‘अनिच्छित गर्भपतन’ गराउँदा नवीनाको मृत्यु, परिवारलाई साढे २७ लाख क्षतिपूर्ति
काठमाडौं । चितवनको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ । अस्पतालले २७ लाख ५० हजार क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका हुन् ।
भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो । अत्यधिक रक्तस्रावका कारण उनको शुक्रबार राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो ।
मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन् ।
नवीनाको मृत्युपछि आज बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए । उच्च रक्तस्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो । परिवारले पाँच वर्षकी छोरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो ।