अभिनेत्री मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक
काठमाडौं । अभिनेत्री गौरी मल्लको तिज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ ।
मंगलवार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो । सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री द्वय वसुन्धरा भुसा, मिथिला शर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरु कुर्सीको लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरुप्रति व्यंग्य गरे ।
उनले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छारीहरुको रुपमा लिएको बताए । उनले दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उल्लेख गरे । उनले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताए ।
उनले अरुका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको बताए । उनले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुुनाए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताए । कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्रि मनमा अझै पुरानो याद आइरहने बताए । उनले गौरी मल्ल लेखेर र भनेर नभइ आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको बताए ।
वरिष्ठ अभिनेत्री गौरी मल्लले आफ्नो देशभन्दा ठूलो अरु केही नहुने बताउनु भयो । आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने बताउनु भयो । उहाँले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको बताए ।
अभिनेत्री मल्लकै स्वर शब्द र संगीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गर्नुभएको हो । म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ ।