मकालु फिचर

सेक्युरिटी गार्ड र इँटा मजदुर हुँदै गायक बनेका अलिफ खानको प्रेरणादायी कथा

वि.स. २०५० सालमा अलिफ खान गुल्मीमा जन्मिए । खासमा उनको घर तानसेन पाल्पा थियो । तर उनका आमाबुवा व्यापारी भएकाले त्यसकै सिलसिलामा त्यता पुगेका थिए । तर गुल्मीमा जन्मेता पनि उनी पाल्पामै हुर्के । दस कक्षासम्म उतै पढे ।

स्कुलमा हुँदा उनी गीत गाउने गर्थे । शिक्षकहरू उनलाई करियरको रूपमा गायनलाई अगाडि बढाउन प्रोत्साहन पनि दिई रहन्थे । उनलाई पनि रुचि त थियो तर ठ्याक्कै बाटो थाहा थिए ।

उनी रियालिटी सोहरू हेर्थे । त्यहाँ भाग लिएका सहभागीहरू सङ्गीत सिकिरहेको सुनाउँथे । त्यस्तै गाउन सक्ने बनाउने हो भने सङ्गीतको कक्षा लिनुपर्ने रहेछ भन्ने उनी सोच्थे ।

त्यसैले पनि सङ्गीत सिक्न भोकमा बोकेर उनी बुटवल पुगे । गायक सौगात सयारासँग महिनाको १५०० तिरेर सिक्न थाले ।

पहिलो वर्ष, घरबाटै सबै खर्च धानिदिएको भएर सहजैसँग बित्यो । तर समय बित्दै जाँदा परिवारप्रतिको जिम्मेवारी बोध उनलाई हुन थाल्यो । घरको आर्थिक अवस्था खस्किँदै गइरहेको थियो । यता आफ्नै ज्यान पाल्न पनि धौ-धौ पर्न थालेको थियो ।

उनलाई जागिरको खाँचो पर्‍यो । कामको खोजीमा भौँतारिन लागे ।

त्यही क्रममा उनले दोहोरी आइडलमा आवेदन खुलेको थाहा पाए । तर गायक बन्न बजाउन पनि सिकेको हुनुपर्छ भनेर कसैले भनिदियो । उनलाई आवेदन दिने आँट आएन ।

बुटवलमा गायक हुने सम्भावना लगभग सकियो ।

तर उनको सपना अटल रहेछ । भाग्यले त्यति चाडै बुटवलबाट बिदा हुन उनलाई दिएन । दोहोरी आइडलका प्रबन्धकले उनको समस्या थाहा पाएछन् । त्यसैले सुरुमा सुरक्षा गार्डको रूपमा काम गर्नुपर्ने अनि ठाउँ खाली भएपछि उनलाई राख्न सकिने खालको प्रस्ताव उनलाई गरे । अलिफ अक्क न बक्क भए । बन्न चाहेका थिए गायक, तर प्रस्ताव गार्ड बन्ने आयो । तर अर्को कुनै विकल्प पनि थिएन । उनी सुरक्षा गार्डको रूपमा काम गर्न लागे ।

गार्डको काम गर्न थाले पनि घरमा भने गायक भएको भनेर सुनाएका थिए । आमाबाबु निक्कै खुसी थिए । सबै कुरा मिल्दै गइरहेको थियो  । कामबाट सबै जना फर्किएपछि उनी आफैले बाजा बजाउन सिक्ने गर्थे र गीत गाउने प्रविधिलाई गहिरिएर सिक्थे ।

एक दिन उनलाई दाजुको फोन आयो । उनले गायकको रूपमा काम गरेको हेर्न बुटवल आउन लागेको बताए । उनी छाँगाबाट खसेको जस्तै भए । अब के गर्ने ?

