सुन तस्करी क्विन्टलमा होइन, टनमा भएको छ ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको बताएका छन् । उनले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरूले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्नेमा सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाएको बताएका हुन् ।
उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिने कुरामा कसैको हानी नहुने बताए । ‘यत्रो सुन काण्ड भएको छ । सम्बन्धित मन्त्रीले राजीनामा गरेर सरक्क बाटो सहज गर्नुको सट्टा संसद् अवरोधको बाटोमा लैजाने जिम्मा त सरकारले पनि लिनुपर्यो,’ उनले भने, ‘दुई जनाले सरक्क राजीनामा गर्ने, अनुसन्धानको बाटोलाई सहज बनाइदिने, शक्तिशाली संयन्त्र गठन गर्ने, अथवा हाम्रो सचेतकले नयाँ सजेशन दिनुभएको छ नि, संसदीय समितिको राज्य व्यवस्था समितिलाई जिम्मा दिने । त्यो त मिनी पाल्र्यामेण्ट हो नि । त्यहाँ फुल अथोरिटीसहित त्यसलाई जिम्मा दिनुपर्छ ।’
सांसद शर्माले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा माओवादी केन्द्रका सांसदहरू नै नमानेको आरोप लगाए । ‘संसदीय समितिको राज्य व्यवस्था समितिलाई जिम्मा दिन माओवादीका साथीहरू मानिरहनुभएको छैन जस्तो देखिन्छ । उहाँहरूले ढिलो चाँडो मान्नुपर्छ । यो पक्ष, विपक्षको होइन, देशका नागरिकको कुरा हो,’ उनले भने, ‘सरकारकै संयन्त्रबाट सुन बाहिरियो अनि म आफैँ अनुसन्धान गर्छु भनेर कसैले पत्याउँदैन नि । यो राज्यको संयन्त्रको दुरुपयोग गरेर सुन तस्करी भएको हो, त्यसैले सिआईबी, राजश्व अनुसन्धानलाई पनि हेर्ने अर्को संयन्त्र आवश्यक छ ।’
सांसद शर्माले सुन तस्करी क्विन्टलमा नभएर टनमा भएको बताएका छन् । ‘यो एक क्विन्टल सुनको प्रश्न होइन नीतिगत प्रश्न हो । राज्य संयन्त्रमा बसेर अन्तर्राष्ट्रिय एयरपोर्टलाई कब्जा गरेर तस्करी गर्न पाउने कि नपाउने भन्ने प्रश्न हो अहिले । क्विन्टलको कुरा छैन, यो त टनमा छ कति छ कति ?,’ उनले भने, ‘अहिले त सुनमात्रै देखिएको छ । यहाँ चरेस भएको छ कि, गाँजा भएको छ कि, हिरोइन भएको छ कि ! त्यसकारण यसलाई सामान्य हिसाबले लिनुहुँदैन ।’