कोशीमा बहुमत जुटाउन एकीकृत समाजवादी फकाउँदै एमाले, राजेन्द्रलाई शेरधनले गरे आलोपालोको प्रश्ताव
कोशी प्रदेशमा विश्वासको मत जुटाउन नेकपा एमालेले एकीकृत समाजवादीलाई फकाउने प्रयास थालेको छ। पूर्वमुख्यमन्त्री शेरधन राईले राजेन्द्र राईलाई धरानमा भेटेर आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका हुन्।
उनीहरु दुवै नेताको घर भोजपुर हो । आइतबार राति धरानमा भएको भेटवार्तामा कोशी प्रदेश सरकार जोगाउने विषयमा छलफल भएको छ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधनले एकीकृत समाजवादीका सचिव राजेन्द्रलाई अहिले एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेका छन्।
अहिले हिकमत कार्की ठूलो दलको हिसावमा मुख्यमन्त्री नियुक्त भएका छन्। तर उनीसँग बहुमत छैन।
बहुमत जुटाउन सत्ता गठबन्धन भत्काउनु पर्ने बाध्यता एमालेलाई छ। यदी गठबन्धन भत्काएर विश्वासको मत पाउन नसके कोशीमा मुख्यमन्त्री पदमुक्त हुनेछन्।
धारा ५ मा सरकार बनाउन सत्ता गठबन्धनले मौका पाउँछ।
शेरधनले राजेन्द्रलाई अहिले हिक्मत कार्कीलाई विश्वासको मत दिन र पछि मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन्।
भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ। त्यसपछि धारा ५ अनुसार सरकार बन्न नसके कोशीमा मध्यावधी निर्वाचन हुनेछ।