धरानमा कसले खलबलायो सामाजिक सद्भाव ?
काठमाडौं । धरानमा धार्मिक सद्भाव भड्कने त्रासबिच स्थानीय प्रशासनले निषेधाज्ञा पर्यो। केही मानिसले गोरु काटेर मासु खाएको भनिएको विवरण सार्वजनिक भएपछि धार्मिक संघसंस्थाले त्यहाँ र्याली र प्रदर्शनको आयोजना गरेका थिए । उक्त र्यालीका कारण हुनसक्ने सम्भावित मुठभेड टार्न धरान उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो ।
गोरुको मासु खाएको भनिएको घटनालाई एउटा पक्षले आफ्नो जातीय, सांस्कृतिक र धर्मनिरपेक्षताले दिएको अधिकारको रूपमा व्याख्या गर्ने गरेको छ । हिन्दू लगायतका धार्मिक संस्थाहरूले चाहिँ त्यसलाई धार्मिक र सामाजिक सद्भाव बिथोल्ने प्रयासका रूपमा त्यसलाई चित्रण गरेका छन् । एक साताअघि भएको भनिएको उक्त घटनाको फोटो र भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको थियो ।
त्यसपछि घटनाको समर्थन र विपक्षमा सडक प्रदर्शन गर्ने विवरण सार्वजनिक भएपछि धरानमा सामाजिक सद्भावका लागि पहल थालिएको थियो । हिन्दू धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाको अगुवाइमा शनिवार धरानमा ‘गौहत्याविरुद्ध प्रदर्शन गर्ने’ घोषणा गरिएसँगै त्यसलाई रोक्न पहल भएका थिए । यसअघि धरानमा हिन्दू धर्मावलम्बीहरूको मन्दिर क्षेत्र नजिकै इसाई धर्ममा आस्था राख्नेहरूका लागि चर्च बनाउने क्रममा पनि निकै विवाद देखिएको थियो ।
आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न अपिल
राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा साम्प्रदायिक हिँसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले विज्ञप्ति निकालेर साम्प्रदायिक हिँसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
आयोगले स्थानीय सरोकारवालाहरूलाई सामाजिक सद्भाव कायम राख्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्नसमेत आग्रह पनि गरेको छ । आयोगका सहसचिव टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा संविधानको प्रस्तावनामै विविधताका बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षणको विषय उल्लेख रहेको भन्दै मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा विभिन्न महासन्धिका व्यवस्थाबमोजिम समेत सामाजिक सद्भाव कायम राख्नु सबैको दायित्व भएको स्मरण गराइएको छ ।
प्रधानमन्त्रीको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानमा भइरहेको घटनाको समाधान संवादको माध्यमबाट गर्न अपिल गरेका छन् । जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले सो अपिल गरेका हुन् ।
‘धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु,’ उनले शनिबार साँझ विज्ञप्तिमार्फत भनेका छन् ।
धरानको घटनाबारे सरकार गम्भीर रहेको पनि प्रधानमन्त्रीले विज्ञप्तिमार्फत भनेका छन् । ‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ। हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,’ उनले भनेका छन् ।
कांग्रेसले भन्यो…
सत्तासाझेदार दल नेपाली कांग्रेसले धार्मिक-सामाजिक सद्भाव भड्काउने गतिविधि जनताको हितमा नरहेको बताएको छ । धरानमा जातीय र धार्मिक विवाद बढ्दै गएपछि उत्पन्न घटनाक्रमबारे शनिबार एक अपिल सार्वजनिक गर्दै पार्टी सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउने काम राम्रो नभएको बताए ।
‘नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुयाई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुँदैन,’ सभापति देउवाले जारी गरेको अपिलमा भनिएको छ, ‘साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पुयाउन पनि उचित हुँदैन ।’
समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भावको काममा जुट्नसमेत कांग्रेसले आग्रह गरेको छ । ‘यस विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ अपिलमा भनिएको छ ।
विश्वका धेरै देशमा धर्मका नाममा युद्ध र द्वन्द्व भएका छन् । धार्मिक द्वन्द्वले कहिल्यै प्रश्रय नपाएको देश नेपालमा अहिले केही धार्मिक अतिवादीले खेल्ने मौका खोजिरहेका छन् । छिमेकी राष्ट्र भारतमा हिन्दु र मुस्लिमबिच पटकपटक धार्मिक दंगा भइसकेको छ । हिन्दु अतिवादीले क्रिश्चियनमाथि र शिखमाथि पनि आक्रमण गरेका छन् ।
कस्मिरमा भएको हिन्दु-मुस्लिम दंगामा हजारौं मानिस मारिएका थिए । त्यहाँको दंगा अझै सेलाएको छैन । श्रीलंकामा बुद्धिष्ट र हिन्दुबिच बेलाबेलामा द्वन्द्व भइरहन्छ । इन्डानेसियाको मलकु आइल्यान्डमा सन् १९९९ मा भएको मुस्लिम-क्रिश्चियन दंगामा ६ हजारभन्दा बढी मानिस मारिएका थिए । बोस्निया हर्ज गोभिना, सुडान तथा अन्य थुपै्र देशमा धर्मका कारण द्वन्द्व भड्किएको छ । पूर्वी टिमोरमा क्रिश्चियन र मुस्लिमबिच युद्ध जारी नै छ ।
विश्वका यी धार्मिक युद्धबाट शिक्षा लिएर नेपालले धार्मिक सद्भाव खलबलाउने काम रोक्न राजनीतिक दल, नागरिक समाज, स्थानीय सामाजिक संस्था एक जुट हुन जरुरी छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भुसको आगोसरि नसल्केला भन्न सकिन्न ।