काठमाडौँमा बाँच्न सिकाउने फिल्म ‘महानगर’
अक्सर हामी काठमाडौँलाई फोहोर, धुलो, अव्यवस्थित हरियाली नभएको सहर भन्ने गर्छौ । तर गाउँघरमा रहेका हजारौँ मानिसहरूको आँखामा काठमाडौँ झिलिमिली सपनाको सहर बनेर बसेको छ ।
यहाँ पाइला टेक्न पाए हुन्थ्यो भन्ने धेरै मानिसको चाहना हुन्छ ।
उनीहरू काठमाडौँलाई विकसित र सुविधाजनक सहर मान्दछन् । किनकि गाउँघरमा अझै बिजुलिबत्ति, सडक–यातायात र भौतिक पूर्वाधारको विकाश हुन सकेको छैन । त्यहाँ मौलाएका कला– कृतिहरूले अवसर पाउन सकेका छैनन् ।
फिल्म ‘महानगर’ मा सपनालाई पछ्याउँदै काठमाडौँ आइपुगेका मानिसहरूको कथालाई देख्न सकिन्छ । विषेशषः ती मानिसहरूको सङ्घर्षको विषयलाई ‘महानगर’ ले उठान गरेको छ ।
फिल्ममा मुख्य भूमिकामा रहेकी मेनुका प्रधान ‘खुसी’ नाम गरेको युवति छन् । उनी नेपालको कुनै एउटा गाउँबाट झोलामा लुगा पोका पारेझैँ कवि बन्ने सपनालाई पोको पारेर काठमाडौँ आउँछिन् । तर काठमाडौँ उनले सोचेजस्तो सहज हुँदैन ।
खुसीको नाममा मात्र खुसी छ । उनी भित्रबाट अत्यन्तै दुः खी छिन् । उनको नाम आफैँमा बिम्ब हो । उनी आफ्नो पिडा कसैलाई बताउन चाहँदिनन् । उनी कम बोल्ने र अन्तरमुखी स्वभावकी छिन् । उनी दुई छाक खान र आत्मसम्मानका साथ बाच्न चाहन्छिन् । त्यसैले उनी काठमाडौँ आएकी थिइन् ।
यहाँ आएर गर्नुपर्ने मुख्य सङ्घर्ष नै सपनालाई जीवित राख्नु हो । यहाँ अवसर पाउन सजिलो छैन । यहाँ कला, मेहनत र परिश्रमको उचित मूल्याङ्कन नहुन सक्छ । पुँजीवादी यस समाजमा वास्तवमा नै जन्मिँदै गरेका, जन्मिसकेका र हुर्कँदै गरेका सपनाहरूलाई बचाउन एकदमै मुस्किल पर्दछ । हो, खुसीले पनि यी–यस्ता समस्याहरू भोग्छिन् । उनी फिल्मको प्रतिनिधि पात्र मात्र नभएर गाउँबाट सपना लिएर काठमाडौँ आएका समग्र नेपालीहरूको प्रतिनिधि पात्र हुन् ।
काठमाडौँमा उनीजस्तै सपना लिएर सङ्घर्ष गरिरहेका धेरै मानिसहरू छन् । गाउँको स्वतन्त्र हावामा बाँचिरहेका उनीहरू काठमाडौँ आएर एउटा कोठाभित्र निसास्सिन बाध्य हुन्छन् । ऐँचो–पैँचो र सहकार्यमा चलेको उनीहरूको सरल जीवन यहाँ आएपछि जटिल बनिदिन्छ । अनि जटिलताबाट निस्कन खोज्दाखोज्दै सपनाको हत्या भएको उनीहरूले पत्तो पाउँदैनन् ।
फिल्ममा यस्तै अवस्थाबाट गुज्रिएकी अर्को महिला पात्र पनि छिन् । उनी खुसीको साथी हुन्छिन् । उनीहरू दुवै एउटै कोठामा बस्छन् ।
उनी डान्सर बन्ने सपना बोकेर काठमाडौँ आएकी हुन्छिन् । तर अवसर नपाएपछि बार डान्सर हुँदै उनी अन्त्यमा यौन धन्दामा लाग्छिन् । आर्थिक समस्याको कारणले उनी त्यस कामलाई आफ्नो पेसाको रूपमा अङ्गाल्छिन् । त्यसपछि बिस्तारै उनको सपना हराउँदै जान्छ । बिलाउँदै जान्छ । यसरी उनको सपनाको अन्त्येष्ठी हुन्छ ।
यौन धन्दा गर्नु उनको चाहना थिएन । बाध्यात्मक परिस्थिति थियो । त्यो कुरा अनुहारको भावमा देखिन्छ ।
हाम्रो समाजमा यस्ता धेरै मानिसहरू छन् । जसले यहाँ बाच्नकै लागि सपनालाई बिर्सेर गलत बाटोमा लागेका छन् । त्यो उनीहरूको विकल्प नभएर बाध्यकारी परिस्थिति हुनसक्ला ।
खुसीलाई साथीले गरेको काम मन पर्दैन । त्यसकारण यस ठाउँमा आफ्नो सपनाको हत्या हुने ठानेर गाउँ फर्कन चाहन्छिन् ।
एक साँझ सडकमा मोटरसाइकल दुर्घटना हुन्छ । मोटरसाइकललाई ठक्कर दिने व्यक्ति फरार हुन्छन् । त्यहाँ थुप्रै मानिसहरू रमिता हेर्न आउँछन् । तर घाइतेलाई अस्पताल लैजाने जमर्को कसैले गर्दैनन् । त्यहाँ उनको भेट आषिशसंग हुन्छ । आशिष् दार्जिलिङबाट गाइडको कामले काठमाडौँ आएका हुन्छन् । उनी भोलि बिहानै दार्जिलिङ फर्कने तरखरमा हुन्छन् ।
उनीहरू दुई मिलेर घाइतेलाई अस्पताल पुर्याउछन् ।
उक्त घटनाले काठमाडौँमा रहने मानिसहरूको प्रवृत्तिलाई देखाइएको छ । सडकमा कुनै दुर्घटना हुँदा गरिरहेको काम छोडेर रमिता हेर्न आउने मानिसहरू सहयोग अग्रसर हुँदैनन् । या भनौँ उनीहरूलाई सहयोग गर्ने फुर्सद हुँदैन् । तर गाउँमा मानिसहरू आवश्यक पर्दा सहयोग गर्न अग्रसर हुने कुरा प्रतिनिधि पात्रबाट देखाइएको छ ।
उनीहरू आफै समस्यामा परेको भए पनि आफ्नो अवस्था फर्केर नहेरी समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न उनीहरू अग्रसर भएका छन् ।
फिल्मको एउटा दृश्यमा गाउँबाट काठमाडौँ आएर होटलमा काम गरिरहेका करिब ५ वर्षको बालकलाई देख्न सकिन्छ । उनले तरकारी काट्न नजान्दा आफ्नै हात काटेका छन् । उनको हातबाट रगत बग्दा पनि कसैले उनको वास्ता गरेका छैनन् । उनी रातको समयमा पनि घरको याद आयो भन्दै रुँदै बसेका देखिन्छन् ।
काठमाडौँका विभिन्न होटलहरुमा अझै बालश्रम भइरहेको कुरा उक्त दृश्यले देखाएको छ । गैर-जिम्मेवार अभिभावक र गरिबिको रेखामुनि रहेका मानिसहरू आफ्ना बालबालिकालाई विभिन्न पसल र ठुलाबडाहरूको घरहरूमा कामदारका रूपमा राख्ने गरेका छन् । खेल्ने, रमाउने र सिक्ने उमेरमा कामदारका रूपमा रहनु त्यो उनीहरूको बाध्यता नै हो । बालश्रम हुन नदिनु परिवार, अभिभावक, प्रहरी र सम्बन्धित संस्थाको मात्र कर्तव्य नभई समग्र देश र जनताकै कर्तव्य हो । यस समयमा उनीहरूलाई परिवारको माया–ममता, हेरचाह र निर्देशनको सबैभन्दा बढी आवश्यक पर्दछ । त्यसैले ती बालक घर–परिवारलाई सम्झँदै रोएका छन् ।
उही रातमा रक्सी पिएर मात लागेको एक व्यक्ति पनि कथामा प्रवेश गरेका छन् । उनले रक्सी, बियरले भरिएको एउटा झोला बोकेका हुन्छन् । ती मानिस हिजो मात्र मलेसियाबाट काठमाडौँ आइपुगेका भनिएको छ । त्यस रात उनले सबै साथीहरूलाई ‘फ्री’ मा रक्सी पिलाउँछन् ।
रक्सीले मातेर साथीहरू झगडा गर्न थालेपछि उनले सबै रक्सीका बोतल बटुलेर झोलामा हालेर हिँड्छन् । अनि बाटोमा भेटेका जो–कोही मानिसलाई बाँड्छन् ।
फिल्ममा देखिएको यी जडिया पात्रले विदेशबाट फर्केका मानिसहरूको नकारात्मक प्रवृत्तिलाई देखाएको छ । खाडी मुलुकको तातो घाममा रगत, पसिना बगाएर कमाएका पैसाहरू स्वदेश फर्किएपछि फजुल खर्च, मोजमज्जा र मद्यपान सेवन गरी उडाउने नेपालीहरूको प्रवृत्तिलाई फिल्ममा देख्न सकिन्छ ।
त्यहाँ उपस्थित भएका सम्पूर्ण पात्रहरूले उपत्यका रहेका आप्रवासीको कथा भनेको छ । कुनै पनि पात्रहरू बिना कारण उपस्थिति भएका छैनन् । त्यसैले लेखकले पात्र चयनमा एकदमै ध्यान पुर्याएका देखिन्छ ।
फिल्ममा भएका घटना र दृश्यहरूले जीवनभरि समस्या त आइरहन्छन् तर खुसी हुन् प्रयत्न गरिरहनुपर्ने सन्देश दिएको छ । त्यसपछि सबै ठिक हुने भनेको छ । समय र परिवेश अनुसार मानिसको स्वभाव पनि परिवर्तन गर्न आव्हान गरिएको छ । यदि समय अनुसार परिवर्तन हुन नसक्दा अन्य मानिसहरूको बोली र स्वभावका कारणले दुःखी हुन पुगिन्छ । असल र खराब बिचको फरक छुट्टाएर त्यसै अनुसार व्यवहार गर्दा सफलता भइने भाव फिल्ममा व्याप्त छ ।
जीवन एउटा चमत्कार हो । जहाँ कसैलाई भेटिन सक्छ, छुट्टिन सक्छ । पिडा हुनसक्छ, हर्ष हुनसक्छ वा पिडा, हर्ष दुवै हुन सक्छ । तर जीवनभन्दा पनि ठुलो चमत्कार समय हो र समयसँगै सबै घाउहरू निको फिल्ममा भनिएको छ ।
‘महानगर’ एक रातको कथा हो । फिल्ममा भएका सम्पूर्ण घटनाहरू एक रातमा घटेका हुन् । ‘महानगर’ को सम्पूर्ण दृश्यहरू काठमाडौँमा नै खिचिएको हो । फिल्मको भाषा नेपाली र केही अङ्ग्रेजी शब्दको प्रयोग गरिए पनि सरल र सुबोध्य नै रहेको छ ।
तर यसको कथावस्तु र फिलोसफी बलियो भए पनि प्रस्तुतिको गति भने धेरै ठाउँमा सुस्त देखिन्छ । यहाँ वर्णित गरिएको कतिपय घटनाहरू दृश्यमा नदेखिँदा कथाको मर्म आउनुपर्नेजति नआइपुगेको भान हुन्छ । चरित्रहरू कतै कतै अति नै आदर्शवादी पनि लाग्छन् ।
यो पनि पढ्नुहोस्: महानगर सबैको लागि हुनुपर्छ : मोहन राई