राजनैतिक पार्टीहरूले कलालाई प्रयोग हैन दुरुपयोग गरेका छन् : विमल सुवेदी
त्यति बेला माओवादी जनयुद्ध चलिरहेको थियो । विमल सुबेदी सिन्धुलीमा प्लस टु पढ्थे ।
उनीहरूको कलेजमा हरेक शुक्रवार हाजिरी जवाफ, वक्तृत्वकला अनि विविध सांस्कृतिक कार्यक्रम हुन्थ्यो । बेलाबेला नाटक पनि देखाइन्थ्यो । त्यस्ता कार्यक्रमहरूमा उनी कि त आयोजक हुन्थे कि त सहभागी ।
त्यस्तै एउटा शुक्रवारको कुरा । उनीहरू सडक नाटकको तयारीमा थिए । कलेजको स्वतन्त्र विद्यार्थी युनियनका माओवादी निकट विद्यार्थी सङ्गठनका एक नेतालाई कार्यक्रम हुने अगिल्लो दिन पक्रिएर लगेको कुरा थाहा भयो । ती उनका पनि साथी थिए ।
उनीहरूको कार्यक्रम रोकियो । नाटक गर्न छोडेर उनीहरू सबै जना प्रहरी कार्यालय घेराउ गर्न पुगे ।
अर्को प्रसङ्ग उनी काठमाडौँ आएपछिको हो ।
राजा ज्ञानेन्द्रले शाही कू गरेका थिए । संसद् विघटन भएको थियो । त्यो बेला राजाले नगरपालिकाको निर्वाचन घोषणा गरे । उनी त्यो बेला नाटक सिकिरहेका थिए । सङ्घर्षरत थिए । बेलाबेला सडक नाटक गर्ने काम आउँथ्यो ।
त्यसै क्रममा रवीन्द्र सिंह बानियाहरूले एउटा प्रोजेक्ट पारे थिए । काठमाडौँ, भक्तपुर, ललितपुर, लगायत स्थानहरूमा भोट गर्न जाऊँ आशयको सन्देश दिने काम थियो ।
पार्टीहरूले उक्त चुनाव बहिष्कार गरेका थिए । उनीहरूलाई प्रस्तुति गर्न नै खतरा हुन थाल्यो ।
प्रोजेक्ट आधा गरेर बिचैमा रोकियो ।
उनीद्वारा निर्देशित विपी कोइरालाको जीवनमा आधारित नाटक ‘सान्दाजुको महाभारत’ थिएटर भिलेजमा मञ्चन हुँदै थियो । ठुलो स्केलमा नाटकको तयारी थियो ।
त्यही बेला भारतको नाकाबन्दी भयो । अलिअलि गर्दै कलाकार नै आउन नसक्ने अवस्था भएपछि नाटक बिचैमा रोकियो ।
उनको नाटक यात्राको क्रममा यस्ता धेरै राजनैतिक कारणहरू अवरोध बन्न आइपरेका छन् । यस्तो आजसम्म नेपालभित्र थियो ।
यसपालि नेपालबाहिर पनि पुग्यो ।
उनी गएको वर्ष भारतको मणिपुरमा नाटक बनाउन गएका थिए । एनएसडीमा सँगै नाटक पढेका उनका साथी भिक्टर थौडमले त्यहाँ अकोका थिएटर चलाइरहेका थिए । उनीहरू सँगै काम गर्ने अवसर खोजिरहेका थिए ।
त्यसै क्रममा भिक्टरले एउटा ग्रान्ट सँगै अप्लाई गर्ने कुरा निकाले । निर्देशन विमलले गर्ने गरी । अभिनय उनले गर्ने गरी ।
विमललाई एउटा कथा फिल्म बनाउन मन थियो । भुटानी शरणार्थीको कथामा थियो त्यो । उनले आफूलाई त्यसलाई बनाउन मन लागेको कुरा सुनाए ।
लेखेर पठाए ।
भिक्टरलाई मनपर्यो । त्यसलाई कन्सेप्टलाई विकाश गर्दै लैजाने पद्धतिको नाटक ‘डिभाइस प्ले’ मार्फत बनाउने कुरा भयो ।
