शिक्षिका राजेश्वरीको ‘सुसाइड नोट’- सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ

काठमाडौँ । धनगढीमा बिहीबार मृत फेला परेकी शिक्षिकाको सुसाइड नोट फेला परेको छ । दार्चुलाको मार्मा गाउँपालिका-६ घर भएर धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी २२ वर्षीया राजेश्वरी डडालले आफ्नो मृत्युको कारण प्रेमी नै भएको भन्दै दिदी र आमाको नाममा अन्तिम सन्देश छाडेकी छिन् ।

उनले प्रेमीले आफ्नो श्रीमती बन्न ‘शारीरिक सम्बन्ध’ बनाउन दबाब दिएको समेत उक्त नोटमा उल्लेख गरेकी छिन् । ‘म पनि उसको हरेक कुरालाई साँचो मान्दै गए, उपहार पाए मृत्यु । सबै दिदी ममीलाई धेरै माया गर्छु तर जताउन सकिन । बदनाम भएर पनि म किन बाच्नु हैन र’ राजेश्वरीले सुसाइड नोटमा लेखेकी छिन्, ‘सरी दिदी ममी, हजुरहरूको राम्रो चिताउँछु तर मैले के गरे ?’

राजेश्वरी मृत भेटिएको घटनामा २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

उनका अनुसार चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतक र पक्राउ परेका विवाहित कोट्टारी प्रेम सम्बन्धमा थिए ।

उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका छन् ।

सुसाइड नोट -महेन्द्रनगर पोष्टबाट
प्रतिक्रिया

One thought on “शिक्षिका राजेश्वरीको ‘सुसाइड नोट’- सिन्दूर दिन्छु भन्यौँ, मृत्यु उपहार पाएँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *