डियर शाहरुख खान, तिमी अब साधारण मान्छे भइदेऊ
हुन त म साहरुख खान मनपराउने मान्छे हुँ ।
उनलाई मनपर्न थाल्नुको कारण यही भन्ने छैन । संभबत एसएलसी सकेर तराई झरेपछि भर्खरै भर्खरै बलिउड फिल्म हेर्न थालेको बेला उनका कुनै फिल्म आइपुगे । संभबत त्यो फिल्म ‘मै हुँ ना’ हुनुपर्छ वा ‘ओम शान्ति ओम’ ।
त्यसपछि ‘डिडिएलजे’ । त्यसपछि ‘डन’ । त्यसपछि ‘कल हो ना हो ।’ अनि ‘बादशाह’ । यस्तै यस्तै ।
मैले हिन्दी भाषा फिल्म हेरेर नै सिकेको हुँदा उनका फिल्म एक हिसाबले हिन्दी सिकाउने गुरु पनि भइदिए ।
तर मलाई शाहरुख खान यत्तिकै मात्र मन परेको हैन ।
फिल्ममा हिरोको रूपमा मनपराएपछि म उनलाई अन्तर्वार्तामा खोज्न थालेँ । उनले बोलेका कुराहरू सुन्न थालेँ । त्यहाँ त झन् उनी असाध्यै लोभलाग्दो सुनिए । कुनै कवि बोलिरहेको जस्तो भए ।
उनले कुनै अन्तर्वार्तामा फिल्ममा भएका आफ्ना सामर्थ्य खोतले । कमजोरी पनि स्वीकारे । कतै बिहेमा नाचेको कुरालाई आफ्नो व्यावसायीक जीवनको हिस्सा भने । जुनसुकै काम गर्न पछि पर्नुहुँदैन भनी सिकाए । कतै फ्लप भएका फिल्महरूलाई ढाकछोप नगरी फ्लप भएको स्वीकारे ।
स्विकार्न सक्ने मान्छे भएकाले मलाई उनी मनपरे ।
सुरुवातका हिन्दी भाषा सिकाउने फिल्मसँगै म फिल्मको भाषा सिकाउने फिल्म पनि हेर्न थालेँ । त्यो लटमा उनका दुई फिल्महरूलाई मैले असाध्यै प्रेम गरेँ । एउटा ‘माइ नेम इज खान’ र अर्को ‘डियर जिन्दगी’ ।
‘माइ नेम इज खान’मा उनी असाधारण गुणयुक्त एक साधारण मानिस बनेका छन् । जो मुस्लिम भएकै कारण छोराको हत्या भएपछि आफ्नो श्रीमतीले हिम्मत भए अमेरिकाको राष्ट्रपतिलाई भेट्नु भनेको भरमा लामो यात्रामा निस्किन्छन् । न्युयोर्कमा आतङ्ककारी हमला भएपछिको परिस्थिति त्यो फिल्ममा थियो । उनी अन्तिममा राष्ट्रपति भेट्छन् अनि भन्छन् ‘माइ नेम इज खान एन्ड आइ एम नट अ टेररिस्ट ।’
‘डियर जीन्दगी’मा उनी एक मनोपरामर्शदाता बनेका छन् । जहाँ उनी अनेक मानसिक पीडाले गुज्रिरहेकी एक युवतीलाई उनको बाटो पहिल्याउन सिकाउँछन् । उनलाई सानो सानो कुरा सिकाउँछन् ।
ती दुवै भूमिकामा उनी असाधारण देखिएका छन् । ‘माइ नेम इज खान’मा बरु उनले त्यो चरित्र बन्न धेरै बल लगाएको जस्तो देखिन्छ । कतै कतै साहरुख नै हुन् कि जस्तो पनि लाग्छन् । तर दोस्रो फिल्ममा उनी मनोपरामर्शदाताको रूपमा सहज देखिएका छन् । उनी जे हुन् त्यो भन्दा धेरै बन्नुपरेको जस्तो लाग्छ उनलाई त्यो भूमिका ।
अझ उनी यी दुवै फिल्ममा हिरो भएर फिल्म चलाउनै पर्ने स्टारडमको दबाबमा पनि देखिँदैनन् ।
यस्तो लाग्छ फिल्म आएको बेलामा अन्तर्वार्ता दिन जाने शाहरुख खान नै ती चरित्र हुन् । वा ती चरित्र नै शाहरुख खान हुन् ।
उनले बोलेको एउटा टेड टक सम्झिन्छु । त्यहाँ उनले मानवताको बारेमा बोलेका छन् । आफ्नो अभिनयको करियर र त्यसलाई तुलना गरेका छन् । त्यो उनले बोले मध्येको उत्कृष्ट स्पिच मध्ये एक लाग्छ मलाई ।
उनी भारतबाट विश्वभर चिनिने थोरै कलाकारमा पर्छन् ।
तर यति हुँदाहुँदै पनि उनका पछिल्ला केही फिल्महरू चलेका थिएनन् । अक्सर फिल्ममा जोखिम लिन रुचाउने उनले समयअगाडि नै केही फिल्म बनाएको भन्ने कुरा पनि आइरहेको हुन्छ । उनका ‘रावन’, ‘फ्यान’, ‘जिरो’ जस्ता फिल्म चलेनन् । तीनका नयाँ प्रविधि वा प्रयोग हुनुको अलावा स्क्रिप्टमा असाध्यै कमजोरी थिए । धेरै कमजोरी थिए ।
जुन उनले पनि स्वीकारेका छन् ।
उनलाई पछिल्लो समय ठुलो एउटा बुस्ट चाहिएको थियो । उनी जत्तिको स्टारडम भएको मान्छे पनि चल्ने फिल्म खोज्दै रोहित सेट्टीको शरणमा पुग्नुपर्यो । ‘चेन्नाइ एक्सप्रेस’ खेल्नुपर्यो ।
खेले ।
त्यसपछि आयो ‘पठान’ जसले बक्सअफिसका अनेकौँ रेकर्डहरू तोड्यो । उनको त्यो फिल्मलाई बहिष्कार गर्ने सम्मको प्रयास नभएका हैनन् । तर उनको स्टारडम अगाडि अरू सबै राजनैतिक हर्कतहरू हारे ।
उनी एक मुस्लिम कलाकार । उनको फिल्म नहेर्ने भनेर सामाजिक सञ्जाल तात्न पनि खोज्यो । तर फिल्म चलेसँगै सेलायो ।
‘पठान’ चल्दा म खुसी भएको थिएँ ।
र त्यही फर्किएको स्टारडमलाई बोकेर उनी फेरी ‘जवान’मा देखिएका छन् । त्यसलाई हेरेर फर्किँदा भने मलाई मिश्रित महसुस भइरहेको छ ।
किनकि यसमा मैले देख्न चाहेको शाहरुख खान देखिनँ ।
आजकाल मलाई मैले देख्न चाहेको शाहरुख खान स्वाभाविक उमेरको भइदिउन् जस्तो मलाई लाग्न थालेको छ । उनले अनेकौँ अन्तर्वार्तामा आफूलाई स्वीकारेका छन् । मलाई मनपर्ने शाहरुख खानले आफ्नो उमेरलाई पनि स्विकारिदिउन् जस्तो लाग्न थालेको छ । उनलाई थाहा छ अब उनका यी केही फिल्महरू फ्लप हुने छैनन् । ‘पठान दुई’ आउनै छ । ‘जवान दुई’ पनि पक्का नै आउँछ । उनी सँग अरू पनि धेरै ठुला फिल्महरू बाँकी छन् ।
उनका चल्ने धेरै फिल्महरू पनि आउने नै छन् ।
तर मैले हेर्न चाहेको शाहरुख खान त्यो ठुलो एक्सन वाला स्टारडमबाट कथा वाला स्टारडममा झरुन् जस्तो लागेको छ । उनी बलिउडलाई अगाडि बढाइदिनुपर्ने स्टारडम, ठुलो व्यापार गर्नुपर्ने स्टारडम, अनि आफ्नो पेस नै बिर्सिएर मानिस जस्तो मनपराउँछन् त्यस्तो नै गर्ने खाले बाध्यताबाट थाकुन् जस्तो लागेको छ ।
उनी महसुस गर्न निपुण छन् । अब महसुसको कथा खोजुन् । उनी नयाँ पुस्तासँग सजिलै घुलमिल गर्छन् । नयाँ पुस्ताको कथा भनुन् । सामाजिक कुरीतिहरू अनेक छन् । ती उनले देखेका छन् । उनी ती कथामा अडिउन् ।
उनी ‘डियर जिन्दगी’को मनोपरामर्शदाता जस्तो कुनै साधारण भूमिका छानुन् । उनी ‘माइ नेम इज खान’को खान जस्तो परिवारको संघर्षमा घुसुन् । उनी अभिताप बच्चनले खेलेको ‘पिकु’ जस्तो फिल्ममा आइपुगुन् ।
उनी अन्तर्वार्ताहरूमा जे गरिरहेका हुन्छन् त्यस्तै विषयसँग मिल्ने फिल्मतिर पुगुन् । उनी यस्तो फिल्म खेलुन् जुन उ भएकै कारण व्यावसायीक भएछ भने होस् तर त्यसले गहिरो प्रभाव पनि छोडोस् ।
उनले उठाएको विषयले कम्तीमा ‘थ्री इडियट्स’ ले उठाएको पढाइको विषयजस्तो महत्त्व पाओस् ।
‘जवान’ मा मैले केही कुरा पाएँ केही कुरा पाइनँ । यो फिल्ममा उठेका केही कुराहरू सान्दर्भिक नै थिए । जुन एक्सन जानरामा बनेको थियो त्यसलाई यसरी भन्दा पनि सुहाउने ठाउँ पनि थिए । यसले कसैलाई धम्किँ दिँदै कृषकहरूको आत्महत्याको कुरा सुनायो । अस्पतालहरूको दयनीय अवस्था देखायो । कतिपय बेला ताली बजाऊँ बजाउँको अवस्था पनि पार्यो ।
तर त्यो लामो समय अडिएन । किनकि त्यो विषय असाध्यै परबाट देखाइएको थियो । असाध्यै रफ्तारमा देखाइएको थियो । अनि एउटा पात्रलाई विकास गर्न अत्यधिक हिंसा देखाइएको थियो । ती दृश्यहरू कसरी भयो भनेर यति धेरै देखाउन खोजियो कि चरित्रको मर्म त्यसले बोकेन ।
शाहरुखकै एउटा फिल्म छ ‘स्वदेश’ । अमेरिकामा काम गरिरहेको एउटा पात्र भारत आउँछ । उ यताका समस्याहरू देख्न थाल्छ । उसलाई सानोमा पाल्ने काबेरीआमा छिन् । उनी एकदिन उसलाई जमिनको फसल उठाउन पठाउँछिन् । उ जान्छ । त्यहाँ फसल उब्जाउने कृषकहरूको दयनीय अवस्था देख्छ ।
‘जवान’मा कृषकहरूको दयनीय अवस्था भर्सेस ‘स्वदेश’का किसानको दयनीय अवस्था ।
मैले ‘स्वदेश’ अन्तिमपल्ट हेरेको वर्षौँ भयो । तर पनि मलाई ती परिवारको अनुहार याद छ । तीनले भोगेको पीडा याद छ । तर ‘जवान’ हेरेर फर्किएको केही समय पनि भएको छैन । ती परिवार मेरो स्मृतिबाट उडिसके ।
तीनले मेरो हृदयलाई चलाउनेगरि समय बिताएनन् । म चाहन्छु शाहरुख त्यस्ता चरित्रको नजिक जाउन् ।
हुन त एउटा कलाकारको सीमा हुन्छ । उसलाई गर्न मन लाग्ने कुनै काम हुन्छ । उसले व्यवसायलाई पनि सोच्नुपर्छ । मनोरञ्जन पनि दिनुपर्छ । अझ शाहरुखको मेकिङ रोमान्टिक हिरोको रूपमा भयो । रोमान्टिक हिरोको रूपमा भयो । त्यो कुरा पनि उनले सोच्नुपर्छ ।
तर मलाई किन किन अब साहरुखले थोरै अडिने विषयहरूलाई समातिदिए हुन्थ्यो जस्तो लागेको छ । बलिउडमा यसै पनि न्यारेटिभको समस्या छ । यसको आफ्नो भाषा पहिला पनि थिएन । अब त झन् दक्षिण भारतीय फिल्महरूको प्रभाव भइसकेको छ । कि त उग्र राष्ट्रवादी फिल्महरूको ।
‘जवान’मा नै पनि शाहरुखले दक्षिण भारतीय कलाकारहरूलाई राखेका छन् । त्यसको कारण चरित्रले मागेको भएर देखिन्न । कथाले कतै पनि त्यो माग्दैन ।
त्यो विशुद्ध व्यावसायीक प्रयोजन हो । त्यो व्यावसायीक प्रयोजनले यसबेला व्यापार गर्छ । पैसा पनि बलियो नै कमाउँछ ।
तर फेरि पनि उनको योगदानलाई सम्झिइने फिल्म त्यो बन्दैन ।
जसरी ‘चकदे इन्डिया’ ले उनको अर्को धार देखाएको थियो । त्यति पनि देखाउँदैन ।
हुन त शाहरुखलाई बजारले बनाएको हो । तर यदि नयाँ कुराको बजार बनाउन सक्ने यदि कोही छन् भने त्यो शक्ति भएको मान्छे उनै शाहरुख हुन् ।
मलाई आशा छ उनले यो कुरा सोच्नेछन् ।
मलाई वृद्ध बन्दै गएका उनी पनि उमेरले बुढो भए पनि चरित्रले बुढो हुन नपाउने रजनीकान्त नबनुन् भन्ने छ ।
उनले उमेरलाई स्विकारिदिए भने धेरै कथाहरूले उमेर पाउनेछन् ।