सर्वोच्चले भन्यो– निर्दोष र निहत्थाको सामूहिक हत्या राजनीतिक घटना होइन
काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर नरसंहारको घटनाबारे फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । उक्त पूर्णपाठमा अदालतले निर्दोष र निहत्था नागरिकको विकाकारण सामूहिक हत्या गर्नु राजनीतिक घटना नहुने स्पष्ट पारेको छ । रेशमलाल चौधरी लगायतका व्यक्ति प्रतिवादी रहेको टीकापुर घटनाको २३० पृष्ठ लामो पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले आपराधिक घटनालाई राजनीतिक आवरण दिएर अपराध गर्नेलाई राज्यले नै संरक्षण गर्न नहुने जनाएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको नरसंहारमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ९ जनाको हत्या भएको थियो । घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले दोषी ठहर गरेको थियो ।
तर उक्त घटनामा आफू संलग्न नभएको दाबी सहित चौधरीले सर्वोच्च अदालतमा सफाईका लागि पुनरावेदन गरेका थिए । उक्त मुद्दामा सर्वोच्च अदालतले २०७८ जेठ २ गते रेशमलाल चौधरीलाई दोषी ठहर गर्ने जिल्ला र उच्च अदालतको फैसला सदर गरेको थियो ।
उक्त फैसलाको बिहीबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले राजनीतिक घटना र आपराधिक घटनामा भिन्नता रहेको, आपराधिक घटनालाई राजनीतिक घटना भन्दै उन्मुक्ति दिन नमिल्ने नजिरसहितको फैसला दिएको हो ।
पुनरावेदक प्रतिवादी रहेका रेशमलाल चौधरीले टीकापुर घटनालाई राजनीतिक घटना भन्दै सबैले उन्मुक्ति पाउनुपर्ने जिकिर लिएका थिए । सर्वोच्च अदालतले भने टीकापुर घटनालाई राजनीतिक हो कि आपराधिक घटना हो भनेर स्पष्ट हुने गरी फैसलामा उल्लेख गरेको छ ।
फैसलाको प्रकरण ३४३ मा घटनालाई कसरी हेर्ने भनेर तीन कोणबाट विश्लेषण गरिएको छ । फैसलामा टीकापुर घटनालाई फौजदारी कानुन (आपराधिक घटना)का रुपमा हेर्नुपर्ने तीन कारण उल्लेख गरेको छ ।