सुरेशचन्दको लोभलाग्दो बाख्रापालन

बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहनुभएका चन्दले थालेका बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि पाँच करोड लगानी भइसकेको चन्दले बताए । उनका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् ।

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उनले बताए । उक्त बोकाको तौल एक सय ८० किलो छ ।

चन्द भन्छन् , “पाँच÷छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।” उनले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका थिए ।

“बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिए”, चन्दले भने, “अहिले सिरोही, तोतापरीलगायत पाँच÷छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।”

कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गरेका चन्दले छ जनालाई रोजगारीसमेत दिएका छन् । उनका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उनी भन्छन्, “यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।”

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ थियो ।

“गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ”, चन्दले भने । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उनले बताए । स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नमा उनले जोड दिए ।

बुवा बाजेको आठसय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताए । “नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ, उनले भने ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *