श्रमिकको पारिश्रमिक १७ हजार, समय सान्दर्भिक छ ?
काठमाडौँ । नेपाल सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक गत साता बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक श्रम बजारमा कार्यरत चिया बगान बाहेकका नेपाली श्रमिकको भत्तासहित पारिश्रमिक १७ हजार ३०० रुपैयाँ निर्धारण गरेको हो ।
सरकारले अघिल्लो पारिश्रमिकको तुलनामा १५.३३ प्रतिशत (२३ सय रुपैयाँ)ले वृद्धि गरेको थियो । नयाँ पारिश्रमिक चालु आर्थिक वर्षको साउनदेखि नै लागू हुनेछ । श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो ।
यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ रहेको थियो । अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३ सय पुर्याइएको हो । यसअघि आधारभूत पारिश्रमिक ९ हजार ३८५ र महँगी भत्ता ५ हजार ६१५ रुपैयाँ रहेको थियो ।
चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । यसअघि यो रकम १२ हजार ८१ रुपैयाँ रहेको थियो । उनीहरूको दैनिक पारिश्रमिक ५ सय रुपैयाँ पुगेको छ । यसअघि यो रकम ४३५ रुपैयाँ थियो । यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।
कार्यान्वयनमा आशंका
सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा हुनेमा टे«ड युनियनहरूले आशंका गरेका छन् । सरकारले न्यूनतम पारिश्रमिक जति तोकेपनि हाल श्रम बजारमा कार्यरत श्रमिक मासिक १० देखि १४ हजारमा काम गर्न बाध्य रहेको टे«ड युनियनहरूले जनाएको छ ।
सरकारले ढिलो गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएपनिन कार्यान्वयनका हुने आशंका रहेको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । ‘सबैभन्दा तल्लो तहमा रहेको श्रेणीविहीन सरकारी कर्मचारीले २६ हजार तीन सय ४८ रुपैयाँ पारिश्रमिक पाउँछन् । तर, दैनिक ज्यालादारीमा जीविको पार्जन गर्ने श्रमिकलाई छाक टार्ने समस्या हुनेगरी सरकारले पारिश्रमिक बढाएको छ,’ उनले भने, ‘योपटक २३ सय रुपैयाँ बढेको छ । जुनसुकै पारिश्रमिक भए पनि सबै प्रतिष्ठानले २३ सय रुपैयाँ बढाउनुपर्छ । तर, अहिले सरकारले बढाएको पारिश्रमिक बढाउने पक्षमा रोजगारदाता छैनन् ।’