सरकारले जग्गा दिए रंगशाला महानगरले बनाउँछ : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । श्रीलङ्कामा भएको नेपाल र भारतको क्रिकेट खेल हेरेपछि उनले यस्तो बताएका हुन् ।

श्रीलङ्कामा खेल हेर्दाको अनुभव बताउँदै बालेनले सो खेल भएको जस्तै स्टेडियम बनाउन जग्गा बाहेक ८०-९० करोड भन्दा बढी खर्च नलाग्ने बताउँदै सरकारले काठमाडौँ आसपासमा सय रोपनी जग्गा उपलब्ध गराएमा महानगरले स्टेडियम बनाउने बताए ।

  • उनले भनेका छन् :-

फ्यानको रूपमा क्रिकेट हेर्न श्रीलङ्का पुग्दा श्रीलङ्काको अध्यागमनको कर्मचारीको प्रश्न थियो, “यति धेरै नेपालीहरू एक्कासि श्रीलङ्का किन आइरहेका छन् ?” श्रीलङ्काको अध्यागमन चकित पर्ने गरिएको सङ्ख्यामा नेपालीहरू त्यहाँ पुग्दै थिए । त्यसपछि स्टेडियम पुग्दा देखियो, त्यहाँ ४०-५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरूको सङ्ख्या १५०० देखि २००० को बिचमा थियो । नेपाली क्रिकेट फ्यानहरू विभिन्न देशबाट श्रीलङ्का पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरूको मात्रै खर्च ३० करोड पुग्यो होला ।

टिभीमा देखिने विराट, रोहितहरूलाई आँखा अगाडि मैदानमा देख्न पाएका थियौँ । उनीहरूको हाउभाउलाई प्रत्यक्ष अनुभव गर्न पाइन्थ्यो । खेलको सुरुमा उनीहरूको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिन्थ्यो । विश्वकै उत्कृष्ट खेलाडीहरूमा नेपालसँग खेल्दा त्यस्तो हाउभाउ देखिनु अस्वाभाविक पनि थिएन । तर जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब त भारतीय खेलाडीहरूको हाउभाउ पुरै रक्षात्मक बनिसकेको थियो । ठिक त्यही बेला हामीले क्रिकेट जित्यौँ । अन्तिम नतिजा जे आए पनि हामीले यस पटकको एसिया कपमा पाउने जति पाइसकेका थियौँ ।

गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केही प्याराफिट र अलि बढी सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।

यसैले नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौँ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठुला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरी सकेको छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *