पार्टी प्यारो भएकाले राष्ट्रपति बनिन : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका निम्ति सरकारले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले संसद् खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरूको बैठकमा आफ्नो पार्टी सहभागी हुन नपाएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले राष्ट्रिय मान्यताप्राप्त दल नभएका आधारमा आफूहरूलाई निषेध गरेको बताए ।
उनले आफ्नो पार्टीले जनताको मन जितेर राजनीतिक शक्ति बढाउन देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुनुपर्ने बताए । अध्यक्ष नेपालले आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव आए पनि पार्टीलाई अलपत्र छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले राष्ट्रपति हुने इच्छा नगरेको दाबी गरे ।
उनले मुलुकको शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीअनुसार उपलब्धि हासिल हुन नसकेकाले अब विद्यार्थी आन्दोलन गुणस्तरीय शिक्षाका लागि केन्द्रित हुनुपर्ने बताए । नेपालले शिक्षालाई उत्पादनसँग जोडेर व्यावसायिक सीप तथा क्षमता विकास गर्न सके उत्पादनका साथै रोजगारी बढ्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेमा विश्वाससमेत व्यक्त गरे ।