जनावरलाई थापेको धरापमा परी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु
काठमाडौँ । खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु भएको छ । जंगली जनावरका लागि थापेको धरापमा परी धनगढी-३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको हो ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । धनगढी उपमहानगरपालिका-३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करिब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् ।
विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इन्स्पेक्टर बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।