गण्डकी प्रदेशको लगानीमा तीन अस्पताल भवन बन्दै
गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो ।
मुस्ताङ जिल्ला अस्पताल भवन रु १२ करोड, मनाङ जिल्ला अस्पताल भवन रु १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन रु ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत आवमा मुस्ताङको अस्पताल भवनका लागि रु पाँच करोड, मनाङको अस्पताल भवनका लागि रु छ करोड र सरुवा रोग अस्पतालका लागि रु आठ करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको थियो ।
गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७ दशमलव ०३ प्रतिशत भएको मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार मनाङ अस्पताल भवको ५८ दशमलव ०६ र मुस्ताङ अस्पताल भवनको ३२ दशमलव ०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।
पच्चीस शय्याको मुस्ताङ अस्पताल भवन विसं २०७७ चैत २२ मा शिलान्यास गरिएकामा निर्माणले अझै पूर्णता पाउन सकेको थिएन । अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ । लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणका लागि बजेट अभाव रहेको सचिव डा शर्माले बताए ।
प्रदेश सरकारले चालु आवमा पनि स्वास्थ्यतर्फ कुल बजेटको जम्मा छ प्रतिशतमात्र बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । न्यून स्रोतसाधन र जनशक्तिबाट मन्त्रालय र मातहतका निकायले कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । आधारभूत स्वास्थ्य सेवाका लागि औषधि किन्नसमेत बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।
क्यान्सर, मुटु, मिर्गौला रोगका लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल स्थापना गर्ने प्रदेश सरकारको निर्णय पनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुनसकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेशको गौरवका आयोजनाका रूपमा ती अस्पताल बनाउने घोषणा गरेको थियो ।