सुनकोसी–मरिन डाइभर्सन हेर्दै भट्टराईले भने– आर्थिक क्रान्ति संभव छ (तस्बिरहरु)
काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सुनकोशी–मरिन डाइभर्सन परियोजनाको अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको आयोजना अवलोकन गर्न उनी बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठलगायतहरुलाई लिएर निर्माणस्थल सिन्धुलीको खुर्कोट नजिक पुगेका थिए ।
आयोजना अवलोकनपछि डा. भट्टराईले नेपालमा आर्थिक क्रान्ति संभव रहेको बताए ।
तराईका बारा, रौटहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका १ लाख २२ हजार हेक्टर खेतियोग्य भूभागमा यो परियोजनामार्फत सिँचाई गर्ने लक्ष्य छ । साथै यो आयोजनाबाट ३१.७ मेगावाट विद्यत्समेत उत्पादन गरिने लक्ष्य छ । आयोजनाअन्तर्गत सुनकोशीको पानी मरिन खोलामा खसाल्न १३.३ किलोमिटर लामो सुरुङ निर्माण गरिने छ । उक्त सुरुङ निर्माणका लागि टनल बोरिङ मेसिन(टीबीएम)को प्रयोग गर्ने तयारी छ ।
मरिनखोलाबाट उक्त पानी बागमती नदीमा खसालेर बागमती सिँचाई आयोजनामार्फत तराईका जिल्लामा सिँचाई गर्ने लक्ष्य छ ।
तस्बिरहरु (डा. भट्टराईकाे सचिवालयबाट)