उनी दौडिँदै प्रबन्धककोमा पुगे । एक दिनको लागी भए पनि आफूलाई गायकको रूपमा स्टेजमा राख्दिन अनुरोध गरे । प्रबन्धकले उनको अनुरोध स्वीकारे । दोस्रो दिन दाजु आउँदा उनी सुरक्षा गार्ड थिएनन्, एक गायक थिए ।

पछि उनी लोक तारा नामक रियालिटी गायन कार्यक्रम आउने भयो । उनी त्यसमा सहभागी भए । उपाधि पनि जिते । तर त्यसलाई जित्दा पनि उनी सोचे जति चिनिन सकेनन् । जित्दा र नजित्दामा खासै फरक भएन ।

त्यति बेलासम्म दोहोरी आइडलको जागिर छोडी सकेका थिए । रियालिटी सोले आफूले चाहेको कुरा नदिएपछि उनले लगातार तीन वटा एल्बम गरे जसमा उनको करिब ४ लाख खर्च भयो ।

एल्बमका लगानी सबै घरबाटै गरिदिएका थिए । तर एल्बम रिलिज गरेपछि पनि अगाडि बढ्ने बाटो भने खुलेन । उनलाई, सङ्गीत क्षेत्रमा आफूले लगानी गरे जति पैसा नहुने र मध्यम वर्गले साङ्गीतिक क्षेत्रमा केही गर्न सकिँदैन रहेछ भन्ने सम्म लाग्न थाल्यो ।

घरमा एउटा सिटामोल किन्नु भनेर पैसा पठाउन सक्ने सम्म हैसियत नभएपछि अलिफलाई घरबाट सहयोग लिनु हुन्न भन्ने लाग्न थाल्यो । अब जे गर्छु आफै गर्छु भन्ने सोचेर उनी पुनः कामको खोजीमा लाग्न थाले ।

एक दिन उनको साथीले कापी बनाउने ठाउँमा जागिर छ भनी बताए । मजदुरको काम रहेछ । खोजेको जागिर थियो । उनले त्यसलाई स्वीकारे ।

पाँच तल्ला माथि इट्टा र माटो ओसार्ने काम थियो । बेलुका घर फर्कँदा ज्यान दुखेर आफ्नै ज्यान हैन जस्तो महसुस हुन्थ्यो । दिनको चार सय कमाउने भएकाले हरेक रात कहिले अर्को गीत निकाल्न पैसा पुग्छ भन्दै उनी दिन गन्दै बस्थे । चाैबिसाै दिनमा गीत बनाउन पुग्ने पैसा निस्कियो । उनले जागिर छोडिदिए । र गीत निकाल्ने तरखरमा लागे ।

त्यसपछि उनले दुई तिन वटा गीत निकाले तर त्यो गीतको कुनै अर्थ रहेन । अलिफलाई बुटवलको सङ्घर्षले फल नदिएपछि, सङ्घर्ष त केन्द्रमा नै गर्नुपर्ने रहेछ भन्ने लाग्यो ।

अनि उक्लिए काठमाडौँमा ।

उनी साथीसँग केही पैसा लिएर काठमाडौँ आएका थिए तर त्यो पैसा यति चाँडै खर्च भयो कि काठमाडौँ मा टिक्न झनै नसक्ने रहेछु जस्तो उनलाई लाग्न थाल्यो । तर पाल्पा जाने रहर हुँदा हुँदै पनि उनी आफ्नो जन्मथलो फर्किने जमर्को भने गर्न सकेनन् ।

‘यत्रो ५ ६ ओटा एल्बम निकालेको म अब फेरि गाएर डोको नाम्लो गर्दा समाज ले के भन्छ ?’ भन्ने डरले उनी बुटवल मै फर्किए।

