भुटानी शरणार्थी शिविरको पहिलो ब्यान्ड
दक्षिणी भुटानको गेलेफुमा किरण रसाइलीको घर थियो ।
तर उनी सेमगममा पढ्थे । त्यो ठाउँ उनको घर भएको ठाउँबाट अढाई सय किलोमिटर टाढा थियो । नयाँ तरिकाले सिकाइ होस् भनेर भुटान सरकारले कक्षा आठ सकेपछि अर्को अर्को ठाउँमा पढ्न जाने नियम बनाइदिएको थियो । उनी होस्टेलमा बसेर पढिरहेका थिए ।
बेलाबेला घर आउँथे । बाँकी समय उतै हुन्थे । यसरी नै दश कक्षा पुगेका थिए ।
उनी आठ कक्षा पढ्दासम्म लगभग शान्त भएको वातावरण बिस्तारै बिग्रिँदै गयो । स्कुलमा अनौठो कुराहरू हुन थाल्यो । उनीहरू दक्षिणी भुटानका थिए । त्यता बिस्तारै आन्दोलन बढ्दै गएको थियो । त्यताबाट आएका विद्यार्थीहरू स्वाभाविक रूपमा ‘एन्टि नेसनल’ को रूपमा बुझिन थाले । उनीहरूले गरेका त केही थिएनन् । तर तल भएको जुलुसको रापले उनीहरूलाई पनि सेक्न थालेको थियो ।
पुलिस थानामा लगेर सोधपुछ हुनु स्कुलमा पढाइ हुनु जस्तै साधारण हुन थालेपछि उनका केही जुनियर भाइहरू त स्कुल नै छोडेर पनि भागे ।
उनको प्रिन्सिपल उनीहरूलाई भरसक जोगाउन खोज्थे । त्यसैले आइसिएससी सम्म जसरी पनि पढाउन मद्दत गराएका थिए । त्यो बेला भुटानको बोर्ड नभएको कारण भारतीय बोर्डमार्फत नै परीक्षा हुन्थ्यो।
उनको घरमा पनि समस्या छिरिसकेको थियो । उनको बुबा भक्तिराम रसाइली डाक्टर थिए । त्यहाँकै सरकारी अस्पतालमा काम गर्थे । उनी जुलुसमा गएका पनि हैनन् । तर त्यो क्षेत्रको हुनु नै शङ्कामा पर्नको लागि पर्याप्त थियो । अझ आफन्तले जुलुसमा भाग लिएको छ भने अर्को आफन्त पनि भागिदार हुनु सामान्य हुन्थ्यो । उनको बुबालाई पनि बेलाबेला पुलिस थाना लगिरहेको हुन्थ्यो ।
उनको भाइ बहिनी त्यति बेला गेलेफुमा नै बस्थे । उनीहरूलाई स्कुलबाट निकालिसकिएको थियो । उनीहरूको औषधी पसल पनि बन्द गरिदिएकाले परिवारको आयस्रोत बन्द भएको थियो ।
अरू मान्छेहरू भुटान छोडेर हिँडेको हल्ला बिस्तारै सुनिन थालेको थियो ।
तर उनको बुबाले छोड्ने कुरा मानेका थिएनन् । सबै ठिक हुन्छ होला भनेर बसेका थिए । तर अवस्था ठिक हुनुको साटो झन् दिनप्रतिदिन बिग्रिँदै गएको थियो ।
बुबाका एक जना साथी पुलिसमा थिए । उनले बेलाबेला सूचना दिएर थामथुम पारिरहेका हुन्थे । तर एक दिन उनले पनि आएर बुबालाई घर छोडेर जानु नै सुरक्षित हुने सल्लाह दिए ।
आफ्नो साथीले नै भनेपछि बुबा पनि गले । हिँड्ने योजना पहिलोपल्ट उनको दिमागमा पस्यो ।
तर त्यतिबेलासम्म अवस्था कस्तो भइसकेको थियो भने छोडेर हिँडिहाल्न अवस्था पनि थिएन ।
एक त सबैजना एकैपल्ट निस्किन सहज थिएन । को मान्छे कता हिँड्छ भन्ने कुरामा नियन्त्रण गर्नेगरि प्रशासन चलाख भइसकेको थियो । उनीहरूको गाउँ एक हिसाबले नजरबन्द जस्तै हुन थालेको थियो ।
थाहा नदिई कसरी हिँड्ने ?
एक साँझ उनीहरूले घरमा बत्ती बालिरहे । रेडियो खोलिदिइरहे । उनीहरूकोमा सानो कुकुर थियो । त्यसलाई मात्र लिएर एकपछि अर्को गर्दै निस्किए । उनीहरू नजिकै आसामको बोर्डर थियो । लगभग तीन किलोमिटर नजिकै । त्यही बोर्डर कटे । घर छोडेर हिँड्नुभन्दा पहिलादेखि नै उनीहरूको आवाज मौन भइसकेको थियो । उनीहरूसँग शब्दहरू थिएनन् । आमाबुबाहरू निराश थिए । आँसु थियो । त्यो क्रम घर छोडेर हिँड्दै गर्दा अझै देखियो ।
आसामको बोर्डरमा उनीहरूका केही इष्टमित्रहरू थिए । बुबा डाक्टर भएकाले पनि त्यहाँ सबैसँग राम्रो नै थियो । उनीहरू केही समय त्यहाँ नै बसे ।
त्यसरी जेनतेन ज्यान त जोगिएको थियो । तर धेरै कुरा पछाडि नै छुटेको थियो ।
+++++
उनी मावलमा हुर्किएका थिए । भुटानकै छिराङ भन्ने गाउँमा उनको मामाघर थियो । गाडी नपुगेको, बत्ती नभएको ।
उनको हजुरबुबा मादल बजाउनुहुन्थ्यो । गीत गाउने र नाच्ने गर्नुहुन्थ्यो । मामाहरू पनि बाँसुरी बजाउँथे । उनीहरू नाच्न गाउन जान्ने भनेर गाउँमा चर्चित थिए ।
त्यो सँगै सङ्गीत गाउँमा गरिने अन्य क्रियाकलापहरूमा पनि थियो । गाई हेर्न जाँदा पनि दाजुहरू बाँसुरी बजाइरहन्थे । उनीहरूलाई पछ्याउँदा पछ्याउँदै उनले पनि सिके । त्यसरी सङ्गीततिर उनको झुकाव सुरु भयो ।
उनी बेलाबेला मावलबाट घर आउँथे । उनीहरूको घर नजिकै केही छिमेकी दाइहरू थिए । तीनले गितार बजाउँथे । उनी गएर हेरिरहन्थे । यसरी दुबैतिर नै नयाँ नयाँ सङ्गीत सिक्ने उनको बाटो भयो ।
‘तपाईँ के चाहिन्छ भन म किनिदिन्छु’ कक्षा पाँच पास गरिसकेपछि एक दिन उनको हजुरबुबाले भने । छिराङ गाउँमा हजुरबुबाहरूको अलैँची बगान थियो । वर्षको एकपल्ट उहाँसँग अलैँची बेचेको पैसा हुन्थ्यो ।
‘गितार’ उनको मुखबाट फुत्तै निस्कियो ।
त्यति बेला घडीको चलन थियो । घडी ठुलो गिफ्ट हुन्थ्यो । तर उनले घडी नभनेर गितार मागेका थिए ।
हजुरबुबालाई सङ्कट आइपर्यो । गितार भनेको के हो थाहै नभएका मान्छेले कसरी किन्ने । गाउँका शिव काका भन्नेले पनि गितार बजाउँथे । हजुरबुबाले ती नै काकालाई गितार ल्याउने जिम्मा दिए । आसामको सानो सहरबाट १२ स्ट्रिंग भएको गितार आयो ।
गेलेफुको पहिलो १२ स्ट्रिंगवाला गितार ।
नयाँ गितार पाएर भुईँमा खुट्टा थिएन । तर समस्या के भने त्यसलाई उनले बजाउन जानेका थिएनन् ।
बजाउने जिम्मा ती नै दाइहरूको भयो । उनीहरूलाई उनले पछ्याउने माध्यम मिल्यो । उनीहरूको सङ्गीत बजाउने ‘देउराली’ नामको सानो ग्रुप थियो । उनीहरू हार्मोनियम र तबला पनि बजाउँदै पुरानो पुरानो लोक गीत तथा किशोर कुमारहरूको गीतहरू बजाउँथे । उनी उनीहरूलाई सामान बोक्न सघाउने मान्छे भए ।
त्यसरी हेर्दा हेर्दै उनलाई बजाउन आयो । चुट्के यसरी र समला यसरी भन्दै जान्न थाले ।
पछि कर्डको किताब आयो । दुई तीन महिनामा मेजर माइनर भन्ने कर्डहरू बजाउन जान्ने भइहाले । ‘निले निले अम्बर पर’ जस्ता त्यो बेला चलेका गीतहरू त केही दिनमा बजाउन सक्ने भइहाले ।
गितार बजाउन जान्ने उनी मात्र भएपछि स्कुलमा सान बढ्यो । गितार उनको मात्र । स्कुलको प्रोग्रामतिर बजाउन थालिहाले । गीत गाउन थालिहाले । यो आठ कक्षामा पढ्दातिरको कुरा हो ।
त्यसपछि नयाँ स्कुलमा पुगे । त्यो स्कुल भएको ठाउँ गेलेफुभन्दा पनि बिकट थियो । त्यहाँ झन् को गितार बजाउन जान्ने होस् ? उनी त्यता पनि हिरो भइरहे ।
त्यो स्कुलको नौ कक्षामा मा पढाउने इयाम मार्टिन सर पनि गितार बजाउँथे । उनी युकेबाट आएका थिए । उनले स्टेजमा प्रस्तुति दिएको देखेर उनले कसरी बजाउने भन्ने बारेमा थप सिकाए ।
दशमा पढाउने जोन चिरामल नामका नयाँ सर आए । उनी पनि एकदमै राम्रो गीतारिस्ट रहेछन् । स्कुल सकेपछि उनले गाइड गर्न थाले । उनी उनलाई उनको क्वाटरमा नै बोलाउँथे । उनको छत्रछायामा धेरै कुरा सिके । स्टेज प्रोग्राममा सरसँग पनि बजाए ।
ठिक त्यति बेला नै स्कुलमा कार्यक्रमहरू हुन छोडेको थियो । बेलाबेला पुलिस स्टेसन पुग्नुपर्ने हुन थालेको थियो । घर फर्किँदा स्थिति बिग्रिसकेको थियो ।
उनलाई स्थानीय प्रशासनले धेरै टार्गेट गर्थ्यो किनकि उनको कपाल लामो थियो । कानमा पनि टप लगाएका थिए । सोधपुछ भइहाल्थ्यो ।
त्यसपछि गाउँमा बजाउने दाइहरूसँग पनि सम्पर्क भएन ।
उनीहरूले घर छोडे । खाली हात ज्यान जोगाएर घरबाट निस्किएका मान्छेले के के बोक्छ ?
उनको गितार छुट्यो ।
+++++
असममा बस्दा पनि पनि बजाउने कुरा आएन ।
सीमाको पुलिसले पनि उताबाट आएका मान्छेहरूलाई खोजिखोजी भुटान फर्काउन थाले । घर छोडेर हिँडेकाले उनीहरू त त्यतिबेलासम्म आन्दोलनकारी भइसकेका थिए ।
उता फर्किन सम्भव नै थिएन ।
उनीहरूले चिनेको मान्छेले बरु नेपाल जानु भनिदिए । गाडी रिजर्भ गरिदिए । अनि नेपाल पठाइदिए ।
नेपाल जिन्दगीमा कोही पनि पुगेका थिएनन् । तर उनीहरूको जीवन नेपालतिर नै सोझिन थालेको थियो ।
उनीहरू काँकडभिट्टा आइपुगे । त्यहाँ भएका नेपालीहरूले सबैलाई सहायता गरे । भुटानीहरू माइमा धेरै भइसकेका थिए । टिमाइँ भन्ने ठाउँमा पनि भर्खरै आउँदै छन् भनिदिए । उनीहरू टिमाइँ गए ।
घर भएको ठाउँ छोडेर चिनेको मान्छे भएको ठाउँमा हुन्जेल पाहुना रहेका उनीहरू अर्को देशको सिमाना कटिसक्दा शरणार्थी शिविरको मान्छे भइसकेका थिए ।
टिमाइँ खोलाको बगरमा केही घरहरू बन्दै थिए । बिस्तारै मान्छे आउन थालेका थिए ।
उनीहरूले पनि सेहुलाले घर बनाए । बाँसहरू खोजे । टिमाइ खोलाको बगरमा घर बन्यो । पहिला आउनेहरूले पनि सहयोग गरे ।
बुबा यता नै स्वयंसेवा गर्न थाले ।
त्यो बेला दिनमा १३ जनासम्म साना केटाकेटीहरू मर्न थालेका थिए । खानेपानी राम्रो थिएन । खोलाको पानी खान्थे । वरपर भएका धाराहरूमा गाग्रीमा पानी लिन जाँदा लखेट्थे । त्यसले पनि हैजा ल्याएको थियो ।
युएनएचसिआर आइसकेपछि त्यहाँ नै हेल्थ सेन्टर स्थापना भयो । त्यसैमार्फत बुबाले त्यहाँ पनि काम गर्न थाले ।
त्यहाँ उनीजस्तो १० पास भएका मान्छेहरू थोरै थिए । उनको पहिलो काम नै पढाउने बन्यो । रुखको फेदतिर स्कुल खोलेर पढाउन थाले । त्यति बेला ‘स्टुडेन्ट युनियन अफ भुटान इन इक्जाइल’ भन्ने सङ्गठन थियो माइको क्याम्पमा । त्यसैको पहलमा स्कुलहरू खुलेका थिए । त्यसपछि क्यालिटास नेपालले पनि उनीहरूलाई मद्दत गरेको थियो ।
उनले पनि त्यहाँ नै पढाए ।
सन् १९९३ मा एउटा नयाँ अवसर आएपछि भने उनको जीवन फेरियो । उनीसहित ४५ जनाले युएनएचसिआरमार्फत पढ्नलाई छात्रवृत्ति पाए । आफूलाई मनपरेको देश र विषय छानेर थप पढ्न जान पाउने भए ।
उनले दार्जिलिङ छाने ।
त्यसलाई छान्नुको मुख्य कारण सङ्गीत नै थियो । उनलाई भुटानमा पढाउने पनि दार्जिलिङका टिचर थिए । दार्जिलिङमा सङ्गीत राम्रो हुन्छ भन्ने उनले त्यही बेला सुनेका थिए । पछि क्याम्पमा आइपछि पनि ‘दार्जिलिङका प्रत्येक घरमा कि त हार्मोनियम, कि त गितार हुन्छ’ भन्ने पनि सुनेका थिए ।
हुन त क्याम्पमा आएपछि पनि उनको सङ्गीतले नयाँ सङ्गत भेटिसकेको थियो । उनीसँग गितार त थिएन । तर गितार भएको मान्छे भेटिसकेका थिए ।
उनी बस्ने क्याम्प नजिकै बर्ने टी स्टेट भन्ने चिया बगान थियो । त्यहाँ उनको साथीभाइ बने । त्यहाँ एउटा गितार थियो । उनी गितार बजाउनकै लागि त्यहाँ जान थाले । गितार हुनेहरू धेरै बजाउन जान्दैन थिए ।
उनी त्यहाँ हिरो भइहाले ।
उनीहरूले दिएको मायाको बदला उनीहरूलाई सिकाउन पनि थालिहाले ।
त्यही समूहमा एक जना अभिनारायण भन्ने साथीले एक दिन उनलाई भायलिन सिक्न मन लागेको कुरा सुनाए । उनलाई पनि गितार सिक्ने रहर थियो । ‘हामीहरू सँगै जाम ।’ उनीहरूले योजना बनाए । गुरु भेटिए सिलगुडीमा ।
तर सिक्न जान पैसा थिएन । पहिलोपल्ट अभिनारायणले नै पैसा हालिदिए । उनी बोर्डरमा बसेको भएर हिन्दी बोल्न पनि आउने । उनी पैसा हाल्ने उनी हिन्दी बोल्ने । दुवैले गुरु भेटे ।
दैनिक तीन घण्टाको आइजाई । हप्तामा एकपल्ट कक्षा । उनीहरू धाउन थाले ।
पछि त उनले पनि पैसा जुटाउनुपर्यो । युएनएचसिआर ले महिनापिच्छे रासन, दाल, तेल दिन्थ्यो । उनी त्यसलाई कसो कसो गरे बेच्थे । अनि चाहिने पैसा जुटाउँथे । उसिना चामल भएकाले गनाउँछ भनेर मान्छेले किन्दैन थिए । उनलाई भने दाल नै दिए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यहाँ भएका अरूले पनि त्यस्तै नै गर्थे ।
शिलगुडी गएर सिक्न थालेपछि उनले हिन्दी गीत दुरुस्तै बजाउन थाले । किशोर कुमारका गीतहरू त डिट्टो ।
उनीहरूले पढ्ने शिक्षकको नाम राजु दिवान थियो । उनीहरूको ‘रिदम ब्यान्ड’ थियो । कलकत्तासम्म पुगेर उनीहरू बजाइरहेका हुन्थे । उनीहरू बङ्गाली गीतहरू पनि बजाउँथे । सिलगुढीको पपुलर ब्यान्ड थिए । हिन्दी गीतमा कसरी बजाइन्छ भन्ने उनले थाहा पाए ।
सन् १९९३ लाग्यो । मानिसहरू भुटानबाट अझै ओइरिन थाले । उनीहरू आउँदा खाली भएको टिमाइ क्याम्प पनि भरिन थाल्यो ।
उनी क्याम्प छोडेर पढ्न दार्जिलिङ पुगे ।
+++++
सेन्ट जोसेफ कलेजमा पढ्न थालेसँगै उनलाई गितार सिक्ने भोक फेरी थपियो । युएनएचसिआरले दिएको पकेट मनी उनले गितारमा खर्च गर्न थाले ।
दार्जिलिङमा जीवन प्रधान भन्ने सर चर्चित थिए । (नोट: उनी १९७४ एडीका भोकलिस्ट तथा गिटारिस्ट फिरोज स्याङ्तेनका पनि गितार शिक्षक हुन् ।) कक्षा लिने कुरा गर्न भनेर उनी र उनको साथी पुगे ।
‘आफ्नो गितार चाहिन्छ । भाइहरूसँग छ ?’ जीवन सरले भने ।
दुबैजनाले फरक फरक गितार किन्न सम्भव नै थिएन । ‘दुइजनाले एउटैमा सिक्दा हुन्छ ?’
‘हुन्छ तर मैले दिएको होमवर्क बजाउन सकेपछि मात्र कक्षा अगाडि बढ्छ ।’
उनीहरूले गितार किने । पालैपालो सिक्ने भए । अलिक नजान्ने भएकाले धेरै दिन साथीको पालो । अलिक जान्ने भएकाले बिहीबार र शुक्रवार उनको । होमवर्क बुझाउन पछाडि पर्न पनि भएन । उनी रातरातभर बजाउन थाले ।
यसरी उनीहरूले जीवन सरसँग नोटेसन सिके ।
दार्जिलिङमा ब्यान्डको पनि खुबै माहौल थियो । उनी चन्दन लम्जेलहरूको कार्निभल’ ब्यान्डका गीत खुब सुन्थे । चन्दन ‘भैँसी लड्यो है माया’ गाउने डेजी बराइलीका श्रीमान् पनि थिए ।
जीवन सरसँग सिक्दासिक्दै उनीहरूको गितारको सीप अझै बलियो बन्यो । उनले सँगै पढ्ने साथी खगेन्द्र कालिकोटहरूसँग मिलेर ब्यान्ड खोले । उनी ड्रम र गितार बजाउँथे ।
उनी दार्जिलिङमा उनी पेइङ गेस्ट भएर बसेका थिए । त्यहाँ बस्ने साथीले ड्रम सिक्थे । त्यसै मौकामा उनले पनि सिकेका थिए ।
दार्जिलिङमा त्यो बेला केही कार्यक्रमहरू हुन्थे । हिन्दी दिवस हुन्थ्यो । बाहिरबाट ब्यान्डहरू ल्याएर कार्यक्रम हुन्थ्यो । त्यसमा पनि उनी बजाउँथे । ‘दिल है मेरा दिवाना’ भन्ने गीत खुब चर्चित थियो ।
कलेज सकेपछि उनी फेरी क्याम्पमा आए । तर लामो समय बसेनन् ।
उनको साथी रत्न गुरुङ दार्जिलिङको मंकु भन्ने ठाउँमा पढाउँथे । उनी त्यहाँ पढाउन गए । त्यो बेला क्याम्पबाट भागेर मात्र बाहिर जाने अवस्था थियो । उनी बाहिर बाहिर गएको भएर त्यति चेक भने हुँदैन थियो । उनी छुट्टीको बेला मात्र क्याम्पमा आउन थाले ।
त्यहाँ उनले रत्नलाई पनि गितार सिकाउन थाले । एकआपसमा सिक्दै गर्दा र बजाउँदै गर्दा उनीहरूलाई भुटानी शरणार्थीको पनि ब्यान्ड हुनुपर्छ भन्ने कन्सेप्ट आयो ।
‘हामी सबैजना दुःखी छौँ । सङ्गीतले हामीलाई आनन्द दिन्छ । हामीले क्याम्पमा पनि कार्यक्रम गर्यौँ भने राम्रो हुन्छ’ उनले त्यसो भनेसँगै रत्न पनि हौसिए । त्यस्तो हुन पाए त्यहाँ भएका युवा कलाकारहरूलाई पनि हौसला मिल्ने उनीहरूको विश्वास थियो ।
कार्यक्रमको तयारी रत्नले गर्ने भए । त्यसको लागि चाहिने सङ्गीतको काम भने किरणले गर्ने भए ।
उनीहरूको बिचमा सल्लाह भएपनि क्याम्पमा अरू को को छन् बजाउन जान्ने भन्ने खोजी भयो । क्याम्पका भाइहरू पनि खोजे । कोही रत्नले चिनेका कोही उनले चिनेका । सुभाष क्षेत्री, धन गुरुङ, सुसन राई, उनकै भाइ राजन विश्वा आदि जम्मा भए । उनीहरूलाई पनि मंकुमा नै ल्याएर सिकाउन थाले ।
अभ्यास सुरु भयो । नारायण गोपालको ‘यो मुटुलाई’ भन्ने गीत खुब चलेको थियो । उनीहरूकै अरू गीत पनि आए । यो सन् १९९५ तिरको कुरा हो । १५ वटा जति गीतहरूको लिस्ट तयार भयो ।
क्याम्पमा पनि सबै कुरा रत्नले मिलाइसकेका थिए ।
तर त्यतिन्जेल ब्यान्डको नाम थिएन । उनीहरू अभ्यास गर्दा गर्दै रातको बाह्र बजिसकेको थियो । के नाम राख्ने त ?
उनी अङ्ग्रेजी पढाइरहने मान्छे । बेलाबेला ‘युफोरिया’ भन्ने शब्द प्रयोग गरिरहेका हुन्थे । त्यसको अर्थ आनन्द दिने भन्ने हुन्थ्यो ।
‘हामीहरू पनि दुःखमा परेका छौँ । यसले कुनै कुनै रूपमा हामीलाई आनन्द दिन्छ । त्यसैले हाम्रो नामपनि यससँगै जोडिएको हुनुपर्छ ।’
नाम फाइनल भयो । उनीहरू त्यही नाम लिएर सन् १९९६ मा बेलडाँगी १ मा पहिलो कार्यक्रम गरे । त्यो नै ब्यान्डको पहिलो प्रस्तुति थियो । क्याम्पका लगभग सबै मान्छेहरू त्यहाँ भरिएका थिए । बालक देखि वृद्ध सम्म सबैले रमाइलो मानेका थिए ।
त्यो बेला क्याम्पमा सङ्गीत बजाउनेहरू त धेरै थिए । हार्मोनियमहरू बजाउने साना साना ग्रुपहरू पनि हुन्थे । तर ब्यान्ड नै भने थिएन । उनीहरू नै शरणार्थी क्याम्पको पहिलो ब्यान्ड भए ।
पहिलो चोटि क्याम्पभित्र इलेक्ट्रिक गितार, बेस गितार, दुई वटा किबोर्ड, कङ्गो आदि भएको ब्यान्ड बज्यो । ब्यान्डको फुल सेट पहिलोपल्ट क्याम्पले सुन्न पायो । धेरैले त ती बाजा के रहेछ भन्ने पनि अवसर पाए ।
उनी हार्मोनियम र किबोर्ड बजाउँथे । सुभाष क्षेत्री आधुनिक गीत गाउँथे । धन गुरुङको लोक भ्वाइस राम्रो थियो । उनले कङ्गो पनि बजाउँथे । रत्न गुरुङ बेस, राजेन्द्र लिड, सुसन राई रिदम गितार, उनले किबोर्ड, उनको भाइ दीपकले ड्रम, र टेक सिनचुरेले तबला । अनि फिमेल आर्टिस्ट पवित्रा रसाइली पनि थिइन् । उनले पनि गाएकी थिइन् ।
‘रिटिङ रिटिङ नरेट बिनायो’ भन्ने गीत गाउने लक्ष्मी जोशीलाई पनि उनीहरूले अतिथि बनाएर बोलाएका थिए । लक्ष्मी जोशीले पनि यत्तिको प्याकेज देखेको छैन भनेर उनीहरूलाई स्टेजबाट नै भनिदिए । ‘तपाईँहरू हामी सबैको हो ।’
नयाँ देशमा आएर बजाएको एउटा ब्यान्डको लागि कसैले त्यसो भनिदिनु ठुलो सम्मान थियो ।
त्यो कार्यक्रम सफल भयो । त्यसले शिविरका दाजुभाइ हरूलाई नयाँ अनुभव भयो । त्यो कार्यक्रम सबै क्याम्पमा गर्नुपर्छ भन्ने सल्लाह गरे ।
सन् १९९७ मा गोलधाप क्याम्प बाहेक सबै क्याम्पहरूमा प्रस्तुति दिए । हिन्दी र नेपाली गीत पनि दिए ।
ती प्रस्तुतिले उनीहरूको चर्चा बढायो । उनीहरूलाई पूर्वमा पनि चिन्न थाले । त्यो बेला त्यत्तिको प्याकेजमा सङ्गीत बजाउने उनीहरू नै थिए । त्यसपछि बुधबारे भन्ने ठाउँको साथीहरूलाई भेटेर कार्यक्रम गरे । सबैतिर कम्प्लिट प्याकेज गरे । सबै क्याम्पमा गरेको प्रस्तुतिमा उनीहरूको आफ्नै गीत पनि तयार गरे ।
डिबी गुरुङको दाजुले लेखेको गीत थियो । सुभाष क्षेत्रीले सङ्गीत गरेका थिए । त्यसमा भुटान छोड्नुपर्दाको पीडा भरिएकै थियो।
हिमाली भुटान सुन्दर थियो भुटान पौरखले
छोडेर आयौँ यो जन्मभूमि निर्मम पीडाले
यो गीत क्याम्पमा सुनाउँदा नरुने कोही पनि हुँदैन थियो ।
अर्को गीत थियो । त्यसको पनि कम्पोजिसन सुभाषले नै गरेका थिए
न्यानो न्यानो उसको काखमा निदाउने सपना मात्रै देखेछु
उसलाई भनी प्रेम पत्र कल्पनमा मैले मात्रै लेखेछु
यो कम्पोजिसन उ बेला खुब चले । खुब हिट भयो ।
उनीहरूको ब्यान्डको सफलतासँगै क्याम्पमा सङ्गीतको नयाँ ऊर्जा थपियो । धेरै सिक्न खोज्नेहरूले यस्तो हुँदो रहेछ भन्ने देख्न पाए । त्यसपछि ‘ड्रुक युथ’, ‘फ्लेमिङ्गो’ जस्ता ब्यान्डहरू पनि बने । अनेक कार्यक्रमहरू भने भए ।
त्यसपछि पहिलोचोटी बाह्र हजार दिएर कन्याम भन्ने ठाउँमा प्रस्तुति दिन बोलाइयो । त्यो बेला उनीहरूलाई वाद्यवादन बजाउन मात्र बोलाइएको थियो । उनीहरूले गीत पनि गाए । कन्याममा उनीहरूको भेट कुबेर राई सँग भयो । कुबेरको ‘मैँयाले मूलबाटो भुलेछ’ भन्ने गीत चर्चित थियो । लेखु दिवस, पूजन प्रधान लगायत नेपाली कलाकारसँग उनीहरूले पहिलोपल्ट प्रस्तुति दिए । सिमसिम पानी पर्दा पनि एक जना पनि दर्शकले छोडेर गएनन् ।
शरणार्थी क्याम्पबाट जन्मिएको एउटा ब्यान्डले नेपाली कलाकारहरूसँगै गाइरहेका थिए । यो पनि उ बेलाको लागि ठुलो कुरा थियो ।
यसरी केही कार्यक्रमहरू गरेपश्चात् भने घरव्यवहारले उनीहरूलाई थिच्दै लग्यो ।
माई मेलामा जितेन राई अनि कुबेर राई सँग मिलेर प्रस्तुति दिइसकेपछि भने उनीहरूलाई निक्कै गाह्रो भयो । ठिक त्यही बेला
विराटनगरमा पढाउने र बेलुका होटेलमा बजाउने कन्ट्याक्ट पाए ।
कंचनजंगा हाइस्कुलमा पढाउने अनि होटल मुनमा पढाउने काम एक वर्ष गरेपछि सबै सदस्यहरू लाखापाखा लागे ।
ब्यान्ड छुट्यो ।
+++++
ब्यान्ड सँगसँगै उनले झापामा इन्स्टिच्युट खोले । रुद्रेश्वर राई भन्नेको सहायताले त्यसलाई सुरु गरेका थिए । त्यसभन्दा पहिला उनी अरूकोमा पढाउँथे ।
आफ्नै खोलिसकेपछि भने त्यहाँ एसोसिएट बोर्ड अफ रोयल स्कुल अफ लन्डनको कोर्षहरू पनि गराए । ‘रिफ स्कुल अफ वेस्टर्न म्युजिक’ उनको इन्स्टिच्युटको नाम थियो । त्यसलाई उनले सन् २००५ मा सुरु गरेका थिए ।
लगभग दुई वर्ष त्यसलाई चलाउन थालेपछि सन् २००७ तिर तेस्रो मुलुक पुनर्वासको चर्चा आयो । सुरुमा त्यसको विरोध भइरहेको थियो । सन् २००८ मा फाट्टफुट्ट प्रोसेस गर्नेहरू भए । सन् २००९ मा अलिक खुलेर गर्नेहरू पनि भए । उनीहरूले पनि घरमा सन् २००९ मा प्रोसेस गर्ने कुरा उठ्यो ।
तर बुबा मानेनन् । उनले भुटान नै फर्किने सपना भुलेका थिएनन् ।
उनको बुबासँग त्यही कारणले सम्बन्ध पनि बिग्रियो । बोलचाल नै हरायो । उनी जाऊँ भन्ने । फर्किएर जान सकिँदैन भन्ने कुरा गर्थे । बुबाले देखेको अर्कै थियो ।
तर त्यो पनि सबैजना लगालग हिँड्न थालेपछि हार्यो । ठिक त्यसरी नै जसरी पुलिस साथीले निस्किनु भनेपछि उनी भुटानमा हारेका थिए ।
जाने बेलामा उनले त्यसलाई सिनियर स्टुडेन्ट भाइहरूलाई गिफ्ट दिएर गए ।
अहिले उनी अस्ट्रेलियाको क्विन्सल्याण्ड भन्ने स्टेटमा छन् । बुबा भाइ बुहारीसँग बस्छन् ।
उनी अहिले पनि भुटानले जान दियो भने जान्छु भनिरहेका हुन्छन् ।
उनी अहिले पनि सङ्गीतलाई पूजा गर्छन् । उनको घरमा एउटा कोठा त्यसैको लागि छुट्याएका छन् । उनलाई यसलाई धेरै बाहिर ल्याउनु छैन । तर बिर्सिजानु पनि छैन ।
अस्ट्रेलिया आएपछि सन् २०१८ मा एउटा गीत रेकर्ड गरेका थिए । आफ्नै भोकल, आफ्नै म्युजिक, आफ्नै कम्पोजिसनमा त्यसलाई बनाएका थिए । त्यो बाहेक उनले ‘ओ वारियर्स’ नामको फ्युजन रेकर्ड पनि गरे । त्यसले दुई वटा अन्तर्राष्ट्रिय अवार्ड पनि जितेका छन् । अहिले पनि यो गीत अस्ट्रेलियाको टप ३० भित्र परेको छ । सन् २०१९ मा पनि परेको थियो ।
त्यो बाहेक उनले कम्पोजिसन गरेको गीत दीप श्रेष्ठको अनावरण एल्बममा थियो । अर्जुन सापकोटाले लेखेको ‘मैले देखेको सपनामा म मरेको थिएँ’ बोलको गीत सन् २०१० तिर रेकर्ड भएको थियो । उनको ‘आमा‘ भन्ने गीत शिव परियारले पनि गाएका छन् ।
उनको पहिलो कम्पोजिसन भूगोल भन्ने गीत थियो । त्यसलाई क्याम्पकै भाइ नन्दकिशोर भाइले गाएका थिए । सन् २००७ तिर रेकर्ड गरिएको थियो ।
उनी अहिले अस्ट्रेलियाको डिजेबिलिटी सेक्टरमा कोअर्डिनेटर भएर काम गर्छन् । त्यो बाहेक युएसए, अस्ट्रेलिया र दार्जिलिङका म्युजिसियनहरूलाई लिएर पिस बनाइरहेका हुन्छन् । फ्युजनसँग रमाइरहेका हुन्छन् ।
सङ्गीत के हो तपाईँको लागि ?
म उनलाई बिट मार्ने गरी प्रश्न सोध्छु ।
उनी थोरै हाँसो मिसाउँदै आफ्नो स्वाभाविक लवजमा भन्छन् ‘सङ्गीत मेरो जीवनको सबैभन्दा नजिकको साथी भएको छ । दुखमा पनि यो थियो । अहिले सुखमा पनि छ ।’
Thank you Makalu Khabar for sharing my story