राजा ल्याऔँ देश बचाऔँ महाअभियान गीत सार्वजनिक (भिडियो)

राजसंस्था पक्षधरहरूले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आऊ देश बचाउ’ । यही नारालाई केन्द्रमा राखेर एउटा गीतसमेत रेकर्ड भएको छ । राजसंस्थाप्रति झुकाव राख्ने सर्लाहीका गायक योगाज राजनले यो गीत निर्माण गरेर सार्वजनिक गरेका हुन् । हिजो युट्युबमा सार्वजनिक भएको गीतमा राजनलाई उनकै छोरी तिलस्मी खड्काले स्वर दिएकी छन् ।

गीतको म्युजिक भिडियोमा राजसंस्था पुनर्स्थापना निम्ति भएका आन्दोलन, राजा महेन्द्रदेखि पारससम्मका भिडियो फुटेज, तथा राजसंस्था पक्षधर विभिन्न नेताहरूका भाषणका क्लिपहरूसमेत राखिएको छ । गायक खड्का देशमा राष्ट्रिय एकताको प्रतिकका रूपमा राजसंस्थाको आवश्यकता जनतालाई थप महसुस गराउन यो गीत ल्याएको बताउँछन् ।

उनी भन्छन्, ‘देश गणतन्त्रपछि समृद्ध हुनुका साटो झनै अधोगतितर्फ गइरहेको छ । नेताहरू आफ्नै स्वार्थपूर्तिमा केन्द्रित छन् । त्यसैले यो व्यवस्था खारेज गरी फेरि राजसंस्थामा फर्कने जनचाहनालाई थप बल पुर्‍याउन गीत सिर्जना गरेको हुँ ।’

गीतले सङ्घीयता र धर्मनिरपेक्षता खारेज हुनुपर्ने वकालत पनि गरेको छ । गीतमा राजनीतिक विषयवस्तु मात्र छैन । बैङ्क तथा वित्तीय संस्थाहरूले जनतालाई चर्को ब्याजदर थोपरेर मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याइरहेको अवस्थालाई पनि गीतले चित्रण गरेको छ ।

राजनले पहिलोपटक राजनीतिक भाषाको गीत गाएका हुन् । यसअघि उनले २०५७ सालमा उनले ‘गरौँ चिनाजानी’ नामको गीति एल्बम ल्याएका थिए । त्यसको ६ वर्षपछि २०६३ सालमा उनले ‘स्कुल क्याम्पस’ नामको दोस्रो एल्बम सार्वजनिक गरे । यी दुवै एल्बमका गीतहरू विशुद्ध मनोरञ्जनात्मक थिए ।

राजनले आफ्नी छोरी तिलस्मीलाई पनि साङ्गीतिक क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिइरहेका छन् । तिलस्मीले २०७६ सालमा पौडी खेलाडी गौरीका सिंहमा समर्पित गीत ‘हिप हिप हुर्रे गौरीका’ मा स्वर दिएकी थिइन् । तेह्रौँ साग खेलकुदभन्दा ठिक अगाडि राजनले गौरीकालाई प्रोत्साहित गर्ने हेतु सो गीत लेखेर छोरीलाई स्वर दिन लगाएका थिए । गौरीकाले उक्त सागमा चार वटा स्वर्णपदकसहित नौ वटा पदक जितेकी थिइन् । पदक जितेपश्चात् बधाई दिन आएकी तिलस्मीलाई गौरीकाले धन्यवाद दिँदै भनेकी थिइन्, ‘तिम्रो गीतले काम गर्‍यो नि ।’

अहिले देशको दुरावस्थाका कारण राजनीतिक विषयवस्तुको गीत बनाएको राजन बताउँछन् । यो गीतमा शब्द र सङ्गीत उनको आफ्नै छ । म्युजिक डिजाइन डीजेएलएक्स पौडेलले गरेका छन् भने भिडिओ निर्देशन र सम्पादन अरुण लम्सालको रहेको छ । तिलस्मी खड्काको युट्युब च्यानलबाट यो गीत सार्वजनिक भएको छ ।

गीत सुन्ने लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *