हिटलरका सेना रोक्ने हल्याण्डका एक बैंकरको कथा भन्ने सिनेमा
इतिहासका घटनाहरू सरल रेखामा हुँदैनन् । सरल कथामा हुँदैनन् ।
त्यहाँ एउटा मात्र कथा हुँदैनन् । तीनमा एउटा मात्र हिरो हुँदैनन् ।
तर पहिला पहिलाको इतिहासले सकभर कथालाई एउटा पात्रको वरपर घुमाउन खोज्थ्यो ।
त्यसले उसको महिमा धेरै गाउँथ्यो । कमजोरी लुकाउँथ्यो । त्यसले उसको वरपर भएका अरू धेरै महत्त्वपूर्ण पात्रहरूलाई छायामा पार्थ्यो ।
त्यसले इतिहासलाई निक्कै परबाट मात्र हेर्थ्यो ।
लामो समयसम्म इतिहास लेखनले यस्तै गर्थ्यो ।
तर बिस्तारै त्यो कुरा भत्किन थाल्यो । इतिहास पढ्नेहरूलाई कसैको पक्षबाट लेखिएको एकोहोरो कथा बोरिङ लाग्न थाल्यो । त्यसले उनीहरूलाई सोच्ने ठाउँ नदिएको बरु धेरै कुरा लादिएको जस्तो हुन थाल्यो ।
त्यसपछि बल्ल इतिहासले छुटाएका पात्रहरूको खोजी गर्न थाल्यो । ठुला मान्छेको कथामा भन्न छोडिएका कथाहरूलाई भन्ने क्रम सुरु भयो ।
ती या त कुनै साहित्यका पात्र भर आए । या त कविताका बिम्ब । कुनै आत्मसंस्मरण भएर । कुनै अन्तर्वार्ता भएर । कुनै कसैले लेखेको व्यक्तिगत नोट भएर । कुनै कतै नलेखिएको तर कसैलाई सुनाएको सविस्तार भएर ।
ती सबै कुरा बिस्तारै मूलधारको भए । तीनले इतिहासको फरक फरक कोणहरू देखाउन थाले । तीनले ठुला पात्र मात्र थिएनन् भन्न थाले ।
जति लेखिएका थिए तीनलाई फरक आँखाले हेर्न थालियो ।
जति नलेखिएका थिए तीनलाई फरक तरिकाले लेख्न थालियो ।
यसरी नै इतिहासलाई विविधताको कोणबाट हेर्ने न्यु हिस्टोरिसिजमको जन्म भयो । यसरी पाखा लगाइएकाहरूको आवाज मूलधारको आवाज भयो । यसरी इतिहास अझै बृहत् भयो । अझै मानवीय भयो । अझै संवेदनायुक्त भयो । अझै प्रजातान्त्रिक भयो ।
देशभित्रको इतिहास पनि यस्तो भयो ।
अनि विश्वयुद्ध जस्तो ठुलो ठुलो घटनाहरू समेटेका विश्वको इतिहासहरूको पनि विनिर्माण भयो ।
यस्तै विनिर्माणमार्फत एक पात्राको कथा हो ‘द रेसिस्टेन्ट बैंकर’ । जसले दोस्रो विश्वयुद्धताका जर्मन नाजीको युरोप बिस्तारको रफ्तार रोक्ने एक हल्याण्डका बैंकरको कथा भन्छ । अनि उनको कथा मार्फत हल्याण्डमा चलेको प्रतिरोधको कथा पनि सुनाउँछ ।
योरम लेर्सन निर्देशित सन् २०१८ मा बनेको यो डच फिल्मले हल्याण्डमा भएको एउटा प्रतिरोधको सशस्त्र अभियानलाई आफ्नो कथाको केन्द्रबिन्दु बनाएको छ ।
भलराभन भन हल एक डच बैंकर हुन् ।
उसको कथा सुनेपछि विश्वयुद्धको असर मान्छे मर्ने वा भौतिक संरचना भत्किनेबाहेक कहाँ कहाँसम्म पुगेको रहेछ भन्ने थाहा पाइन्छ । त्यो बेलामा बैङ्क जस्ता कति धेरै संरचनाहरूलाई पुगेको क्षतिको आकलन गर्न पाइन्छ ।
अनि युद्धको क्रममा प्रत्यक्ष हतियार नउठाए पनि फरक फरक युद्ध लडेका यो फिल्मका बैंकर जस्तै अनेकौँ योद्धाहरूलाई सम्झिन पाइन्छ ।
यो फिल्मले भन्छ विश्वयुद्धमा सिपाही मात्र लडेका थिएनन् ।
उनीहरू एउटा अन्डरग्राउन्ड बैङ्क बनाउँछन् । आफ्नो बैङ्कमा भएको पैसा नाजीहरूको हातमा पुग्न दिँदैनन् । नाजीलाई सघाउने आफ्नै देशको रोस् भोन टोनिजन को विरुद्धमा लड्छन् ।
अनि प्रतिरोध अभियानलाई पैसा कम भएकै कारण हार्ने स्थितिबाट जोगाउँछन् ।
फिल्मको संवादमा उनका साथीहरू भन्छन् ‘हामी बैंकर हौँ रेसिस्टेन्ट फाइटर हैनौँ ।’
तर पनि उनी त्यसमा आफ्नो भूमिका खोज्छन् ।
युद्धको बेलामा लड्ने अनेकौँ तरिकाहरू हुन्छन् । कुनै आन्दोलनमा सहभागी हुने पनि अनेकौँ तरिकाहरू हुन्छन् ।
नेपालीमा एउटा जनवादी गीत चर्चित छ । त्यसको शब्दले भन्छन्,
‘हातमा कलम हुने हरू कलम लिएर उठ
बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ
हातमा केही नहुनेहरू आवाज लिएर उठ ।’
यो फिल्ममा ती भलराभन र उनका साथीहरू आफू जुन पेशामा छन् त्यही पेशामार्फत युद्धलाई बचाउन लड्छन् । आफू र आफ्नो परिवारलाई अनेक जोखिम हुन्छ भन्ने थाहा पाउँदा पाउँदै पनि पछाडि हट्दैनन् ।
फिल्ममा एउटा दृश्य छ जसमा भलरावन घरबाट निस्किन लागेका छन् । उनकी श्रीमती उनलाई भन्छिन् ‘म यसो नहोस् भन्ने त चाहन्छु तर तिमीले यो सबै काम गर्नुपर्छ ।’
उनले भनेको संवादले इतिहासका अरू धेरै त्यस्ता पात्रहरूलाई पनि योद्धाको रूपमा चिनाउँछ जसले यसरी नै आफ्नो परिवारबाट लड्न जानेहरूलाई सघाएका छन् ।
यो फिल्मले देखाएको सबैभन्दा ठुलो कुरा नै वैकल्पिक कथाहरूको खोजी तथा त्यसको सेलिब्रेसन हो । हाम्रो नेपालबाट पनि विश्वयुद्धमा धेरै मान्छे गएका थिए । हामीले तीनले पाएका भिक्टोरिया क्रसको कथा धेरै सुनेका छौँ । बहादुरीका कथा सुनेका छौँ ।
ती हेर्दा हेर्दै मिथ जस्ता भइगएका छन् ।
आशा छ हाम्रा फिल्महरूले कुनै दिन तीनको पक्षबाट कथाहरू भन्नेछन् ।
अनि यस फिल्म जस्तै अरू फिल्म जन्माउने छन् ।
किनकि,
इतिहासका घटनाहरू सरल रेखामा हुँदैनन् । सरल कथामा हुँदैनन् ।
त्यहाँ एउटा मात्र कथा हुँदैनन् । तीनमा एउटा मात्र हिरो हुँदैनन् ।
ट्रेलर हेर्ने लिंक: