मकालु अन्तर्वार्ता

दीपक रौनियारसँग सिनेमा, जनकपूर, गाउँ, मधेस र मधेसी चरित्रबारे लामो कुराकानी

किङ्स कलेज मुनी क्याफे कोड्समा बसिरहेको थिएँ । ह्वाट्सएपमा एउटा फोन आयो र कट्यो । 

सेभ भएको नम्बर थियो दीपक रौनियारको । 

दीपक रौनियार अर्थात् ‘हाइवे’ अनि ‘सेतो सूर्य’ बनाउने निर्देशक । उनको ‘हाइवे’ फिल्मले बर्लिन् अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएर ठुलो फेस्टिभलमा छनौट हुने पहिलो नेपाली फिल्म बनेको थियो भने ‘सेतो सूर्य’ले सिंगापुर इन्टरन्यासनल फिल्म फेस्टिभलमा उत्कृष्ट एसियन फिल्मको अवार्ड जितेको थियो । 

मलाई उनी नेपाल आएको थाहा थियो । केही समय पहिला ‘टेल योर स्टोरिज’ नामको प्रोग्राममा जाँदा उनीसँग भेट भएको थियो । त्यहाँ मधेसका महिलाहरूलाई स्क्रिप्ट राइटिङ सिकाइएको थियो । उनी पनि त्यसको मेन्टरमध्ये एक थिए । 

त्यसको समापनमा बोल्दै उनले यहाँसम्म आए पनि यहाँबाट अगाडि जान गाह्रो छ भन्ने आशयका कुराहरू गरेका थिए । अनि उनीहरूको कथा सम्झिएर रोएका थिए । 

एक निर्देशक भावुक हुनु ठुलो कुरा हैन । एक पुरुष रुनु ठुलो कुरा हैन । तर उनी जे कुराले रोएका थिए त्यो उनको अनुभवले सिकाएको कुरा थियो । उनले आफ्नो फिल्ममेकिङको यात्रामा झेलेका अनेकौँ झमेलाहरू अब नयाँ पुस्तामा पनि सर्छ कि भन्ने डर थियो । 

उनी अरू कसैको लागि रोइरहेका थिए । 

मैले उनको अन्तर्वार्ता गर्ने योजना पहिलादेखि नै बनाएको थिएँ । पोहोर चिनजान भएदेखि नै त्यसको बारेमा कुरा गरेको थिएँ । उनी काठमाण्डौँ आएपछि पनि पटक पटक कुरा गरेको थिएँ । तर जुरिसकेको थिएन । 

उनी त्यसपछि जनकपूर गए । आफ्नो नयाँ फिल्म ‘राजागंज’ खिचिभ्याए । मैले त्यो बिचमा फोन गरेर मिल्यो भने म जनकपूर आउँछु भनेको थिएँ । 

तर मेरो मौका मिलेन । 

त्यसपछि एकैपल्ट आज मिस्डकल आएको थियो । 

म फोन गर्नुपर्‍यो सोच्दै थिएँ, उनले नै उतैबाट फोन गरे । 

‘कता छौ ?’ सोधे । 

‘म बबरमहलमा छु दाइ । तपाईँ कता ? काठमाडौँ आउनुभयो ?’ मैले सोधेँ । 

‘अहिले भेट्न मिल्छ ?’ 

‘मिल्छ दाइ । कहाँ हुनुहुन्छ ?’

म खासमा क्याफेमा काम नै गर्दै थिएँ । तर उनको लागि समय मिलाउन नसक्ने गरी व्यस्त पनि थिइनँ । उनी बत्तिसपुतलीमा रहेछन् । हामी हिमालयन जाभामा भेट्ने भयौँ । 

केही समयमा म पुगेँ । पहिला पुगेछु । सामान राखेर ट्वाइलेट गएँ । 

फर्किँदा उनी बसिसकेका रहेछन् । उनी सँग एक जना मान्छे पनि थिए । 

‘उहाँलाई चिनेको छ ?’ उनैले सोधे 

मैले चिनेको रहेनछु ।

‘उहाँ राजेश विश्वकर्मा । मेरो फिल्ममा एडी गर्नुभएको थियो ।’

