आईजीपी कुँवर दुई एआईजीसहित कोरिया प्रस्थान
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर नेतृत्वको सात जनाको टोली कोरिया प्रस्थान गरेको छ।
साइबर अपराध प्रतिकार सम्बन्धी रणनीतिक पाठ्यक्रम विषयक कार्यशालामा सहभागी हुन सोमबार उनीसहित सात सदस्यीय टोली कोरिया प्रस्थान गरेका हुन्।
महानिरीक्षक कुँवर सङक्युनक्वान विश्वविद्यालय पिएमसीको आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म हुने कार्यशालामा सहभागी हुन गएका हुन्।
उक्त टोलीमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेकप्रसाद राई, मीरा चौधरी, प्राविधिक प्रहरी नायब महानिरीक्षक ई.फणीन्द्र बराल, प्रहरी नायब महानिरीक्षक विकाशराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्रबहादुर खत्री छन्।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।
उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदानप्रदान तथा छलफल हुने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।
साथै साइबर अपराधविरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजियम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम छन्।
प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम छ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।