विदेशिएका नेपाली युवाको भविष्य नसोची देशको परिवर्तन सम्भव छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको बताए। उनले युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने बताए। उनले विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको जिकिर गरे।
उनले भने, ‘दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै नेपाली युवालाई भोलिका उत्तराधिकार मात्र होइन, वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको छ। हामीले एकातिर युवामा रहेको ज्ञान,सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपरेको छ भने अर्कोतिर युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी छ। विदेशमा रहेका लाखौँ नेपाली युवाहरुको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव छैन।’
प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताए। उनले न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपाल जस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने बताए।
उनले नेपालको शान्ति प्रक्रियाका बारेमा पनि सभामा सम्बोधन गर्ने बताए। साथै चीन भ्रमणमा नेपाल र चीनको दिव्पक्षी सम्बन्ध बिस्तार र नयाँ नाका खोल्ने र कृषि, शिक्षा, स्वास्थ्यका साथै कृषिमा आधारित उद्योग खोल्ने कुरा विशेष प्राथमिकतामा रहेको बताए।