आज यी दुई प्रदेशमा भारी वर्षा (तीन दिनको पूर्वानुमान)
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात् नेपाल निकट रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।