नेयमारले तोडे पेलेको रेकर्ड, भन्छन्– ‘सोचेकै थिइनँ’

काठमाडौं । ब्राजिलका फरवार्ड नेयमार जुनियरले फुटबलका सर्वकालीन महान खेलाडी पेलेको रेकर्ड तोडेका छन् । विश्वकप क्वालिफाइङ म्याचको बोलिभिया लाई ५–१ ले हराउने क्रममा नेयमारले नयाँ रेकर्ड कायम गरेका हुन् । अब उनी ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी बनेका छन् ।

हिजोको म्याचमा ३१ वर्षे नेयमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर उनले ६१औँ र ९३औँ मिनेटमा दुई गोल गरेर अपजश मात्र टारेनन्, नयाँ इतिहास रचे । योसँगै उनको अन्तर्राष्ट्रिय गोलको संख्या ७९ पुगेको छ ।

ब्राजिलका लागि १ सय २५ म्याच खेलिसकेका नेयमारले रोयटर्ससँग भनेका छन्, ‘मैले यो रेकर्डसम्म पुग्ने कल्पनासमेत गरेको थिइनँ ।’

उनले अगाडि भने, ’म आफूलाई पेलेभन्दा उत्कृष्ट हुँ भन्न चाहदिनँ । म सधैं आफ्नो कथा कोर्न चाहन्थेँ । ब्राजिलियन फुटबल र राष्ट्रिय टिमको इतिहासमा आफ्नो नाम लेख्न चाहन्थे । र, आज मैले यो गरेर देखाएँ ।’

पेलेलाई फुटबलका सर्वकालीन महान खेलाडी मानिन्छ । उनले ब्राजिलका लागि ७७ गोल गरेका थिए भने तीन विश्वकप जिताउने उनी एक मात्र खेलाडी हुन् । डिसेम्बरमा ८२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *