राष्ट्रिय सभामा पनि एमालेको अवरोध, २२ साउनमा बस्नेगरी बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ । बिहीबार बस्न लागेको सभाको बैठकमा एमालेले अवरोध गरेको हो ।
दिउँसो १ बजेका लािग बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अवरोध गरेको हो । बैठकको सुरुमा बोल्दै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले गत साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गरेका हुन् ।
नेपाल तस्करहरुको देशको रुपमा परिभाषित हुँदा अन्तराष्ट्रिय रुपमा बदनाम बनेको र नेपाली जनताको शीर निहुरिएको बताए ।
तस्करीमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन उच्चस्तरीय समिति गठन गर्नु आवश्यक रहेको उनले बताए ।
सांसद श्रेष्ठले सुन तस्करीमा संलग्न रहेको कम्पनी रेडी ट्रेड प्रालिले पानी तान्ने मेशिनबाट पनि सुन ल्याएको बताए । उनले साउन ३ गते बरामद सुन ब्रेक शुको नाममा आएको बताउँदै यसमा सरकारका मान्छेको मिलेमतो रहेको बताए ।
एमाले सांसदहरुले निरन्तर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २२ साउनसम्मका लागि बैठक स्थगित गरेका छन् ।