हामीले चिनजान गर्‍यौँ ।

केही समय अनौपचारिक गफगाफ भयो । उनले फिल्म खिच्दाको अनुभव सुनाए । आफूले सोचेको भन्दा राम्रो काम भएकोमा सन्तुष्ट भए । अनि सँगै मधेसको ल्याण्डस्केपको विविधताबारे चर्चा पनि गरे । 

बाटो नराम्रो भएको कुरा गरे । विकासको कुरा गरे । घरी दिक्क मान्दै भने ‘मधेसको त्यो गाउँमा त्यस्तो जीवनशैली छ । त्यहाँ जता क्यामेरा फर्कायो त्यता नै सेट छ । हाम्रा फिल्म विकास गर्छु भनेर बसेका मान्छेहरू भने फिल्म स्टुडियो बनाउने भनिलागेका छन् । के हामी स्टुडियोमा त्यो सबै कुरा बनाउन सक्छौँ ?’

अनि सँगै स्थानीय तहलाई फिल्म विकासमा कुनै चासो पनि नभएको कुरा भनी भ्याए । नेताहरू सँगै स्थानीय तहमा काम गर्ने कर्मचारीहरूमा कला चेत कम भएकोमा गुनासो गरे । 

भौतिक विकासलाई मात्र विकास मानिएकोमा चिन्ता माने । 

कलाकारमध्येकी एक पूर्व मिस नेपाल निकिता चाण्डकले राम्रो काम गरेकोमा सन्तुष्टि माने । 

खिच्ने काम सकिएपनि फिल्मको खास काम बल्ल सुरु भयो भने । 

केही समय त्यसरी गफिएपछि म द्विविधामा परेँ । मलाई उनको कुरा रेकर्ड गर्न मनलाग्यो । तर यत्तिकै भेट्न लागेका हौँ कि अन्तर्वार्ताको लागि भनेर पहिला नै नभनेकोमा अप्ठ्यारो पनि लाग्यो । 

तर गफ जता जान खोज्दै थियो त्यसलाई त्यतिकै छोडिदिन पनि मन लागेन । 

कुरा सुन्दै एकछिन अल्मलिएँ । 

अनि फिल्म सकिएको यो माहौलमा उनले जस्तो महशुस गरिरहेका छन् त्यो कुरा पछि कहिल्यै समात्न पाइन्न जस्तो भयो । त्यो कुरा जस्ताको तस्तै सुन्न पाए महत्त्वपूर्ण हुन्छ जस्तो भयो । 

एकपल्ट सोध्दा के बिग्रिएला र ? 

‘म तपाईँको कुरा रेकर्ड पनि गरौँ दाइ ?’ मैले हिम्मत गरेँ । 

उनले जवाफ दिनुभन्दा पहिला घडी हेरे । कसैलाई भेट्न जानु थियो क्यार । फोन हाने । उनीहरूलाई पनि त्यतै आउनु भने । अनि गफ गर्न थाले । 

‘फिल्म खिचिसकेर आएपछि तपाईँलाई आफू कस्तो लागिरहेको छ ?’ मैले सोधेँ ।

 ‘खिचडी दिमागलाई गाह्रो छ यार यो भन्नलाई । अहिले ठुलो रिलिफ भनेको सुटिङ सिद्धिएको छ ।’ उनी हाँसे अनि एकछिन फिल्म बनाउन कहाँबाट सुरु भएको थियो सम्झिए ।  

‘धेरैले भन्छन् स्क्रिप्ट फिल्मको मेरुदण्ड हो । पत्रिकातिर पनि यो कुरा आइरहेको हुन्छ । स्क्रिप्ट नै राम्रो लेख्दैनन् कहाँबाट फिल्म गतिलो बन्छ पनि भनिरहन्छन् । तर स्क्रिप्ट चाहिँ टेक्स्ट हो । टेक्स्ट जस्ताको तस्तै दृश्यमा अनुवाद हुँदैन । यो फिल्मको आधार चाहिँ हो ।’ 

