बंगलादेशीलाई बन्धक बनाएर फिरौती असुल्ने दुई नेपालीसहित ७ पक्राउ, ८ जनाको उद्दार
काठमाडौँ । बंगलादेशका नागरिकलाई काठमाडौँमा बन्धक बनाएर लाखौँ रुपैयाँ असुलेको आरोपमा प्रहरीले नेपालीसहित ७ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मलेसिया, पोल्यान्ड र क्रोएसियासहितका देशमा पठाउने भन्दै उनीहरुले बंगलादेशी नागरिकलाई बन्धक बनाएर फिरौती रकम असुल गरेको खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा ५ जना बंगलादेशी र २ जना नेपाली छन् । राम्रो कमाइ हुने देशमा राम्रो काममा पठाइदिने आश्वासन दिएर उनीहरुले २८ असारमा बंगलादेशी नागरिक राजोन र फर्हाद हुसेनलाई बन्धक बनाएको प्रहरीको भनाई छ । त्यस्तै, यी दुई नागरिकलाई गंगोबुका नयाँ बसपार्कस्थित शुभलक्ष्मी दैलेखी गेस्ट हाउसमा राखेर १० लाख बंलादेशी टाका माग गरेका थिए । रकम दिन नमानेपछि उनीहरुले बंगलादेमा रहेका ती दुई युवाका परिवारलाई उक्त रकम नदिए जे पनि गर्न सक्ने भन्दै ह्वाट्स एपमार्फत धम्क्याएका थिए ।
तर फिरौती रकम नपाएपछि उनीहरुले ती दुइ युवालाई कुटपिट गरेको र यातना दिएको भिडिओ बनाएर पठाएको समेत प्रहरीले जनाएको छ । त्यसपछि बंगलादेशी परिववारले १० लाख टाका पठाएका थिए । त्यसपछि अन्य बंगलादेशी नागरिकका आफन्तलाई समेत यसैगरी फिरौती रकमका लागि धम्की दिएका थिए ।
बंगलादेशी र नेपाली एजेन्टको गिरोहको संलग्नतामा यो काम हुने गरेको समेत प्रहरीले पक्रा लगाएको छ । यो घटनामा ८ जना बंगलादेशीको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
यो प्रकरणमा पक्राउ पर्नेमा पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–७ घर भई काठमाडौंको नक्साल भगवतीबहाल बस्ने ३३ वर्षीया रोशीन राई र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ घर भई ललितपुरको हरिसिद्धि बस्ने २७ वर्षीया तारा नेपाली छन् ।
त्यस्तै बंगलादेशको ढाका मोभसिङ जिल्ला घर भई हाल काठमाडौंको कपुरधारा बस्ने ३४ वर्षीय जहाङ्गिर आलम, बंगलादेशको ढाका सिलेट जिल्ला जनतापुर घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेशको गाजीपुर जिल्ला घर भई अहिले काठमाडौंको कालिमाटीडोल बस्ने ४७ वर्षीय अमिर हुसेन छन् ।
त्यस्तै, बंगलादेशको बरिसाल घर भई हाल ललितुरको हरिसिद्धि बस्ने ३७ वर्षीय मोहम्मद मोसिह्युर रहमान पक्राउ परका छन् ।