तर नेपाली भएकाले उनले निर्देशक भएर आवेदन दिन मिलेन । दुबै जना को डाइरेक्टर र राइटर भएर आवेदन दिए ।
त्यसले प्रतिष्ठित सेरेनिभिटी ग्रान्ट अवार्ड पाउने भयो । सँगै ब्ल्याक बक्स ओक्लाको लागि पनि छानियो । ब्ल्याक बक्स ओक्ला थिएटरको ब्याकग्राउण्डबाट गएका कलाकारहरूले कुनै बेवास्ता गरिएको ठाउँ लिएर नाटक बनाउने ठाउँ सिर्जना गरेको हो । त्यसको लागि नाटक बनाउन चाहनेले स्क्रिप्ट अप्लाइ गर्नुपर्छ अनि अनेक अन्तर्वार्ताबाट छानिएपछि उनीहरूले नै बस्ने, खाने, नाटक निर्माण गर्नेदेखि दर्शक खोजिदिने सम्म पनि गर्छन् ।
दिल्लीमा बसेर नाटक सो गर्ने । अनि मणिपुरमा पनि देखाउने । उनीहरूले यस्तै सोचेका थिए ।
तर कोभिड आयो । दुई वर्षपछि ब्ल्याक बक्स ओक्ला बन्द भइसकेको थियो ।
त्यसलाई के गर्ने भन्ने अन्योल भइरहेको बेलामा विमल आफैँ नै मणिपुर गए । भिक्टरको सानो थिएटर स्पेसमा काम थाले । थोरै खर्चमा कुनै सेट नराखी थिमाटिक काम गरे । कलाकारहरू शरीरमा खेल्न सक्ने थिए । आवाजको क्राफ्टमा काम गरे ।
कलाकारको शरीर, स्पेस अनि आवाज । पाँच जनाको सानो कास्ट । संवाद एकदमै कम । संवाद नहुँदा पनि मानिसहरूलाई अनुभूति गर्न मद्दत गर्ने ।
त्यस्तो नाटक बन्यो ।
त्यहाँ सो गर्ने बेलामा पनि मणिपूरणमा बन्दहरू भइरहेको थियो ।
त्यही नाटकले भारतको प्रतिष्ठित मेटा अवार्ड पनि जित्यो । मेटा अवार्डलाई एसियन रङ्गमञ्च दुनियाँको अस्कर जस्तै मानिन्छ । त्यो नाटक बनेपछि उनीहरूले अप्लाइ गरेको ठाउँमा कतै पनि रोकिएको थिएन ।
त्यसै क्रममा श्रीलङ्काको एउटा महोत्सवमा पनि छानियो ।
नयाँ ठाउँमा नाटक लैजाँदा पुनः पहिलाको जस्तै नै काम त गर्नु परिहाल्छ । उनी त्यसको लागि मणिपुर जाने बारेमा सोचिरहेका थिए । सल्लाह पनि गरेका थिए ।
त्यति गरेर नाटकलाई भिक्टरकै जिम्मा लगाउने सोचेका थिए । भारतीय सरकारले त्यसरी यात्रा गर्दा उताका रङकर्मीहरूलाई टिकट काटिदिन्थ्यो । नेपालबाट त्यस्तो कुनै सहयोग पाउने सम्भावना पनि थिएन ।
तर नाटक लैजाने तयारी गर्दै गरेको त्यही समय बिचमा मणिपुरमा समस्या हुन थाल्यो । भिक्टर त्यो बेला फिल्म सुटिङको लागि बैंगलोर गएका थिए । झन्डै घर नै फर्किन पनि गाह्रो हुने अवस्था आयो ।
कर्फ्यु लाग्यो । आवतजावत बन्द भयो ।
नागा, कुकी, र मैतेयी जाती बिचको द्वन्द्व फेरी सडकमा आगो बनेर फैलियो ।
त्यसले त्यो शहरमा बनिरहेको एउटा नाटकलाई छिमेकी देशको महोत्सवमा यात्रा गर्नबाट रोक्यो ।
उनीहरूले त्यति दुःख गरेर हुर्काएको नाटकले हिँड्न पाएन ।
‘यस्तो राजनैतिक वातावरणले कसरी कलाको कामलाई असर गर्छ ?’ मैले सोधेँ ।
‘हाम्रो जस्तो समाजमा कला भन्ने कुरा सबैभन्दा अन्तिममा सम्बोधन गरिने कुरा रहेछ । सबै थोक राम्रो भइसकेपछि आउने । तर त्यस्ता राजनैतिक द्वन्दको पहिलो असर भने यसलाई नै पर्छ । समाजमा कुनै कुराले असर गर्दा पहिला असर कलालाई गर्छ । तर समाधान गर्दा सबैभन्दा अन्तिम पालो कलाको आउँछ । संसारभर नै हेर्नुभयो भने जहाँ जहाँ राजनैतिक अस्थिरता भएको छ त्यहाँको कला उति समृद्ध हुँदैन । जुन देश गरिब छ त्यहाँ कला समृद्ध हुँदैन । यसमा भेटघाट गर्नुपर्ने अनि सामूहिक रूपमा काम गर्नुपर्ने थिएटर जस्तो कुरालाई त झनै असर गर्छ ।’ उनले भने ।
अनि थपे ‘पुगिसरी आएपछि मात्र कलालाई हेर्ने यो तरिका फेरिनुपर्छ ।’
त्यो तरिका फेर्नमा राजनैतिक पार्टीहरूको कस्तो भूमिका हुन्छ ?
राजनैतिक पार्टीहरूको पनि दोहोरो चरित्र छ । संसारभरि नै यस्तो छ । उनीहरू आफ्नो कुरालाई उठाउनु पर्दा जहिल्यै पनि कलाको मद्दत लिन्छन् । चाहे त्यो सङ्गीत होस् या साहित्य । तर त्यसलाई आफूले प्रवर्धन गर्ने ठाउँमा पुगेपछि भने कहिल्यै सिरियस्ली लिँदैनन् । हाम्रै आन्दोलनहरूलाई हेर्नुहोस् न । माओवादी युद्धमा सांस्कृतिक टिम पनि थियो । ती आज कहाँ छन् त ? राज्यसत्ता अथवा हरेक पक्षले कलालाई सिरियस कुरा भन्दा पनि मनोरञ्जनको साधनको रूपमा हेर्नेहरू छन् । दक्षिण एसियामा त यो अझ बढी छ । तपाईँ कुनै कार्यक्रम भएको बेलामा हेर्नुहोस् त । कि त गीत कि त डान्स गराइहरेका हुन्छन् । अडियन्सलाई तान्नलाई कला नै प्रयोग भइरहेको छ । म त्यसैले भन्छु कलालाई हरेक राजनैतिक पार्टीहरूले प्रयोग हैन दुरुपयोग गरेका हुन् । सायद त्यसैले पनि राजनैतिक द्वन्द्व पहिला असर कला, साहित्य, र संस्कृतिमा नै पर्छ ।
आँगनमै चलेको द्वन्द्वको कारण नाटक लिएर जान नपाएपछि तपाईँको भिक्टरसँग कुरा भयो ? उनलाई कस्तो लागिरहेको थियो ?
उ एकदमै डिप्रेस्ड थियो । बिचमा मैले कुरा गर्न खोज्दा पनि उसले कुरा गर्न चाहेन ।
युद्धको क्षेत्रमा भएका मान्छेको मनोवैज्ञानिक विकासलाई पनि असर गर्छ । उनीहरूलाई थोरै चिडचिड हुने वा एकान्तमा बस्न चाहने वा समाहित भइहाल्न डराउने भइरहेकै हुन्छ । अति संवेदनशील पनि हुन्छन् । भिक्टर लगायत मणिपुरबाट आउने धेरै विद्यार्थीहरूको काममा पनि त्यसको प्रभाव देखिन्थ्यो । सँगै दुखी बनाउने वा नराम्रो कुराहरू एकदमै स्किप गर्ने पनि हुन्छ ।
उसको अवस्था हेरेर म पनि दुःखी भएँ ।