उनलाई मुख्य कुरा चाहिँ निर्देशक आफू चाहिँ कति ओपन छ वा शब्दलाई भिज्युअलमा ट्रान्सलेट गर्ने क्रममा के के कुरा खोज्न सक्छ भन्ने कुरा महत्त्वपूर्ण लाग्दो रहेछ । यसपालि पनि त्यो कुरा फेरि पनि पुष्टि भएछ । सुनाए ‘लोकेसनमा गएपछि कति धेरै नसोचेको कुरा आयो । हामीले चरित्र हेर्ने कन्सल्टेन्ट राखेका थियौँ । त्यसले पनि कति धेरै नयाँ कुरा ल्यायो ।’

‘जस्तै ?’ मैले सोधेँ । 

‘जस्तो कि हाम्रोमा एउटा क्यारेक्टर अपहरणकारी छ । उ लुकेर बसिरहेको हुन्छ । लुकेर बसेको बेला उसको श्रीमतीले फोन चलाइरहेकी हुन्छे । उ फोन नचलाउन भन्छ । उनीहरूबिचको त्यो कुराकानी हुने ठाउँ हामी खोजिरहेका थियौँ । मलाई कुनै फ्याक्ट्री भए हुन्थ्यो जस्तो भएको थियो । पुरानो बन्द भएको फ्याक्ट्री । तर भेटियो सोचेभन्दा कति धेरै ठुलो फ्याक्ट्री । भेटेपछि त्यसलाई देखाऊँ न भन्ने कुरा भयो । पछि खिच्दै जाँदा त्यो थिमकै रूपमा प्रयोग भयो ।’

‘कसरी ?’

‘त्यो दृश्य खासमा उनीहरू कतै बसेर गर्ने चिज थियो । तर फ्याक्ट्री भेटेपछि ब्लकिङ नै चेन्ज भयो । बसेर गर्ने चिज नयाँ लोकेसनमा पुग्यो । सँगै बसेर छोएको वा एक अर्कालाई जिस्काउँदै गरेको कुरा एक अर्कालाई खेदाउँदै फ्याक्ट्रीमा दौडिएको कुरामा ट्रान्सलेट भयो । त्यसले उनीहरूमा भएको माया त देखायो नै तर बन्द भएको फ्याक्ट्रीको बृहत् रूप पनि सेटिङमा देखियो ।’ 

यो उदाहरणमार्फत उनले पात्रको आयाम भन्ने नयाँ कोण पाएछन् । अनि सँगै चरित्रको ब्याकस्टोरी देखाउने पनि बलियो बाटो भेटेछन् । 

‘फिल्ममा उक्त चरित्रलाई हामीले अपराधीको रूपमा चित्रण गरेका छौँ । उ अपराधी नै हो । उ किन अपराधी भयो भन्ने कुरा हामीले थोरै गरेका थियौँ । उसलाई के ले अपहरण गर्ने बनायो भन्ने कुरा गर्छौँ । तर प्रणालीगत रूपमा लामो कुरा गर्ने हो भने वा सबटेक्स्टको कुरा गर्ने हो भने त हाम्रो देशमा रोजगारी नभएर होला नि त । उ सँग अरू गर्ने काम नभएर होला नि त । उसको खाली दिमाग भएर होला नि त । बन्द फ्याक्ट्रि देखाउँदा त्यो कुरा आयो ।’

उनी गहन सुनिए । फिल्मको विषयलाई छोडेर देशको राजनीतिमा पुगे । 

‘हामीले नेपालमा कति धेरै कुरा पहिला उत्पादन गर्थ्यौँ । अहिले त्यो कुरा मर्दै मर्दै गएको छ । चिनी, चुरोट, पान परागदेखि ठुलो ठुलो कुरासम्म पनि बाहिरबाट ल्याउनुपर्छ । किन्नुपर्छ । हाम्रो त्यो भिन्नतालाई त्यो दृश्यले संरचनाको तहमा पुगेर देखायो । दृश्यलाई बल पुर्‍याउने त त्यो भिज्युअलले हो नि त ।’ 

उनले त्यो कुरा त्यसरी आउला भनेर कल्पना पनि गरेका रहेनछन् । सँगै फिल्ममा अर्को एउटा पात्र पनि रहेछ जसको ट्रिटमेन्ट पनि फिल्डमा गरेका केही कामले फरक पारेको रहेछ । 

‘त्यति बृहत् फ्याक्ट्री मैले रिसर्च गर्दा पनि भेटेको थिइनँ । तर भेटेपछि त्यसले दृश्यलाई बल पुर्‍यायो । यस्तै हामीले पुलिसको बारेमा लेख्यौँ । जति नै रिसर्चबाट पुलिसको बारेमा लेखे पनि म त पुलिस हैन । त्यो डिटेल्स म एक्लैले पाउनसक्ने कुरा भएन । हाम्रो बजेटले फुलटाइम कन्सल्टेन्ट हायर गरेर काम गर्न सक्ने स्थिति पनि थिएन । तर अहिले खिच्ने क्रममा भने सेटमा हामीले फूलटाइम पुलिसको मान्छे हायर गर्‍यौँ । जसले कलाकारलाई ट्रेनिङ पनि दिनुभयो । अनि सेटमा म सँगै बस्नुभयो । हरेक दृश्य इम्प्रोभाइज गर्ने क्रममा पनि धेरै मद्दत गर्नुभयो । संवाद बनाउँदा सहभागी हुनुभयो । त्यो हुनासाथ उहाँको अनुभव आउने भयो । एउटा इन्स्पेक्टर तयार हुँदा कसरी तयार हुन्छ वा उसले अपराधी पक्रिँदा कसरी पक्रिन्छ भन्ने पनि थाहा भयो । त्यसले भिज्युअल्ली मलाई पनि हेल्प गर्‍यो । पहिला मैले फिल्मको एककिसिमको ब्लकिङ सोचेको थिएँ भने उहाँसँग कुरा गरेपछि ए यो त फेक लाग्नेरहेछ भन्ने थाहा भयो । उसले यसो गर्छ भने मैले ब्लकिङ यसरी गर्न सक्नेरहेछु भनेर दृश्य पनि परिवर्तन भयो । त्यो सँगै फिल्म अझै यथार्थवादी भयो ।’

यति उदाहरण दिएसँगै उनले आफ्नो अनुभवलाई अझै कसिलो बनाउँदै भने ‘फिल्ममा ठुलो आइडिया पनि महत्त्वपूर्ण त छ तर फिल्मलाई पत्याउन लायक बनाउने त सानो आइडिया नै हो । सानो मोमेन्टले हो । जुन कुरा लेख्न सकिँदैन । म एकजनाले दश जना चरित्रको संबाद लेख्नै सक्दिनँ । मैले जतिसुकै गफ दिए पनि दश जनाको भाषा बोल्न त सक्दिनँ । त्यो कुरा त कलाकारसँग गरिने सहकार्यबाट नै आउने हो ।’

‘तपाईँ अरू बेला पनि यस्तै गर्नुहुन्छ ?’ मैले सोधेँ । 

‘मैले जहिल्यै यस्तै गर्ने हो ।’ उनी भन्दै गए ‘जति नै भनेपछि स्क्रिप्ट भनेको एउटा कोठामा बसेर लेखिने हो । त्यसले एउटा बेस त दिन्छ तर जीवन भने लोकेसनमा पुगेर कलाकारसँग भेटेपछि, रियल लोकेसनमा ब्लकिङ गर्न थालेपछि अनि त्यहाँका मान्छेसँग कुरा गर्न थालेपछि नै आउने हो । टेक्स्टलाई भिज्युअलमा लैजाने कुरामा वरपरको वातावरणले पनि फिल्मलाई प्रभाव पार्छ । यदि त्यो कुरामा हामी डाइरेक्टर खुल्ला हुन सक्यौँ भने धेरै नयाँ कुरा थपिन सक्छ । स्क्रिप्टको सबै कुरा छोड्दै जाने हो भने त्यसले धेरै कुरा बिगार्ला पनि तर आफूलाई चिन्ने हो भने यसले धेरैजसो फाइदा नै गर्छ । उ कति ओपन छ, उसले कति कुरा छोड्न सक्छ र कति कुरा एडप्ट गर्न सक्छ, एक निर्देशकको गुणस्तर र क्षमता देखिने ठाउँ पनि त्यही नै होला ।’

‘’सेतो सूर्य’ गरेको निर्देशक र यो फिल्म गरेको निर्देशक बन्दै गर्दा तपाईँले आफ्नो विकासलाई चाहिँ कसरी हेर्नुभएको छ ?’ 

‘सात वर्षमा एउटा मान्छे यसै पनि परिवर्तन हुन्छ । त्यो बेला मेरो समाज प्रतिको दृष्टिकोण एउटा थियो होला । अहिले त्यो परिवर्तन भएको छ । कति कुरा उस्तै पनि होला तर सन्दर्भ फेरिएको छ । कति कुरा अझै म्याचोर्ड हुँदै गएको छ । म अहिले देशभन्दा बाहिर बस्छु । अमेरिकामा फुलटाइम सिनेमा पढाउँछु । टाढाबाट हेर्ने कुरामा दृष्टिकोण धेरै कुरामा परिवर्तन भएको छ । जस्तो कि म यहाँ हुँदा नेताहरू कति भ्रष्ट वा देश कति खत्तम वा नेपाल नेताहरूले गर्दा बिग्रिएको भन्थेँ होला । तर अरू देशहरूलाई हेर्दा र बुझ्दा संसारका सबै देश नै त्यस्तै हो भन्ने थाहा हुन्छ । फेरी नेता भनेको हामीबाट नै आउने हो । उ हाम्रै समाजभित्रको मान्छे हो । अर्कालाई गाली गर्न सजिलो भएकाले हामीले उनीहरूलाई देखेको होला । तर नेता जति नै खत्तम त हाम्रो कर्मचारीतन्त्र पनि हो । खासमा घुमाउने त उनीहरूले हो । नेता त आउँछ जान्छ । कर्मचारी त सधैँ रहन्छ । नागरिकता दिन ढिलो गर्ने काम त नेता र कर्मचारीले गर्ने हो नि त । जिल्लाको मुख्य मान्छे त सिडियो हो नि त । हामीले सडक हेर्‍यौँ भने त्यहाँ कसैले बाटो छोड्दैन । तीन सेकेन्ड ढिलो भयो भने हर्न ठोकेर हल्ला मच्चाउँछ । हाम्रो एटिच्युड त त्यही नै हो । यहाँ कुर्सी कसैले छोड्दैन । बसमा एउटा टिकट छ भने त्यसमा बस्न हामी सबैलाई पेलेर जान्छौँ र बस्न तयार हुन्छौँ । त्यही मान्छे मन्त्री भएको हैन र ? अस्ति यो कुरामा मेरो बुबासँग कुरा भइरहेको थियो । उहाँ अमेरिकामा भ्रष्टाचार हुँदैन भन्नुभयो । मैले भनेँ ‘हुन्छ’ । तर हामीलाई थाहा नहुने भनेको सानो सानो कुरामा त्यहाँ प्रणालीले गाइड गर्छ । अमेरिकामा लाइसेन्स लिनुपर्‍यो भने यो यो डकुमेन्ट ल्याउनु लाइसेन्स बन्छ भनेको हुन्छ । हाम्रोमा प्रणाली बोल्दैन । त्यसलाई प्रमाणित गर्ने मान्छे बोल्छ । पाँच छ बुँदासम्म ल्याउनुपर्ने कुरा पनि अन्तिममा हाकिमको तजबिजले रोकिन सक्छ । त्यसैले सिधा काम हुँदैन । कागजको भरमा काम बन्दैन । नत्र त संसारभर सबै राजनीतिज्ञ उस्तै हुन् ।’

