रविले भोटको राजनीति गर्न खोजे : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सुरु भएको महिलाका लागि मात्र सार्वजनिक यातायातले सामाजिक विभेदलाई प्रश्रय दिने बताएका छन् । रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १०० दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि सार्वजनिक यातायातबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनी प्रश्न गरेका हुन् ।

  • यस्तो छ पोखरेलको टिप्पणी :-

सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट दिन खोजिएको सन्देश
दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको  बेलामा नेपाली समाजमा अपवाद बाहेक महिलाहरू सुरुदेखिनै तुलनात्मक हिसाबले स्वतन्त्र थिए । उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एकसाथ काम गर्दथे । जबकि अहिले युवाहरूको ठुलो सङ्ख्या रोजगारीका सिलसिलामा बिदेसिएका वेला ठुलो सङ्ख्यमा महिलाहरू परिवारको मुलीको रूपमा भूमिका निर्वाह गरिरहेका छन् ।

यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेको होलान् ? जिज्ञासा उठ्नु स्वाभाविक हो । नेपाली समाजमा यतिबेला रूपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो । 

पञ्चायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरूले ठुलो सङ्ख्यामा साइकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बिचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ ।  चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गरौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *