सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधे, उनले सार्वजनिक रुपमै माफी माग्नुपर्छ : कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएको छ । सामान्य मुद्दामा पक्राउ नै गरेर दुर्व्यवहार गर्नु गैरकानुनी भएको कांग्रेस नेताहरुको भनाइ छ ।
पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बोल्दै सांसद श्याम घिमिरेले सामान्य केसमा संसद चलिरहेको सांसद पक्राउ गर्नु गैरकानूनी र गैर संसदीय अभ्यास भएको उनले बताए ।
उनले सांसद शर्माको अभिव्यक्तिलाई लिएर प्रतिशोध साँधेर पक्राउ गरेको आरोप लगाए ।
उनले भने, ‘संसद चलिरहेको बेलामा यसरी गिरफ्तारी गर्नुपर्ने कारण के पर्यो ? अरु बाटाहरु पनि थिए। उहाँलाई बयान लिन सकिन्थ्यो होला। थुनामै राख्नुपर्ने कारण के पर्यो ? यो प्रतिशोधको भावले काम गरेको बुझाइ हाम्रो रह्यो। यसको गृहमन्त्रीले संसद र सार्वजनिक रुपमा जवाफ दिनुपर्यो ।’
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको भन्दै सांसदले धारणा राखेको बताए ।
उनले भने, ‘आज आपत्तिजनक र गम्भिर ढंगले साथीहरुले यो बिषयलाई उठाउनुभएको छ। यसलाई गम्भिरतापूर्वक लिएका छौँ । थप छलफल हुन्छौँ । र पर्सि निर्णय गर्छौँ ।’