातहरू जोडिइसकेका छन् । उनीहरू कपडाहरू चाहिँ बजारबाट किन्ने गर्छन् तर उनीहरूको कालिगडहरूले त्यसमा डिजाइन गर्ने काम गर्छन् । उनीहरूको सीप बिना आफ्नो व्यवसायको उचाइ यो अवस्थामा पुग्न नसक्ने उनी बताउँछिन् ।
अबका केही वर्षमा आफ्नो स्टोरहरू काठमाडौँका साथसाथै देशको अन्य सहरहरूमा पनि बढाउने उनको सोच रहेको छ । भन्छिन् ‘देशभित्र मात्र नभएर मैले विदेशमा पनि यसलाई पुर्याउन सकेँ भने अझ धेरै ग्राहकहरू जोडिन सक्नुहुन्छ ।’
उनी आफ्नो व्यवसायले केवल व्यावसायिक लाभांश मात्र नभएर समाजमा पनि केही सकारात्मक प्रभाव पारोस् भन्ने चाहन्छिन् त्यसैले पनि व्यापार बढ्दै जाने क्रममा आफूले केही सङ्ख्यामा रोजगारी प्रदान गर्न सकिने र अझै महिलाहरूलाई बढी प्राथमिकता दिने बताएकी छिन् ।
आफ्नो व्यवसाय राम्रो हुँदै गएको भए पनि समाजको विडम्बना ले भने कहिलेकाहीँ सताउने गरेको बताउँछिन् । ‘मैले यो व्यवसाय विवाह अगावै सुरु गरेकी हुँ तर केही मान्छेहरू व्यवसायलाई श्रीमानसँग लिएर जोड्नु हुन्छ । ‘श्रीमानको व्यवसायलाई सम्हालेको ?’ भनेर प्रश्न गर्नुहुन्छ । पक्कै पनि मेरो सफलताको श्रेय मध्ये मेरो श्रीमान् पनि एक हो तर यस्तो टिप्पणीले भने आत्मनिर्भर महिला व्यवसायीको आत्मसम्मानमा अवश्य ठेस पुर्याउँछ ।’
‘फोरफिट ह्याप्पिनेस’ सुरु गरेदेखि नै उनले पछाडि फर्केर हेर्नुपरेको छैन । र त्यो यात्राले धेरै कुरा परिवर्तन गरेको छ । हिजो मलाई स्मृति आवारा भई भनेर कुरा काट्नेहरू आज स्मृति जस्तै बन्नुपर्छ भनेर भन्न थालेका छन् ।
अनि व्यवसायले बाँड्ने खुशी पनि थपिइरहको छ ।
यो पनि पढ्नुहोस्: