बोझिलो बन्दै माओवादी केन्द्र, पार्टी नै बिलाउने चिन्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गते बुधबारबाट कमलादीस्थित प्रज्ञा भवनमा सुरु भयो । बैठक पाँच दिन चल्ने कार्यतालिका छ, आज शुक्रबार बैठकको तेस्रो दिन हो ।

बैठकको सुरुकै दिन पार्टी अध्यक्ष प्रचण्डले नेकपा माओवादी बिलाउँदै, हराउँदै र नासिँदै जाँदा पार्टीजस्तो बनाउन नसकिएको गुनासो पोखे । उनले भनेका थिए, ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्र, पार्टीजस्तो भइरहेको छैन । पार्टी पुन स्र्माणको ऐतिहासिक थालनी यो बैठकलाई बनाउनुपर्छ । पार्टीका सन्दर्भमा बेलामौकामा भन्ने गरेको छु– हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति छ तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन । पार्टीलाई पार्टी बनाउन केन्द्रीय समिति बैठकबाट ठोस निर्णय हुनुपर्छ ।’

करिब साढे तीन दशकदेखि पार्टीको हाइ कमान्ड सम्हाल्दै आएका अध्यक्ष प्रचण्डले यो गुनासो यत्तिकै पोखेका भने होइनन् । कुनै बेला जनयुद्धका नाममा विध्वंश मच्चाएको नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः खिइँदै गएको घटनाक्रमले प्रचण्डले यो गुनासो पोखेको हुनुपर्छ ।

२०६४ को संविधानसभा निर्वाचनमा कांग्रेस, एमालेजस्ता ठूला दललाई चक्मा दिएर पहिलो पार्टी बनेको माओवादी २०७९ को निर्वाचनसम्म आइपुग्दा तेस्रो स्थानमा खुम्चिन पुगेको छ, त्यो पनि ३२ सिटमै । पार्टी निरन्तर कमजोर भए पनि नेताहरूको स्तर आर्थिक, सामाजिक रुपमा बलियो बन्दै गएको छ । उनीहरूले नै अहिले नाममात्रैको नेकपा माओवादी केन्द्रलाई धानिरहेका छन् । अध्यक्ष प्रचण्ड आफैँ पनि पार्टी रुपान्तरण हुनुपर्ने अवस्थामा पुगेका छन् ।

जनयुद्धकालीन रापतापले ओझिलो बनेको माओवादी पछिल्लो समय संगठनात्मक, वैचारिक, राजनीतिक हिसाबले बोझिलो बन्दै गएको स्वयं अध्यक्ष प्रचण्डले नै सार्वजनिक गरेपछि बिलाउने हो कि भन्ने चिन्ता छ । यद्यपी प्रचण्ड, आफूले नेतृत्व गरेको सरकारका कामले भने जनतामा नयाँ आशा पलाएको भन्दै कार्यकर्तालाई ढाडस दिन भने छोडका छैनन् ।

शान्ति प्रक्रियामा आएपछि टुटफुट र गुटबन्दीले क्षतविक्षत भएर कमजोर र लुलो बन्दै गएको नेकपा माओवादी केन्द्रलाई पुनर्जीवन दिन शल्यक्रिया गर्नुपर्ने प्रचण्ड नै बताउँछन् ।

माओवादीको लगातारको ओरोलो यात्रा भइरहेका बेला अझ लोकप्रियताको मापन गर्ने समानुपातिक मतमा नयाँ जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई उछिनेपछि प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादीलाई जनताबाट अस्वीकृत हुने डर बढेको भान हुन्छ । संसदीय राजनीतिमा आएको १७ वर्षमा विभिन्न हन्डर–ठक्कर खाएको माओवादी सच्चिने कि सकिने भन्नेबारे केन्द्रीय समितिले निर्धारण गर्ने केन्द्रीय सदस्य अक्कल रावलले बताए ।

पार्टी संगठन लाजमर्दो अवस्थामा पुगेको बेला सुरु भएको केन्द्रीय कमिटी बैठकले पार्टी गतिशील हुने विश्वास लिइएको उनको भनाइ छ ।

पार्टीलाई तंग्राउन प्रचण्डको योजना के छ ?

पार्टीप्रति जनमत खस्किँदै गएका बेला तीनै तहको निर्वाचनपछि पहिलो पटक बसेको केन्द्रीय समिति बैठकले नेकपा माओवादीलाई गतिशील बनाउने नीति, रणनीति, कार्यदिशा र कार्यक्रम ल्याउने बताएर अध्यक्ष प्रचण्डले नेता, कार्यकर्तालाई विश्वास दिलाएका छन् ।

माओवादीले ३ भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी भदौ, असोज र कात्तिकमा ‘जनतासँग पार्टी अभियान’ चलाउने कार्यक्रम ल्याएका छन् । अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रचण्डको प्रतिवेदनमा भनिएको छ ।

खुइलिँदै गएको नेकपा माओवादीलाई बलियो पार्टी बनाउन मंसिरमा विधान सम्मेलन, सचिवहरूले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाइने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । सत्ताका नाममा चिरा परेका कम्युनिस्टलाई एउटै बनाउने योजना पनि प्रचण्डले अगाडि सारेका छन् । विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्याभन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने अनि स्थानीय तह निर्वाचनमा जितेका १२२ पालिकालाई नमुना बनाउने योजना प्रचण्डले प्रतिवेदनमा समावेश गरेका छन् । यसबाट माओवादीलाई जनतासँग नजिकिन सहज हुने प्रचण्डको बुझाइ छ ।

पार्टीलाई तंग्राउन माओवादीले मंसिरमा विधान अधिवेशन, विशेष महाधिवेशन एक वर्षपछि गरिने अध्यक्ष प्रचण्डको प्रस्तावलाई स्थायी कमिटी बैठकले पारित पनि गरेको छ । नेकपा माओवादी केन्द्र संगठनात्मक रुपमा कमजोर हुँदै गए पनि उपल्लो संरचनामा नेताहरूलाई चित्त बुझाउन ३८७ केन्द्रीय सदस्य संख्या थपेर ४०७ पुर्‍याउने तयारी भइरहेको छ ।

पटक–पटक सत्ताको चास्नीमा लपेटिएर माओवादलाई तिलाञ्जली दिएको आरोप खेपिरहेको सत्तारुढ नेकपा माओवादी केन्द्रको करिब १३ महिनापछि केन्द्रीय समिति बैठक बसेको हो । यो अवधिमा संगठनात्मक रुपमा माओवादी केन्द्र कमजोर हुँदै गए पनि गठबन्धनको टेकोका कारण केही पालिका, दुई वटा प्रदेश र संघमा सरकारको नेतृत्व लिइरहेको छ । प्रजातान्त्रिक पद्धतिमा आइपुगे पनि माओवादी केन्द्रको पार्टी राजनीति अझै पनि निरंकुश मानिन्छ । करिब साढे तीन दशकदेखि पार्टी अध्यक्ष पद प्रचण्डको ’कब्जा’मा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *