म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो, लिभरपुलको कमब्याक जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफफिल्ड युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इर्लिंग हालाण्ड र रोड्रीले एक एक गोल गरेका थिए । यस खेलमा हलाण्डले एक पेनाल्टी मिस समेत गरेका थिए । शेफफिल्डका लागि जयडेन बोगलेले एक गोल फर्काएका थिए ।

यो जितपछि सिटीले लगातार तेस्रो जित हासिल गरेको छ र ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी शेफफिल्डले भने लगातार तेस्रो हार बेहोरेको छ ।

अर्काे खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि २-१ काे जित हासिल गरेको छ । लिभरपुलको जितमा डर्विन नुनेजले दुवै गोल गरेका थिए । १-० ले पछि परेको लिभरपुललाई नुनेजले खेलको ८१औं र ९३औं मिनेटमा गोल गर्दै जित दिलाएका थिए ।

त्यसअघि न्यूक्यासलका लागि खेलको २५औँ मिनेटमा एन्थोनी गोर्डोनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । यस खेलमा खेलको २८औं मिनेटमा भिर्गिल भान डाइकले रातो कार्ड पाएर मैदान छोड्दा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो ।

नयाँ सिजनमा लिभरपुलको यो दोस्रो जित हो । यो जितपछि ३ खेलमा लिभरपुलको ७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । न्यूक्यासल युनाइटेडले भने दोस्रो हार बेहोरेको छ । न्यूक्यासलको ३ खेलमा ३ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *