मकालु अन्तर्वार्ता

म चाहन्छु कर्नार्डको यो नाटकले दर्शकलाई प्रश्न गरोस्, चिन्तन गर्न बाध्य पारोस् : आकाङ्क्षा कार्की

ठ्याकै १२ बजेको थियो । म र मेरी साथी मिरा टेकु स्थित, ‘कौसी थिएटर’ मा पाइला टेक्यौ । 

वातावरण सुनसान थियो । मुख्य सडकको नजिकै भए पनि ठाउँ बाहिरी संसारबाट बिलकुलै अलग जस्तो । मलाइ साँचै थिएटर छिरे झैँ लाग्यो ।  

तेस्रो तल्ला सम्म सिडी चढिसक्दा सास फुलेर स्वा स्वा भइसकेको थियो । कति माथि रहेछ है भन्दै कुरा गर्दै जाँदा त “थाक्नु भयो कि कसो ?” भनी भित्तामा लेखिएको थियो । त्यसैको दाइने पट्टि “आइपुगी हाल्यो नि” भनिएको थियो । हामी दुवै मुस्कुराउँदै गर्दा रिहर्सल कोठाको दैलो अगाडि उभिइसकेका रहेछौ ।

नाटक का पात्र नाटकको तयारीमा नै मग्न थिए।

मलाई आकाङ्क्षा कार्की सँग आउँदै गरेको नाटक ‘वेडिङ एल्बम’को बारेमा कुरा गर्नु थियो । 

उनी निर्देशन गर्नमा व्यस्त देखिन्थिन् । हामीलाई देख्न साथ बस्दै गर्नु न भन्ने इसारा गरिन् । 

भित्र छिर्‍यौँ । कलाकारहरू कोही व्यायाम गर्दै थिए । कोही हातमा चुरोटको बट्टा लिँदै यता र उता गर्दै थिए । त्यसै बिच उत्सुकता पूर्वक करिब चालिस वर्षीय एक कलाकार हामी नजिक आए । 

‘यहाँहरूको सुभ नाम नि ?’ सोध्न लागे । उनी कलाकार आशान्त शर्मा रहेछन् । 

मलाई थिएटरमा संलग्न हुने मान्छेहरू को यही नम्र स्वभाव ,शान्त आचरण र  फरक जोसले आकर्षित गर्छ । 

केहीबेर पर्खिएपछि आकाङ्क्षासँग कुराकानी हुन थाल्यो । 

आकाङ्क्षा  विभिन्न नाटकहरू रूपान्तरण गर्न रुचाउँछिन् । लैङ्गिक समस्या, मानसिक स्वास्थ्य, नारीवाद जस्ता मानवीय पक्षलाई नेपाली नाटकहरूमा समावेश नगरिएको उनी पाउँछिन् । यद्यपि यी पक्षहरूलाई गिरीश कर्नाड जस्ता विदेशी नाटककारहरूले भने धेरै अगि सुन्दर ढङ्गले लेखमा उतारेका छन् ।  सोही लेखन नेपाली वर्तमान अवस्थासँग मेल खाने भएकाले ती नाटकहरू रूपान्तरण गर्न आवश्यक रहेको उनलाई लाग्छ । 

उनको नाटकसँग सानै उमेरमा परिचय भएको थियो । स्कुल समयमा नाटकसँग गहिरो मित्रता भयो । उनलाई नाटक गरिने कुरा हो भन्ने लाग्थ्यो । तर नाटक पढ्न पनि मिल्छ भन्ने ज्ञात धेरै पछि मात्र भयो । त्यो ज्ञात भएपछि उनलाई शैक्षिक रूपमा थिएटर पढ्नै पर्छ भन्ने लाग्यो र पढ्नका लागी राम्रो विद्यालयको खोजीमा निस्किइन् ।  तर नेपालमा पर्याप्त विकल्पहरू फेला भने परेन । 

नेपाली समाजमा नाटकको यस्तो अवस्था देखेर उनी निराश थिइन् ।

तर भनिन्छ नि, जहाँ चाहना त्यहाँ विकल्प । उनले बैंगलोरमा उत्कृष्ट पाठ्यक्रम फेला पारिन । मनोविज्ञान, साहित्य र थिएटर उनको प्रमुख रुचिका विषयहरू हुन पाउने भए । त्यस पाठ्यक्रमको पहिलो ब्याच बन्दै उनी पढ्न थालिन् ।

कहिलेकाहीँ उनीलाई त्यो पाठ्यक्रम केवल उनकै लागि सिर्जना भएको हो जस्तो पनि लाग्छ ।

उनले त्यहाँ व्यावसायिक रूपमा नाटक अभ्यास गर्ने मौका पाइन । त्यही क्रममा नाटकमा आफू भेटिन् । नाटक बनाउँदाको खुसी अरू कहीँ भेट्दिन रहेछु भन्ने थाहा पाइन् । 

नेपाली समाजमा धर्म र संस्कृतिको नाममा राखिएको नियमहरूले कसरी नेपालीहरूलाई बाधेको छ र सोही कारण हाम्रो समाज कति पिछडिएको छ भन्ने कुरा बैंगलोरमा पढ्दै गर्दा उनले बुझिन् । नेपाल फर्किदा आफूसँगै नेपालमा नयाँ दृष्टिकोण भित्राइन् । आफ्नो संस्कृतिको सम्मान गर्ने नाममा गलत कामलाई समर्थन गर्नुको सट्टा सामाजिक कुरीति माथि प्रश्न उठाउने नयाँ क्रान्ति सुरु गरिन् । जुन अभियान अहिले पनि जारी छ । 

सोही क्रान्तिको एक हिस्सा हो आउँदै गरेको ‘वेडिङ एल्बम’ नाटक ।

यो नाटक उनको सातौँ रूपान्तरण हो । भारतीय नाटककार, गिरीश कर्नाड दुरा  रचित यस नाटकले विवाहलाई एक सामाजिक संस्थाको रूपमा प्रस्तुत गर्दै अनेकौँ आयामहरू खोतलेको छ ।

‘यही नाटक किन ?’ म उनलाई सोध्छु । 

उनी नाटकहरू पड्न आफूलाई खुब रुचि हुने गरेको सुनाउँछिन् । भन्छिन् ‘हरेक नाटक पढ्दै गर्दा यो चाहिँ स्टेजमा उतार्न पाए हुन्थ्यो भन्ने भोक लागिरहन्थ्यो । ‘वेडिङ एल्बम’ मैले तीन वर्ष अगाडि देखेको हजारौँ सपना मध्यको एक सपना हो ।’

तर त्यति नजिकको सपना भएर पनि आफू कलाकार र निर्देशक दुवै भएकाले यसलाई गर्ने समय भने हत्तपत्ति जुरेन । यद्यपि यस पटक दसैँ पनि नजिकिँदै गर्दा विवाहको पाखण्डीपनलाई व्यङ्ग्यात्मक हिसाबले औँल्याउने सही समय भएकोले नाटक निर्माणको प्रक्रिया सुरु गरिन् । 

आदिवासी समुदाय आफ्नो संस्कृतिमा धनी भएको तर हिन्दु संस्कृतिका धेरै कुरा भने प्रतिगामी भएकोले  यसलाई प्रश्न नगरी चित्रण गर्नु यसको फुस्रो संरक्षण गर्नु मात्र हो भन्ने उनलाई लाग्छ । त्यसर्थ निर्देशकको रूपमा उनको उद्देश्य पनि प्रश्न गर्ने र श्रोतालाई चिन्तन गर्न बाध्य पार्नु हो । 

यो नाटकमा मध्यम वर्गीय सहरी ब्राह्मण परिवारको चित्रण गरिएको छ । यो परिवार शिक्षित, उदार र आधुनिक छ । यद्यपि ब्राह्मणहरूले विवाह र सांसारिक, गृहस्थ जीवनलाई उच्च मूल्य दिने भएकाले त्यस समुदायका कन्याहरूको लागि, विवाह सबैभन्दा महत्त्वपूर्ण जीवन-चक्र हो भनी सिकाइन्छ । दुई मन बिचको मिलनमा धन, वर्ग, यौन र परम्परा कसरी चटारो भनेर ठडिन्छ भन्ने नेपाली मानसिकताको बारेमा केही गहिरो मर्मस्पर्शी अन्तर्दृष्टिहरू नाटकको कथावस्तुका रूपमा आकाङ्क्षाले प्रस्तुत गर्न खोजेकी छन् । 

यो नाटक कर्नाडले लेखेको नाटकको रूपान्तरण भएता पनि संवादमा उनले आफ्नो वरपरको व्यक्तिगत अनुभव र अवलोकन भने थपेकी छन् । अनुवाद गर्दा नाटक ठ्याकै रुपान्तरण भाषाको कारणले हुन नसक्ने भएकाले, नाटक आफैमा फरक हुने भइहाल्यो । तर अझै नेपाली टच थप्नका लागि उनले आफ्नै बुबाले बोल्ने संवाद प्रयोग गरेकी छिन् । चरित्रलाई आफन्तको नाम दिएकी छिन् र चरित्रको व्यक्तित्वमा ‘राधे राधे’ जस्ता धार्मिक पक्ष थपेकी छन् । 

उनले अहिलेसम्म झन्डै १२ वटा नाटक निर्देशन गरिसकेकी छन् जसमध्ये ‘द क्लाइम्ब’ पहिलो र नेपालमा फर्किएपछि ‘योनिका कथा’ पहिलो नाटक थियो । यी सबै नाटकहरू मध्ये यो नाटक उनको पहिलो यथार्थवादी नाटक हो । ‘एनिमल फार्म’, ‘धूमधाम को घुमघाम’ जस्ता नाटकहरू, जनावर र प्रकृतिको बारेमा थिए तर यो नाटकमा सबै पात्रहरू मानिस छन् । 

सधैँ अरू अरू पात्रहरू खेल्दा खेल्दा कतिले त उनलाई ‘दिदी यस पटक चाहिँ मलाई मान्छे बनाइदिनु प्लिज ।’ भन्दै जिस्काउँथे पनि । 

‘यी दुई खाले नाटकहरू गर्नुमा फरक के हुन्छ ?’ म उनलाई सोध्छु । 

‘एक अभिनेत्रीका रूपमा म यथार्थपरक नाटकहरूमा सबैभन्दा बढी काम गर्न रुचाउँछु तर निर्देशकको रूपमा भने त्यस्ता नाटकहरूमा काम गर्ने ठाउँ धेरै भेट्दिनँ ।’ उनी भन्छिन् । 

उनलाई आफ्नो वरिपरिको सबै कुरा नियाल्न मनपर्छ । तर अभिनय गर्दा आफ्नै कलामा केन्द्रित हुनुपर्दछ । भर्खरै सकिएको कुमार नगरकोटीद्वारा लिखित ‘ट्रान्जिट’ नाटक गर्दा पनि उनलाई आफ्नो वरपर भइरहेको वातावरणबाट प्रभावित नहुन निकै गाह्रो भएको थियो । तर उनी यसलाई कमजोरी भन्दा पनि आफ्नो तागत रूपमा लिन्छिन् ।

ट्रान्जिट गर्दै गर्दा उनले अभिनय आफ्नो पहिलो माया हो तर निर्देशन नै मुख्य चाहना हो भन्ने महसुस गरिन् । 

यस्ता स-साना कुराहरूमा ध्यान केन्द्रित गर्नु एक  निर्देशकको विशेषता भएकाले उनी पछिल्लो समयमा निर्देशनमा बढी भिज्न लागेकी छन्।

‘ट्रान्जिट’ नाटकमा तपाईँले निभाउनुभएको महिला पात्र कौशी थिएटरमा आएर ‘वेडिङ एल्बम’  हेर्‍यो भने के भन्लिन् ?’

‘थ्याङ गड भविष्य प्रगतिशील छ। धन्न भविष्यमा यस्तो झमेला छैन ।’ उनले यति मात्र जवाफ दिइन् । 

‘तपाईँको प्राथमिकता के हो ?’ मैले अर्को प्रश्न सोधेँ । 

‘नाटक कस्तो बन्छ भन्दा नाटक ले के भन्छ भन्ने कुरा मेरो प्राथमिकता हो ।’ उनी जवाफ दिन थालिन् । भन्दै गइन् ‘ नाटकको माध्यमबाट नाटकले के बताउन चाहन्छ त्यो नाटकको चयन अघि पत्ता लगाउन महत्त्वपूर्ण छ भन्ने मलाई लाग्छ । एक चोटि नाटकले के भन्न खोज्छ भन्ने तय भएपछि बल्ल नाटक  स्क्रिप्टिङमा सर्छ । यद्यपि मलाई सबै राम्रो चाहिने भएकाले नाटक कस्तो बन्छ भन्ने कुरामा पनि उत्तिकै सचेत हुन्छु ।’

नेपाली समाजमा रहेका पितृसत्ता, लैङ्गिक भूमिका, समानता, सामाजिक मान्यता लगायतका हजारौँ पर्खालहरू भत्काउनुपर्ने उनको विश्वास छ । यी सबै कहिले भत्किने हो निश्चित छैन तर एक व्यक्ति, अभिनेता र  निर्देशकको रूपमा उनको विद्रोहको माध्यम नाटक भएको छ जहाँबाट उनले नेपाली सामाजिक परम्परालाई चित्रण मात्रै नभई , प्रश्न पनि गर्छिन् । 

नाटकको बारेमा कुरा गर्दा नाटकप्रतिको समर्पण र प्रेम उनको आँखामा छर्लङ्ग देखिन्थ्यो । नाटक मार्फत सामाजिक कुरीतिको विपक्षमा आवाज उठाउने उनले सुचारु गरेको यस क्रान्ति प्रेरणादायी सुनिन्थ्यो । सधैँ झैँ उनी असोज ४ मा आउँदै गरेको नयाँ नाटकको लागि उत्साहित थिइन् ।

‘तपाईँलाई नाटकसँग के अपेक्षा छ ?’ मैले बिट मार्न खोज्दै सोधेँ । 

 ‘यस नाटकले कुनै एक परिवार को गलत बुझाइको पर्खाल मात्र भत्काए नाटक सफल हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *