न्यायपरिषद्को बैठक छल्न खोजेको होइनः कानूनमन्त्री गुरुङ
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले आफुले न्यायपरिषद्को बैठक छल्न नखोजेको बताएका छन्।
मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले आफूले न्याय परिषद्को बैठक छल्न र भाग्न नखोजेको बताएका हुन्।
उनले आफू जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे।
उनले विगतमा कहिले प्रधानन्यायाधीश त कहिले आफू काठमाडौं उपत्यका बाहिर रहेको कारण न्याय परिषद्को बैठक बस्न नसकेको भन्दै बैठक नबस्नुमा आफूलाई मात्र आरोप लगाउन नमिल्ने बताए।
उनले बैठक बस्न नसक्नुको सन्दर्भमा एकले अर्कोलाई आरोपित पनि गर्नु नहुने बताए।
उनले न्यायपरिषद्ले आफ्नो कामलाई तदारुकताका साथ अगाडी बढाइरहेको भन्दै न्यायाधीश नियुक्ति छिटोभन्दा छिटो हुनुपर्नेमा जोड दिए। उनले न्याय क्षेत्रमा शुद्धीकरण अभियान चलाउनुपर्ने पनि बताएका छन्।
काबिल, क्षमतावान व्यक्तिहरुलाई न्यायाधीश नियुक्ति गर्नका लागि गहन छलफल भइरहेको दाबी मन्त्री गुरुङले गरे।