अनि कोठामा लेखेको गीत लाखौँको मनमा पुग्यो
उनी दश वर्षको हुँदाको कुरा ।
स्कुल जानेबेलामा सधैँ जसो टिभी च्यानलमा एउटा गीत बज्थ्यो । उनी त्यसलाई ध्यान दिएर सुन्थे । स्कुल बस आउँथ्यो । घर देखिको स्कुल सम्मको यात्रा डेढ घण्टाको हुन्थ्यो । त्यतिन्जेल उनी त्यही गीत गुनगुनाइरहन्थे ।
यसरी बिस्तारै उनी सङ्गीतमा लाग्दै गए ।
त्यसपछि आस्था ब्यान्डको ‘एक मौका’ बोलको गीत सार्वजनिक भयो । उनले त्यो गीत पटक पटक हेरे । गायक सुदिप गुरुङले बजाएको वाद्य यन्त्र हेरेर मोहित भए । त्यो गितार थियो । उनलाई एउटा गितार आफूसँग पनि भइदिए हुन्थ्यो जस्तो भयो ।
त्यो कुरा आफ्नो आमाबुवालाई सुनाए ।
‘किन गितार चाहियो ?’
परिवारका कोही पनि साङ्गीतिक पृष्ठभूमिबाट नभएकाले उनलाई सोधिएको प्रश्न स्वाभाविक थियो ।
उनले आफै पैसा जम्मा गर्न थाले । हजुरआमाले पनि उनलाई केही सहयोग गरिन् । पैसाको बन्दोबस्त भइसकेपछि उनी थापाथली बजारमा गएर ५०० रुपैयाँ पर्ने बेबी गितार किनेर घर आए ।
केही वर्ष पछि उनी पारिवारिक भ्रमणमा भारत गएका थिए । त्यहाँ नेपालमा भन्दा सबै कुरा सस्तो थियो । उनलाई किनिमाग्ने बहाना मिल्यो । उनले ड्रम र उनको दाइले इलेक्ट्रिक गितार किनेर फर्किए ।
त्यस पछि उनको साङ्गीतिक यात्रा झन् फैलियो । साथीहरू भेला भएको बेला ड्रम र गिटार बजाउन थाले ।
उनको हजुरबुबा फिलिपिन्सको भ्रमणमा गएका थिए । आफ्नो नातिको लागि उनले आई प्याड लिएर आएका रहेछन् । त्यो समयको सानो केटाको लागि आई प्याड भनेको ठुलो कुरा थियो । टुना धेरै खुसी थिए । उनले आफ्ना साथीहरूलाई पनि आई प्याड देखाए ।
त्यसै क्रममा एक भाइले उनलाई ‘ग्यारेज ब्यान्ड’ नामक म्युजिकल एप प्रयोग गर्न सुझाव दिए । त्यस एपको सहयोगबाट जे पनि रेकर्ड गर्न सकिने रहेछ भन्ने उनले थाहा पाए । रेकर्ड गर्न थाले । त्यसैको लागि गीत लेख्न थाले । लेखेका गीतहरू आफै गाउँदै रेकर्ड गर्न पनि लागे ।
उनी पाँच कक्षामा हुँदा स्कुलका दाइहरू अभिभावक दिवसको लागि तयारी गर्दै थिए । त्यति बेला सम्म उनी धेरथोर ड्रम बजाउन सक्ने भइसकेका थिए । तर उनीहरू सानै भएकाले स्कुलमा कुनै बाजा भने छुन पाउँदैन थिए । उनको समूहमा पाँच जना साथीहरू थिए । उनीहरूलाई कुनै न कुनै रूपमा त्यो कार्यक्रममा प्रस्तुति दिनु थियो ।
बजाउने त भए तर गाउने कोही भएनन् । त्यहाँ मध्य उनी मात्रै राम्रो गाउने थिए । सबैले उनलाई गाउन प्रेरित भए । एनएसकेको ‘दिन पनि बित्यो, रात पनि बित्यो’ गीत छानियो । उनी पनि गाउन तयार भए ।
साथीहरूले शिक्षकलाई भनेर पाँच मिनेट समय मिलाए । स्कुलमा प्यान्ट भित्र सर्ट हाल्नै पर्ने नियम थियो । तर त्यस्तो प्रतिबन्धको बाबजुद उनीहरूले हिप-हप भाइब दिनका लागि आफ्नो टाई खुकुलो पारेर र सर्ट बाहिर निकालेर स्टेजमा चढे । एउटा माइक बाहेक अरू उपकरण थिएन । स्टेजमा उनी मात्र गाउँदै थिए । साथीहरू पछाडिबाट हाइप मात्र गरिरहेका थिए ।
स्टेजको पहिलो क्षण अविस्मरणीय बन्यो ।
त्यो बाहेक उनको लेख्ने बानी पनि थियो । जीवनमा केही भयो भने उनी लेख्न बसी हाल्थे । दबिएका भावना लेख्दा सजिलो हुन्थे । त्यो बाहेक रेकर्ड गर्ने कुरा त छँदै थियो ।
उनले पनि अडियो इन्टर फेस र माइक ल्याएर घरमै सेटअप गरे । सन् २०१४ देखि त गीतहरू युट्युबमा अपलोड गरेर राख्न लागे । उनको ‘बुझ्ने लाई’ गीत त्यसरी नै २०१७ मा नै आएको थिए । तर त्यो अफिसियल गीत भने थिएन ।
गीत उनले हजुरबुवाको मृत्यु पछि लेखेका थिए । उनको हजुरबुवासँग घनिष्ठ सम्बन्ध थियो । उनको मृत्युपछि उनलाई आफ्नो संसार नै उजाड लागेको थियो । आफूलाई कसैले नबुझेको महसुस भएको थियो । उनी उदास भएका थिए ।
मध्य रात थियो । माथिका भावनाहरूको जनझालमा ‘संसार ले बुझेन छैन मेरो मन’ भन्ने हरफ फुर्यो । बिस्तारै हजुरबुबाको यादमा लेखेको गीत पछि गएर मायाको गीतमा परिवर्तन हुन पुग्यो ।
उनी विपुल छेत्रीको ठुलो फ्यान थिए । दिनरात उनकै मात्र गीत सुन्ने गर्थे ।
एक दिन उनले छेत्रीकै गीत सुन्दै गर्दा गितारमा यसै प्लगिङ बजाउँदै थिए । त्यो प्रक्रियामा उनले नयाँ धुन बजाए जुन ‘बुझ्ने लाई’ को धुन बन्यो ।
‘सङ्गीतकार लाई स्वाभाविक रूपमा यसरी गीत आउँछ र त्यो नै ईश्वर हो’ उनी भन्छन् ।
यो गीत पूरा गर्न उनलाई केही समय लाग्यो किनभने उनले त्यो गीत एउटा मात्रै घटना सम्झेर लेखेका थिएनन् । उनका जीवनका अनेकै पाटाहरूलाई सम्झेर लख्दै जाँदा ‘बुझ्ने लाई’ गीत अस्तित्वमा आयो । उनले सन् २०१६ र २०१७ मा जे जति भोगे तिनै अनुभवलाई शब्दमा प्रतिबिम्बित गरे।
लेखिसके पछि उनले गीतको पहिलो हरफ सामाजिक सञ्जालमा केही आउन लागेको छ है भनेर हाले;
‘कति सम्झी रोयो होला
आँखा भरिका सपना बगे होला
संसार भरि बाल्ने बत्ती साची
मेरो मनले पहिले सम्झिने सधैँ तिमी’
उनले आफ्नो साथीहरूलाई गीत गाएर सुनाए । कतिपयले यस्तो गीत लोकप्रिय नहुने पनि बताए भने कसैले ‘क बाट कछुवा ख खरायो’ को लय जस्तो सुनियो भने ।
तर उनी आफू र आफ्नो कलामा विश्वास गर्थे ।
यस पटक उनलाई केही नयाँ गर्न मन थियो । लिरीकल भिडियो बनाउने निर्णय गरे । भिडियो बनाउनेलाई भिडियोमा आफ्नो फोटो राख्न र लिरिक्स चाही नेपाली भाषामा राख्न आग्रह गरे । केही घण्टामै लिरीकल भिडियो रिलिज हुन तयार भयो । भिडियो बनाउने दाइले फोटोमा हिउँ झरेको जस्तो देखिने बनाई दिएका रहेछन् । त्यो देखेर उनी झनै मक्ख परे । त्यस पछि उनले यसलाई आफ्नो युट्युबमा हाले र छोडिदिए ।
खासमा म्युजिक भिडियो बनाउने उनको कुनै मनसाय थिएन । उनी आफ्नो गीतहरूको सङ्ग्रह १० वर्षपछि चाहेको खण्डमा सुन्न पाइयोस् भनेर मात्र युट्युबमा हाल्ने गर्थे । उनलाई यो गीतबाट चलिएला भन्ने खालको कुनै लोभ थिएन ।
‘बुझ्नेलाई’ को दुई वर्षपछि उनले ‘डर लाग्छ’ गीतमा सहकार्य गर्ने निर्णय गरे । नृत्य विधालाई सुहाउने डान्सिङ नम्बर भएकोले उनले मेल मार्फत सबिन कार्कीलाई सम्पर्क गरे । सबिनले एक महिनासम्म कुनै प्रतिक्रिया दिएनन् ।
एक महिनापछि ‘डर लाग्छ’ को सट्टा उनलाई ‘बुझ्नेलाई’मा सहकार्य गर्न रुचि भएको बताए । उनले आफ्नो भाइलाई पनि त्यही गीतमार्फत लन्च गर्न चाहन्थे । टुना अन्योलमा परे । आफ्नो साथीलाई सुझाव माग्दा साथीले पनि त्यही गीतमा भए पनि गर्न प्रोत्साहन गरे ।
त्यसरी ‘बुझ्नेलाई’ को म्युजिक भिडियो बन्ने भयो ।
कुरा भएको दुई महिना पछि उनीहरू भेटी गीतको कन्सेप्टको बारेमा सल्लाह गरे । भिडियो बन्न एक वर्ष लाग्यो । कहिले मौसमले साथ दिएन भने कहिले राखेको मोडलको समस्या आयो र अन्त्यमा सन्दीप लामिछानेलाई राख्ने निर्णय लिए । टुना भिडियो बनाउने प्रक्रियामा दुई दिन मात्र गए । तर सबिनले कल मार्फत टुनालाई अपडेट भने दिइरहन्थे ।
भिडियो पूरा भयो। सबिनले उनलाई फोन गरी भिडियो हेर्न बोलाए । टुना भिडियो हेर्न आए । उनलाई भिडियो अलि नाटकीय लाग्यो । सन्दीप र सञ्जय दुवैले पहिलो पटक क्यामेराको अगाडि अभिनय गरेको भएतापनि अभिनय भने प्रशंसनीय लाग्यो । त्यसपछि भिडियो रिलिज गर्ने कुरा भयो । सबिनको च्यानलमा भिडियो अपलोड गरे ।
म्युजिक भिडियो पछि पनि टुनाले केही आशा गरेको थिएनन् । तर ‘रुटिन अफ नेपाल बन्द’ ले भिडियोको सानो क्लिप नै अपलोड गरिदियो । त्यो एउटा क्लिपले काया पलट भयो । म्युजिक भिडियो र लिरीकल भिडियो दुवैमा दर्शकको चाप ह्वात्तै बढ्न लाग्यो ।
गीत जता ततै बज्न लाग्यो ।
उनले आफ्नो जीविकोपार्जनको लागि त्यतिन्जेलसम्म गिग गर्दै आएको थिए । तर उनको गीत हिट भएपछि गिगको समयमा मानिसहरूले उनलाई चिन्न थाले । त्यसैले उनको साथीले ‘अब चाहिँ सोच्ने समय आयो है टुना’ भनी सचेत गराएका थिए । उनले त्यसै कारण गिग गर्न छोड्नुपर्यो ।
आफ्नै च्यानलमा उक्त गीतलाई १० लाख भ्युज पुगेपछि उनी छक्क र खुसी थिए । तर उनले कहिल्यै सफलताको स्वाद चाख्न भने पाएनन् किनभने उनको गीत कहाँ बजिरहेको छ भन्ने उनलाई थाहा हुँदैन थियो । गीत एक मिलियन भ्युज पुगेपछि बल्ल उनले केही सफलता महसुस गरे । त्यसपछि सामाजिक सञ्जालमा उनका फलोअर्स बढ्न थाले । उनको इन्स्टा फ्यानका मेसेज भरिएको हुन्थ्यो ।
एउटी महिलाले एक दिन उनलाई टेक्स्ट म्यासेज गरेकी थिइन् । उनी नराम्रो ब्रेकअपबाट गुज्रिरहेकी रहिछन् र भावनात्मक रूपमा सङ्घर्ष गरिरहेको बेला उनको पीडा कम गर्न ‘बुझ्नेलाई’ गीतले धेरै मद्दत गरेको रहेछ । उनले गीत बनाएकोमा उनलाई धन्यवाद दिइन् । टुनाको लागि यो ठुलो क्षण थियो ।
आफ्नो गीतले कसैको जीवनमा प्रभाव पारेको देख्दा उनलाई खुसी लाग्छ ।
उनी आफूलाई गायक मान्दैनथिए । त्यसैले कसैले कन्सर्टमा निम्तो दिँदा पनि उनलाई जान अफ्ठेरो लाग्थ्यो । तर उनका साथी मनिष गन्धर्वले भने उनलाई आफ्नो गीत हो गर्नु पर्छ भनी रहन्थे । साथीको सहयोगका कारण उनले ‘डेजा भु’ मा पहिलो कन्सर्ट दिए । त्यसपछि उनले एलओडीमा अर्को प्रस्तुति दिएका थिए जहाँ सबै दर्शकहरूले आफ्नो फोनको फ्ल्यासलाइट खोलेर हात हल्लाए । सबै जना उनीसँगै गाउँदै थिए । त्यो क्षण उनको लागि अविस्मरणीय थियो ।
एउटा सानो कोठामा लेखिएको गीतले लाखौँको मन छुँदा जस्तो महसुस भयो, त्यो उनी शब्दमा चाहेता पनि वर्णन गर्न सक्दैनन् ।
केवल सबैको माया र साथले आभारी भएको महसुस गर्छन् ।