अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँ : सांसद अधिकारी

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद अधिकारीले संसदलाई सुचारु गर्न सबैले ध्यान दिनुपर्ने बताए । उनले संसद सुचारु भए सुन प्रकरणको छानबिनमा सघाउ पुग्ने बताए । ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्नेलाई कानूनी कारबाहीबाट चोख्याइने गरेको भन्दै यसो गर्नु नहुने उनले बताए । उनले सबैलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘हामीले पक्ष, प्रतिपक्ष भन्दा पनि संसदलाई सुचारु गराउनेतिर नै बल गर्नुपर्छ जस्तो लाग्छ । जहाँ हामी धेरै कुराहरु उठाउन पाउछौँ । धेरै कुराहरु त्यहाँबाट व्यक्त पनि हुन्छन् । त्यसकारणले संसदलाई सुचारु गराउनेतिरै बढी प्रभावकारी होला कि संसद अवरुद्ध हुनुभन्दा । हामी छानबिन होस् भन्ने चाहिरहेका छौँ, अझ यो कुरा राम्रोसँग उजागर होस् भन्ने चाहीँ राखेका छौँ । यो अवरुद्धले सरकारलाई त मद्दत पुगिराखेको छैन ? त्यतातिर सोच्नुपर्ने हुन्छ । ललिता निवास काण्डमा पनि जग्गा फिर्ता गर्दै जाने, चोखिँदै जाने ? यो प्रश्न त उठेको छ । जग्गा फिर्ता गरेपछि चोखिने भनेर आजकाल ज–जसले किनेका थिए, लिएका थिए, तिनीहरु धमाधम फिर्ता गर्न थालेका छन् । यो कानूनी दायरा अथवा न्यायिक दायरामा पर्ने हो ?’

उनले जग्गा फिर्ता गर्नेहरुलाई कानूनी कारबाही नगर्ने हो भने यस्ता प्रकरणहरु दोहोरिइरहने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *