बन्द ढोकाभित्र दुई वयस्कबिच हुने सम्बन्ध कसरी समाजको विषय हुन्छ ?

भारतीय राज्य उत्तर प्रदेशको अलिगढमा अलिगढ मुस्लिम विश्वविद्यालय छ । उक्त विश्वविद्यालयमा मुस्लिम धर्म तथा उर्दु भाषाका बारेमा अध्ययन अध्यापन गरिन्छ । मुस्लिम बाहुल्य उक्त समाजमा एक जना प्रोफेसरले मराठी भाषा पढाएको कुरा त्यहाँका ठालुहरूको सानो चित्तमा बिझाइ रहेको हुन्छ । 

उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृतबाट तद्भव शब्द धेरै रहेको छ । दक्षिण एसियामा बोलिने यो भाषा भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो । मराठी भारतको महाराष्ट्र प्रान्तमा बोलिने सबैभन्दा मुख्य भाषा हो । भाषा परिवारको आधारमा यो एक आर्य भाषा हो जसको विकास संस्कृतबाट भएको हो । 

तर, यो सिनेमा भाषाको कथा होइन । 

यो सिनेमा भाषा अध्यापन गराउने एक जना प्रोफेसरको सम्मानपूर्वक बाच्न पाउने अधिकारको संघर्षको कथा हो । यो कथाको घटनास्थल अलिगढ विश्वविद्यालयलाई आँखिझ्याल मानेर हेर्ने हो भने, त्यहाँबाट समग्र भारतको चित्र देख्न सकिन्छ । यस्तो चित्र जहाँ पर्खालहरू मात्र छन् । लिङ्ग तथा यौनिकताको आधारमा, धर्मको आधारमा, भाषाको आधारमा, प्रान्तको आधारमा, संस्कृतिको आधारमा । हालै भारतको मणिपुरमा भएको जाती दङ्गादेखि लिएर अल्पसङ्ख्यकमाथि हुने धार्मिक नरमेधहरु  हेर्ने हो भने ती सबै अर्काको फरक अस्तित्व र विविधतालाई स्विकार्न नसक्नु हो । पर्खालभित्र बसेर बाहिरी संसारको अस्तित्वलाई स्वीकार गर्न नसक्नु हो ।

प्रोफेसर रामचन्द्र श्रीनिवास सिरस लामो समयदेखि अलिगढ विश्वविद्यालयमा मराठी भाषा पढाउँदै आएका हुन्छ न्। उनी शास्त्रीय तथा आधुनिक भारतीय भाषा फ्याकल्टीको प्रमुख भएको कुरा त्यहाँको प्रशासनमा कब्जा गरेर बसेकाहरूलाई मन पर्दैन । प्रोफेसर सिरस आफ्नो बन्द कोठा भित्र, समाज भन्दा पर यौन क्रीडामा व्यस्त भएको अवस्थामा दुई जना उनको गोपनीयता भङ्ग गर्दै क्यामेरा लिएर घुसपैठ गर्छन् । उनीहरूले हातमा बोकेको “नैतिकता”को डण्डा लिएर प्रोफेसर र उनको पार्टनरमाथि अभद्र शैलीमा जाइलाग्छन्। यो नियोजित घटनाका रचनाकार युनिभर्सिटीका अरू प्रोफेसरहरूलाई प्रोफेसर सिरसको प्राइभेट रुममा प्रकट हुन समय नै लाग्दैन । क्यामेरा लिएर अरूको गोपनीयता भङ्ग गर्नेहरूमाथि कारबाही हुनु त कहाँ कहाँ आफ्नो बन्द कोठामा प्रेम गर्नेलाई “नैतिकता”को आधारमा युनिभर्सिटीले कारबाही गर्छ । 

भोलिपल्ट उनको सेक्स टेप लिक गरिन्छ र हीनताबोध हुनै नपर्ने कुरामा उनलाई जबरजस्ती हीनताबोध महसुस गर्न बाध्य पारिन्छ । 

मैले कतै पढेको थिएँ समाज र राज्यको अधिकारको सीमा मेरो घरको ढोकामा आएर सकिन्छ । प्रोफेसर सिरसको बेड रुम सम्म पस्ने समाजमाथि नैतिकताको प्रश्न उठ्नु पर्ने होइन ? बन्द ढोकाभित्र दुई वयस्क बिच हुने सम्बन्ध कसरी समाजको विषय हुन्छ ? समानता र सम्मानपूर्वक बाच्न पाउने हक भएका दुई व्यक्तिले जसरी पो प्रेम गरून्, त्यो अनैतिक कसरी हुन्छ ? यदि बहुसङ्ख्यक जस्तो हुनु नैतिक र अल्पसङ्ख्यक हुनु अनैतिक हो भने, हरेक व्यक्तिको कुनै न कुनै गतिविधि अनैतिक हुन्छ, किनकि हरेक व्यक्ति कुनै न कुनै कुरामा बहुसङ्ख्यक भन्दा पृथक् हुन्छ । 

यश सिनेमाको बारेमा लेख्दै गर्दा यदि अपूर्व अन्सारीद्वारा लेखिएको कविताबारे चर्चा नगर्दा अपुरो हुन्छ । सिनेमाको गहन तथा भावुक दृश्यहरू बिच उक्त कविता वाचन गरिन्छ । ‘ओ बिलभेड मून फियर नट, द डन द् याट सेपेरेट्स इट फर विइ विल मिट अगेन, ह्वेन द वर्ल्ड गोज टु स्लिप ।’ उक्त कविताको मार्फत प्रोफेसर सिरसको मानसपटललाई ढाकेको दुख र अवसादको मनोभावलाई नियाल्ने प्रयास गरिएको छ । मान्छेलाई आफू जस्तो छ त्यस्तो भएर बाच्न नदिनु र उसलाई आफू भएकै कारण सारा संसारले प्रश्न गर्दा कति पिडादायी हुन्छ होला । ती कविता का शब्दहरू बिचको साइलेन्स र सिरसको एक्लोपन बिच गहिरो सम्बन्ध रहेको पाउँछौँ । 

सिरसले सिनेमामा कतै भनेका पनि छन्, कविता शब्दहरूमा होइन, शब्दहरूको बिचको साइलेन्समा हुन्छ । यसरी उनी आफ्नै जीवन बारे भनिरहेका थिए । उनको जीवन उनले भित्र महसुस गरेको एकान्तमा थियो । फिल्ममा प्रयोग गरिएको कलर ग्रेडिङले पनि सिरसको मानसपटलमा रहेको अवसाद र नीरसपनलाई व्यक्त गर्न सफल भएको छ । फिल्मको विभिन्न अन्तरालमा सुनिने कविता, ब्याक्ग्राउन्डमा बज्ने गीत र गहिरा संवादहरूले हामीलाई सिरसको खुट्टामा लगेर उभ्याइदिन्छ । सिनेमामा एउटा दृश्य छ जसमा मनोज बाजपेयी (सिरस) क्यासेटमा ‘आप की नजरोँ ने समझा’ गाना बजाएर बिस्तारै ग्लासमा रक्सी हालेर गीतको लयमा लय मिलाउँदै, गीतको तालमा आफ्नो हात र खुट्टा बिस्तारै घुमाइ रहेका हुन्छन् । यस्तो लाग्छ कि हामी त्यो कोठामा छौँ, सङ्गीत हाम्रो अगाडी नै बजिरहेको छ र हामी गीतका पङ्क्तिहरू बिच हराइरहेका छौँ । जसरी मनोज बाजपेयी ‘सिरस’मा हराएका छन् । 

यो सिनेमाले समाजको यथास्थितिवादी चरित्रमाथि प्रश्न गर्दै विभेदको विरुद्ध आवाज उठाएको छ । खास गरी लैङ्गिक र यौनिक अल्पसङ्ख्यकमाथि हुने विभेद र यातनाको विरुद्ध यो सिनेमा सशक्त रूपमा उभिएको छ । सिरसलाइ तपाईँ गे भएको कारणले गर्दा यस्तो गरेको हुन भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘मलाइ यो शब्दको मतलब थाहा छैन । कसैले मेरो भावनालाई तीन अक्षरमा कसरी बुझ्न सक्छ ।’ राजकुमार राओले अभिनय गरेका पात्र ‘दिपु’ले सिरसलाई अन्त्य सम्म मद्दत गर्छन् । उनले आफ्नो पत्रकारिता मार्फत सिरसको कथालाई अगाडि बढाउँछन् । सिरसले अलिगढ युनिभर्सिटीले लिएको उनलाई बर्खास्त गर्ने निर्णय विरुद्ध मुद्दा लड्छन्, त्यति बेला पनि दिपु सबास्टियनले उनलाई मद्दत गर्छन् । दिपुकोमार्फत लेखकले नयाँ पुस्ताको सत्य र न्याय प्रतिको झुकावले आशावादी हुन आग्रह गर्छन् । सिनेमाको अन्त्यमा सिरसले मुद्दा जित्छन् । उनको जित सङ्गै उनको जीवनको पनि अन्त्य हुन्छ । सिरसको खानेकुरामा विष हालिएको तथ्य पछि थाहा हुन्छ । 

यस सिनेमाले सत्य घटनामा आधारित, आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर लड्ने योद्धाको कथा भनेको छ ।

ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् ।

लेखकबाट थप:

एटम बम बनाउने वैज्ञानिकको पश्चाताप सुनाउने सिनेमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *