एन्फा अध्यक्ष र महासचिवलाई बर्खास्तीको माग सहित निवेदन दर्ता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गरिएको छ ।
संस्थापन पक्षसँग असन्तुष्ट रहेका इतर समूह र गत निर्वाचनमा पराजित समूहले सोमबार एन्फाको केन्द्रीय कार्यलयमा एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्तावमा ४८ सदस्यले हस्ताक्षर गरेका छन् ।
उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दर्ता गराएको र एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले जानकारी दिए ।
असन्तुष्ट समूहले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउनका लागि निवेदन दिएको दाबी गरेका छन् ।
४० प्रतिशत सदस्यको निवेदनपछि अब २३ असोजसम्ममा विशेष साधारण सभा बोलाउनु पर्ने विधान उल्लेख छ । यदि साधारणसभा नबोलाएमा आफूहरूले साधारण सभा आह्वान गर्ने पनि सदस्यहरूले लेखेको निवेदनमा उल्लेख छ ।