त्यसपछि उनले सङ्गीतकार को रूपमा काम गर्न थाले । त्यति बेला उनको टोली थियो र प्रति कार्यक्रम एक हजार कमाउने गर्थे । बिस्तारै उनले सङ्गीतकार को रूपमा राम्रो कमाउन थाले । हरेक कार्यक्रममा मानिसहरूले उनलाई नै बोलाउन थाले । बुटवलमा सङ्गीतकारको रूपमा स्थापित भइरहेता पनि उनलाई  भित्रभित्रै खाली महसुस हुन्थ्यो । गायक भएर काम गर्ने लक्ष्य राखेको केटा सङ्गीतकारको रूपमा स्थापित हुँदै गएको तर राम्ररी गाउनसम्म नआउनेहरू पनि उता काठमाडौँमा लोकप्रिय बन्दै गएको । अनि त्यही गायक गायिकाको पछाडि बसेर बजाउँदै गर्दा उनलाई भित्र-भित्रै आफूले गर्न नसकेको कुराले पिरोली रहन्थ्यो ।

त्यही पनि उनले पाँच वर्ष सङ्गीतकारको रूपमा काम गरिराखे ।

तर पाँच वर्षपछि, व्यावसायिक रूपमा बजाउने बाजा बजाउने विचार गरेपछि उनी फेरि काठमाडौँ आए । एरेन्जर बन्नको लागि उनलाई बजाउन साधन चाहिन्थ्यो । एक दिन आफ्नो सामान बेच्न चाहने त्यस्तै व्यक्ति भेटे । र बैङ्कबाट ऋण लिएर भए पनि वाद्य यन्त्र किने । किन्ने बेला बेच्नेले उनलाई बजाउन सिकाइदिन्छु भनेका थिए ।

तर बेचेको केही दिनमै उनी बेपत्ता भए ।

उनी अनजान सहरमा भर्खरै किनेको सामान सहित अलपत्र परे । सिप बिनाको औजार राखी बजाउन सिकाउने मान्छेको खोजीमा यता-उता भौँतारिए । तर कोही भेटेनन् ।  आस मारेर बाजाहरू घरमै थन्काए ।

वर्षभरि बैङ्कलाई ब्याज बुझाई रहे ।

त्यत्तिकैमा उनको भेट नेपालका चर्चित सङ्गीतकार दीपेश लामासँग भयो । उनले अलिफलाई एरेन्जिङ बारे सबै कुरा सिकाए । दीपेश लामाको सेसनपछि उनी आफैँ काम गर्न थाले ।

त्यसैको भरमा उनी काठमाडौँमा टिकिरहेका थिए तर परिवारलाई पैसा पठाउन भने अझै सकेका थिएनन् । तर खाना लाउन भने चलिरहेको थियो  । अझै उनी सन्तुष्ट भएका थिएनन् ।

तर त्यसरी पनि उनी राम्रै गर्न थालिसकेका थिए । गीत गाउनेसँगै एरेन्ज पनि गरिरहेका थिए । बिस्तारै मानिसहरूले चिन्दै पनि थिए । ठिक त्यही बेला कोभिडको लकडाउन सुरु भयो । संसार नै रोकिने अवस्था भए पछि उनी बुटवल गएर एक वर्ष जति बिताए । सबै सामान्य हुन थालेपछि काठमाडौँ फर्किए ।

उनलाई बल्ल सारा संसार रोकिएको महसुस भयो किनकि उनले आफ्नो सबै सम्पर्कहरू गुमाएका थिए । काम ठप्प थियो ।  फेरि एक पटक उनले उही सुरुबाट उठ्नु पर्ने भयो ।

जब उनको सबै प्रयासको बाबजुद केही हासिल गर्न असफल भए तब उनले हार मान्न बाध्य भए । उनले विदेश जाने निर्णय लिए र रोमनिया जानको लागि आवेदन दिए । तर कोभिडको कारणले त्यो ढोका पनि बन्द भयो । अनि त्यही लाचारी सुरु ।

उनी आफ्ना साथीहरूसँग कोठामा बस्थे । तर भाडा तिर्न नसकेपछि उनीहरूले पनि उनलाई निकाल्न खोजे । उनको ओछ्यान वा दराज बेचेर भए पनि भाडा तिर्ने चेतावनी दिन थाले । केही सिप नलागेपछि उनले आफ्नै समान सबै बेचिदिनु भने ।

समय यस्तो पनि आयो कि उनीसँग गाडी चढ्ने २० रुपैयाँ पनि हुन छोड्यो । एक दिन उनका दुई साथी काठमाडौँ आएका रहेछन् । उनी ती साथीलाई भेट्न अनामनगरदेखि बसपार्कसम्म हिँडेरै गए ।

उनले साथीलाई सबै कुरा सुनाए । उनीहरूले बुटवल फर्किएर त्यहाँबाट काम गर्न सुझाव दिए । काठमाडाैँमा पनि भविष्य नबन्ने देखेपछि उनी साथीहरू सँगै बुटवल फर्कने भए ।

जाने तयारी गरिसके ।

हिँड्ने दिन बिहान एउटा अन्तिम गीत रेकर्ड गर्ने काम बाँकी नै थियो । मनमा अनेक कुरा खेलाउँदै बिहानै उनी स्टुडियो पुगे । गाउनै सकेनन् । कति प्रयास को बाबजुद उनी आवाज नै निस्केन । केही सिप नलागेपछि पर्सि आउँछु भनेर फर्किए । त्यो अवस्थामा रुनु कि हाँस्नु भइरहे ।

तर भनिन्छ नि जे हुन्छ राम्रै को लागी हुन्छ । रेकर्डिङ सरेपछि उनी केही दिन काठमाडौँ नै बस्नुपर्ने भयो । झोला झम्टा पोको पारिसक्दा पनि उनले आफ्ना साथीहरूलाई जाँदै गर्न भने ।

उनी कुनै काम नभएको बेला प्रायः शान्त वातावरणमा बसेर गीत गाउने गर्थे । त्यस दिन पनि उनी घण्टाघरको छेउमा बसिरहेका थिए । गीत गाउँदै थिए । कमल सरगम नामका ​​एक जना सञ्चारकर्मी त्यहाँ नै रहेछन् । उनले उनको नजिक आएर केही प्रश्नहरू सोधे र गीत गाउन भने ।

उनले त्यहाँ खिचेको छोटो क्लिप अनलाइन खबरमा अपलोड भएछ । घर गएर हेर्दा २४ घण्टाभित्र २० लाखले लाइक गरिसकेका रहेछन् ।

यो एउटा सानो घटना अलिफका लागि ठुलो टर्निङ प्वाइन्ट बन्न पुग्यो । काठमाडौँ छोड्न दिन गन्दै बसेका उनी  विभिन्न मिडिया हाउस र गीतकारहरूको फोन आउन थाल्यो । उनलाई केही क्षण यी  सबै उनको कल्पना कात्रै हो भन्ने लाग्यो । तर वास्तवमै उनको जीवनले काँचुली फेर्दै थियो ।

त्यसपछि उनलाई पछाडि फर्केर हेर्नु परेको छैन । उनका ‘पानी कुवाको’, ‘झुम्के बुलाकी’, ‘झ्याले रुमाल बैना’ जस्ता थुप्रै गीत हरूले नेपाली आमजनताको मन जित्न सफल भएका छन् ।

अलिफको लाइभ दोहोरी भनेपछि सबै हुरुक्कै हुन्छन् ।

यतिका मायालाई शब्दमा बयान गर्न आफ्नो हैसियत नभएको उनी बताउँछन् ।

१२ वर्ष पछि खोला फर्किन्छ भन्ने उखान उनलाई आफ्नै जिन्दगीमाथि बनेको हो जस्तो लाग्छ । अहिले सफलताको चुलीमा आइपुग्दा पनि उनलाई फेरि तल झर्छु कि भन्ने कुनै डर छैन ।

उनी भन्छन्, ‘म इट्टा ओसार्ने काम देखी सुरक्षा गार्डको सबै काम गरेर सफलता चाख्न पाएको मान्छे,अब त जीवनले मलाई जस्तोसुकै चुनौती दियो भने पनि, म त्यसलाई खुसी खुसी स्विकार्न सक्षम छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *