आपसमा मारामार गरेर कसैलाई फाइदा पुग्दैन : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विभिन्न प्रकारका साम्प्रदायिकता मच्चाउन खोजिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत झापाको गौरीगन्जमा स्थानीयसँग भेटघाट गर्दै अध्यक्ष ओलीले साम्प्रदायिकता मच्चाउन खोज्नेहरूबाट होसियार बन्न आग्रह गरेका हुन् ।
सबै प्रकारको विभेद र असमानताको अन्त्यको पक्षमा आफू र पार्टी रहेको जनाउँदै अशान्ति नमच्चाउन उनले आग्रह गरे । ‘कोशी प्रदेश नामकरण तथा पहिचानको नाममा भइरहेको आन्दोलन हिंसात्मकतर्फ उन्मुख भएको छ । यसले कसैलाई पनि फाइदा पुग्दैन,’ अध्यक्ष ओलीले भने, ‘ढुङ्गा हान्ने र अशान्ति मच्चाउने कार्य रोकेर साझा पहिचानको पक्षमा उभिन म सबैलाई आग्रह गर्दछु ।’
आपसमा मारामार गरेर कसैलाई फाइदा नपुग्ने उनको भनाई छ । ‘कुनै समस्या भएमा वा चित्त नबुझेमा छलफल र बहसमा आउनुपर्ने हो । हामी सबै प्रकारका असमानता र विभेद समाजबाट अन्त्य हुनुपर्छ भन्ने मान्यता राख्छौ,’ अध्यक्ष ओलीले भने, ‘हरेकलाई सामाजिक न्याय र समानता प्राप्त हुनुपर्दछ ।’
पूर्व प्रधानमन्त्री ओलीले प्रदेशको नामकरण ‘कोशी’ राख्दा सबैको पहिचान समेटिएको दाबी गरे । नेपालको सबैभन्दा होचो स्थान कचनकवलदेखि लिएर सबैभन्दा अग्लो चुचुरो सगरमाथासम्म रहेको प्रदेशको नामकरणमा कुनै जाति विशेष र थर विशेषले बहस गर्नु उपयुक्त नहुने उनको भनाई छ ।