गौ वंश हत्याको विरुद्धमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन (तस्बिरसहित)
काठमाडौँ । पाल्पाको तानसेनमा गौ वंश हत्याको विरुद्धमा शान्ति र्याली सहित जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको छ ।
विश्व हिन्दु महासङ्घ पाल्पा र ओमकार परिवारको संयुक्त आयोजनामा निकालिएको विरोध र्यालीले तानसेन बजारका विभिन्न स्थानमा परिक्रमा गरेका थिए ।
धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरूलाई कारबाहीको माग गर्दै र्याली आयोजना गरिएको विश्व हिन्दु महासङ्घ पाल्पाका अध्यक्ष कमलराज पौडेलले बताए ।
र्यालीमा सहभागीहरूले तानसेन बजार परिक्रमा गर्दै गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँ लगायतका नारा लगाउँदै प्रशासन कार्यालय अगाडी कोण सभा गरेका थिए ।
देशमा गौ हत्या अन्त्य, गौ हत्या सम्बन्धी बनेको संवैधानिक कानुनको पूर्ण पालना, धर्मान्तरण रोकिनुपर्ने, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्नेलगायतका माग राखी दबाबमूलक शान्तिपूर्ण र्याली गरिएको हो।