कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ । वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाको नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्ने गरी तयारी भएको कार्यालयले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले साँझ ५ बजे परीक्षाफल सार्वजनिक हुने र परीक्षाको नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बोलाइएको बताए ।
बोर्डका अनुसार यो वर्ष देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए । यो वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ । त्यसै गरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।