मकालु अन्तर्वार्ता

‘दमिनी भिर’ले उठाएको सवाल आज पनि उत्तिकै सान्दर्भिक छ : निर्देशक इँगी होपो कोइँच सुनुवार

‘यहाँ दमिनी भीर नाटकको रिहर्सल कता हुँदैछ ।’

काठमाडौँ थापागाउँस्थित मण्डला थिएटर पुग्ने बित्तिकै एक जना दिदीलाई सोधेँ । 

‘रिहर्सल हुँदै छ एक छिन बस्दै गर्नु है ।’ दिदीले भन्नुभयो । म अलिक ढिलो पुगेछु । रिहर्सल हेर्न नपाइने भो भन्ने लाग्यो । 

तर यदि निर्देशकलाई भन्यो भने केही हुन्छ कि भन्ने पनि भयो । आखिर म उनीसँगै कुरा गर्न भनेर जाँदै थिएँ । 

नाटकका निर्देशक इँगी होपो कोइँच सुनुवारलाई फोन लगाएँ ।

‘रिहर्सल हुँदै छ भित्रै आउनुन’ उनले बोलाएपछि म भित्र जान पाउने भएँ । 

बिस्तारै ब्ल्याक बक्स भित्र पसेँ । चारैतिर अँध्यारोमा थियो । लड्छु कि भन्ने डर पो भयो ।

भित्र छिर्नासाथ अगाडी हेर्दा स्टेजमा बडेमानको भिरको स्वरूप बनाइएको देखियो ।

दमिनी भिर । 

कलाकारहरू धमाधम अभ्यास  गरिरहेका थिए ।

राजन मुकारुङद्वारा लिखित ‘दमिनी भिर’  उपन्यास पढ्दै गर्दा भिरको प्रसङ्ग कयौंपटक जोडिएको याद आयो ।

यस पटक भने सोही उपन्यासको नाट्यरुपान्तरण हुँदै थियो । निर्देशक सुनुवारसँग त्यसैको बारेमा मलाई कुरा गर्नु थियो । यो नाटक यो समयमा गर्नुको महत्त्व के हुन्छ बुझ्नु थियो । त्यसले के गर्न सोध्नु थियो । 

एकैछिनमा रिहर्सलको ब्रेक समय सुरुभयो । निर्देशक सुनुवार र म थिएटर बाहिर निस्केर कुरा गर्न थाल्यौँ ।

‘तयारी कस्तो हुँदै छ ?’

मैले थिएटरमा एकदमै व्यस्त माहोल देखे पश्चात् पहिलो प्रश्न यही सोधेँ ।

‘समय एकदमै कम छ । यसपालि नाटक गर्दा अलि हतार हतार नै भयो ।’ इँगी अलि हतारमै देखिन्थे । इमानदार सुनिए । 

‘भदौ २२ गते शुक्रवार देखि मञ्चन भइरहेको छ । आइसक्यो ।’ 

राजन मुकारुङले लेखेको दमिनी भिर २०६९ सालको मदन पुरस्कार विजेता किताब हो । त्यो किताब धेरै हिसाबले विशेष भएको थियो । 

‘यो नाटकले के काम गरेको छ ?’ मैले सोधेँ । 

‘नाटकले जात व्यवस्थाले ग्रसित नेपाली समाजको चित्रण गरेको छ। एउटै समाजमा रहेर केवल वर्गको आधारमा  भोग्नुपर्ने सङ्घर्षलाई देखाएको छ । विरासतमा बोकेर आएको सामाजिक संरचनात्मक लाभांशको दुरुपयोग र कथित उपल्लो जातले आफू भन्दा निरीहलाई गर्ने दमनलाई दर्साएको छ ।’

उनले बताए । 

निर्देशक सुनुवारले लेखक मुकारुङसँग विगतमा पनि काम गरिसकेका छन् । ‘जोखना’, ‘खुवालुङ’ जस्ता नाटकमा उनीहरूको सहकार्य भइसकेको छ । तर त्यो लेखक र निर्देशकको रूपमा भने थिएन । 

यो उपन्यास उनीसँग करिब दुई महिना अघि आइपुगेको हो । आफूले एक्लै निर्देशन गरेको पहिलो नाटक उनले बनाउनु थियो । सुरुवातमा त्यसैले पनि गर्ने कि नगर्ने भन्ने दोधारमा थिए । 

सफल भइसकेको कृतिलाई फेरि दर्शकसामु पस्कनु चुनौतीको विषय थियो ।

‘त्यसो भए किन दमिनी भिर नै गर्दै हुनुहुन्छ ?’

मैले उनलाई बिचमै रोकेर सोधेँ । 

‘उपन्यासले बोकेको सवाल र विभेद आज पनि उत्तिकै  सान्दर्भिक छ । बाह्र वर्ष पछाडि आइपुग्दासम्म पनि वर्गसंघर्ष कायम छन् । कतै तरिका बदलिएका होलान् । समाज शिक्षित भइसक्दा पनि विभेद प्रतिको चेत भने न्यून देखिन्छ ।’

अनि उनले पछिल्लो समयमा भएका सामाजिक र धार्मिक सहिष्णुता बिग्रिने खाले घटनाहरू सम्झिँदै भने ‘आजभोलि हेर्ने हो भने त समाज झनै धूर्वीकृत हुँदै छ। जात धर्म बिचको सहिष्णुता झनै भड्केको देखिन्छ । यस्ता समयमा नाटकले समाजलाई ऐना देखाउन  सक्छ ।’

सुनुवार नेपाली थिएटर जगतको लागि मात्र हैन सिनेमा क्षेत्रमा पनि अगाडि बढिरहेका छन् । तर आफूले गर्ने ती काममा पनि उनले कतै न कतै देशको वर्तमान परिवेशलाई नै समात्ने गरेका छन् ।

उनले ‘सेनाको चेली’ नामक चलचित्र पनि निर्देशन गरेका छन् । द्वन्द्वको कारण बिछोडिएका दिदी र भाइको सम्बन्धलाई देखाएका छन् । 

‘तपाईँले रोजेका कामहरूमा द्वन्दकै परिवेशलाई अटाएका हुँदारहेछन् । किन ?’ मैले सोधेँ ।  

उनी जीवन भोगाइले पनि यस्तै कथाहरूमा आफूलाई तानेको बताउँछन् । भन्छन् ‘हुर्कने क्रममा आँखा अगाडि देखेका दृश्यहरू म आफ्नो कामबाट देखाउन चाहन्छु । परिवर्तनका लागि गरेका लडाइँले साँच्चेँ परिवर्तन ल्यायो कि ल्याएन भन्ने प्रश्न जायज छ । तर आन्दोलनको डाेभ र बाछिटा भने अझै हराएका छैनन् भन्ने बुझाउन चाहन्छु ।’

‘फिल्म र नाटक निर्देशनमा के फरक रहेको पाउनुभयो ?’ 

कथावस्तु मेल खान गए पनि नाटक र चलचित्र निर्देशन भने नितान्त फरक रहेको उनी पाउँछन् । फिल्म बन्ने दौरानमा केही गल्ती भइहाल्दा पछि सच्याउने छट हुन्छ भने नाटकमा त्यसो गर्न मिल्दैन । तयार पारेको नाटक मञ्चन गर्दै गर्दा यदि गल्ती भइहाले त्यसलाई सच्याउने छुट हुँदैन । 

तथापि दुवैले दिने सन्देश पनि प्रस्ट हुनुपर्छ ।

उनको यो पहिलो निर्देशन रहेकोले नाटकले उठाएको विषय दर्शक सामु सही ढङ्गले पुगोस् भन्ने चाहन्छन् । ‘कलाको सौन्दर्य विषय उठान मात्र भएर त्यसले दिने सन्देश, मनोरञ्जन र त्यहाँभित्र भएका पात्रहरूको अवस्थाको सम्मिश्रणबाट पनि गर्नुपर्ने हुन्छ । नाटकको चरित्रहरू, उसको पहिरन हिँडाइ, बोलाइले पनि नाटकलाई बलियो बनाउँछ । नाटक बनाउँदै गर्दा नाटक कस्तो हुन्छ र नाटकले भन्न खोजेको के हो दुवैमा ध्यान दिनुपर्ने हुन्छ ।’

‘यो नाटक के हो ?’

‘यो नाटक विषय एकदमै मौलिक छ । यसको कथावस्तु अधिकांशको भोगाइ हो । आफ्नो वरपर वर्षौँ देखि उत्पीडनमा परेकाहरूको आवाज हो । नाटकले कथावस्तु मार्फत आफ्नो इतिहास देखाएको छ । सो कथावस्तुमा कहिँकतै आफूलाई भेट्न सक्छौँ ।’ 

उनको अनुसार आफ्नो अगाडि हुर्केको समस्यालाई नाटकमार्फत सम्प्रेषण गर्दा त्यसको गहिराइ बुझ्न अझै मद्दत गर्छ । नाटकलाई पर्दामा हेर्दै गर्दा चरित्रहरूमा आफ्नो कथा भेट्न सकिन्छ । 

उनी भन्दै जान्छन् ।

‘नाटकका पात्रहरू लच्छि, कान्छा हाम्रो कथा हुन् । चेतनको चरित्र निमुखा माथि गरिने प्रवृत्ति हो । आफूलाई सर्वोपरि ठान्नेहरू केवल जात के नाममा दमन गरिरहेका हुन्छन् । सोही प्रवृत्तिको चित्रण चेतनले  गरिरहेको हुन्छ । प्रेम जस्तो सुन्दर अनुभूति पनि समाजको परिधिले नाघेर अघि बढ्न सक्दैन । प्रेम परिबन्दमा बाँधिन्छ । एकल महिलाले समाजमा गर्नुपर्ने सङ्घर्ष, आफ्नो अस्तित्वको लडाइँ र विशेषगरी परिवारभित्रै रहेर गर्नुपर्ने क्रान्तिलाई नाटकले समेट्छ ।’

‘तपाईँ नाटक किन गर्नुहुन्छ ?’ म उनलाई व्यक्तिगत प्रश्न सोध्छु । 

‘मेरो लागि नाटक सन्तुष्टि हो ।’

उनी भन्दै जान्छन् । 

‘आफूलाई  नाटकमा भिजाउँदै गर्दा आनन्द महसुस हुन्छ । संयोगले भेट भएको सम्बन्धसँग आत्मीयता गाँसिएको छ ।’

उनी २०६६/६७ सालतिर साथीसँग पहिलो पल्ट नाटक हेर्न गएका थिए । 

त्यतिबेलासम्म नाटकको विषयको ज्ञान नै थिएन । रसियन कल्चर मा हेरेको ‘सरकारी निरीक्षक’ नाटकले उनलाई तान्यो । त्यसपछि सधैंजसो गुरुकुलमा गएर नाटक हेर्न थाले । बिस्तारै लगाव बढ्दै गयो । 

२०७०/७१देखि भने नाटकमै काम गर्दै आएका छन् । 

जीवनमा नाटक बनाउँछु भनेर नसोचेका उनले सुरुका दिनहरुमा धेरैखाले कामहरू गरे । फाइनान्स कम्पनीमा काम गरे । पोतेपसलमा काम गरे । 

नाटकप्रतिको लगाव चिन्न समय लाग्यो । तर चिनेपछि भने विगत एक दशकदेखि कलाक्षेत्रमा नै व्यस्त छन् । 

समाजमा महत्त्व राख्ने कामहरू गर्न पाएकोमा खुसी छन् । 

यो नाटकले विशेषगरी नाटकले नयाँ पुस्तालाई समेट्न खोजेको उनी बताउँछन् ।

‘त्यस्तो किन गर्नुपर्छ ?’ म सोध्छु । 

उनी भन्दै जान्छन् । 

‘आजको पुस्ताले केही हदसम्म नाटकको परिवेशलाई स्वयमले नभोगेको हुनसक्छ । आन्दोलनपश्चात् को पुस्तालाई आफ्नो इतिहास बुझाउने एकदमै जरुरी हुन्छ उनीहरूले केवल किताबमा पढेको इतिहासलाई दमिनी ले पर्दामा देखिरहेको छ ।’

नाटकमा लगभग १५-२० कलाकारहरू समावेश छन् । पुनम थापा, रियर राई, आकाश नेपाली, सूजाता गुरुङ, सुजु सुनुवार किराती, प्रतिना राई, सोनाम लामा, किरण चाम्लिङ राई र अन्य केही कलाकारहरूको अभिनय रहेको छ । प्राय सबै कलाकारहरूसँग उनले अगाडि नै काम गरिसकेका थिए । 

सबैको कामलाई नजिकबाट नियाली सकेको हुँदा कलाकार छान्ने प्रक्रियामा भने अप्ठ्यारो नपरेको सुनाउँछन् । 

नाटक समावेश गरिएको गीतहरूले पनि नाटकलाई अझ जीवन्त बनाएको छ ।

नाटक मञ्चन हुँदै गर्दा भने उत्साहित देखिन्छन् । दुई महिना काँधमा बोकेको जिम्मेवारी अब दर्शकसामु बिसाउने दिन आउनलागेको छ । 

यो लेख तयार भइसक्दा संभबत त्यो दिन पनि आइसक्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *