एमबाप्पेको पोष्टर हटाइयो, जर्सी विक्री बन्द
काठमाडौँ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) स्ट्राइकर केलियन एमबाप्पेमाथि कडा रुपमा प्रस्तुत भएको छ । एमबाप्पे बेच्न गरेका सबै प्रयास असफल भइरहेका बेला पीएसजीले क्लबका प्रमोशन स्थलबाट उनका तस्बीर हटाउन शुरु गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पीएसजीले आफ्नो स्टेडियममा रहेको एमबाप्पेको तस्बीर हटाएको रिपोर्ट बाहिर आएको छ भने क्लबले आफ्नो आधिकारीक जर्सी बेच्ने आउटलेटमा एमबाप्पेका जर्सी बेच्न पनि बन्द गरेको छ ।
पीएसजीले एमबाप्पेलाई किनारा गर्ने प्रयास स्वरूप अहिले उनलाई बी टिमसँग प्रशिक्षक गर्न पठाइएको समेत बताइएको छ । पीएसजीले एम्बाप्पेलाई सिनियर टिमको प्रि–सिजन टूरबाट समेत बाहिर राखिएको थियो ।
पीएसजीले एमबाप्पेलाई विभिन्न क्लबमा लोनमा बेच्न गरेको प्रयास पनि निष्कर्षमा पुगेको छैन । एमबाप्पे लोनमा बाहिर जान समेत तयार देखिएका छैनन् । २०२४ को जुनसम्म पीएसजीमा सम्झौता भएका एमबाप्पे त्यसपछि फ्री–ट्रान्सफरमा रियल म्याड्रिड जाने तयारीमा रहेको बताइन्छ ।