यो फिल्म बनाउँदा लोकेसन खोजेको बारेमा सुनाउनु न । कति समयमा त्यहाँ काम गर्न थाल्नुभयो ?’ मैले उनलाई फेरी फिल्मतिर नै फर्काएँ । 

‘हामीले जनकपूर, वीरगन्ज, विराटनगर, राजविराज जस्ता ठाउँलाई सम्भावित लोकेसनको रूपमा लिएका थियौँ । म लेख्नेक्रममा नै पनि ती ठाउँहरूमा पुगेको थिएँ । मलाई कोठामा बसेर फिल्म लेख्न सकिन्छ जस्तो लाग्दैन । म लेख्ने क्रममा नै लोकेसनमा पुगेर धेरै काम गर्छु । तर हामी सुट गर्न जाँदासम्म पनि जनकपूरमा नै बेस गर्छु भन्ने चाहिँ सोचेको थिइनँ । तर यसपालि गएर क्यामेराम्यानसँगै जनकपूर घुमेपछि चाहिँ बजेट र सहजताको हिसाबले हेर्दा एक ठाउँ बसेर काम गर्दा सहज हुन्छ भन्ने लाग्यो । त्यसैले पनि हामीले वीरगन्ज छोडेर जनकपूर छान्यौँ ।’

यति सुनाउनासाथ उनी फेरी बृहत् विषयमा फर्किए । 

‘म आफू हुर्किएको समाज भएर पनि होला मलाई त्यो गाउँ वा डिटेल्स हाम्रो समाजको स्क्रिप्टमा आएकै छैन जस्तो लाग्छ । त्यो समाजको टेक्स्चर, कल्चर आएकै छैन । धेरैलाई जनकपूर बाहिरबाट हेर्दा फोहोर लाग्ला । छ पनि । तर जनकपूरको आफ्नै चरित्र छ । मधेसी गाउँ र समाजको आफ्नै चरित्र छ । निक्कै वर्ष बाहिर बसेर फर्किएको हुँदा मलाई यो फिल्म बनाउनेक्रममा त्यो रिभाइभ पनि भयो । त्यसलाई पुनः क्रिएट गर्न पायौँ । त्यो समाज र त्यो छिमेक क्यामेरामा खिच्न पाउँदा मलाई पनि खुसी लाग्यो ।’

‘यो सिनेमा बनाउने क्रममा तपाईँले आफ्नो केही बायस वा पूर्वाग्रहहरू पनि भेट्टाउनुभयो ?’

‘म त्यो समाजमा हुर्किएको हुँ । म पक्कै पनि त्यसमा बायस छु । तर बाहिर बसेर आउँदा आफ्नो समाजको कमजोरी पनि थाहा हुन्छ । ती दुवैको बिचमा बसेर फिल्ममेकरको रूपमा के के कुरा देखाउन वा ल्याउन सकिन्छ भन्ने मुख्य कुरा हो । तर यसपालि ड्राइभ गरेर गइरहँदा चाहिँ यस्तो टेक्चर भएको गाउँहरू हाम्रो सिनेमामा किन अटाएको छैन भन्ने खट्किरह्यो । हामी किन जहिल्यै फिल्म खिच्ने भनेर पहाड दौडिन्छौँ ?

‘किन ?’ मैले सोधेँ । 

‘सायद समाजको अनुभव नभएर हो कि । समाजमा पसेको नभएर हो कि । म आफैँलाई पनि म पहिला किन आइन भइरहेको थियो । जबकि मेरो पहिलो सर्ट फिल्म त्यहाँबाट नै सुरु गरेको थिएँ । त्यो मिस चाहिँ यसपालि भइरहेको थियो ।’

‘किन जान पाउनुभएन ? यसको डिप लेयरमा के छ ? त्यो कथाको भ्यालिडेसन कसैले नदिएर हो कि ?’

‘मलाई चाहिँ आफ्नै समाजको बारेमा कथा भन्नको लागि इनसेक्युरिटी पनि भएर होला । मेरो आँट नै नपुगेर हो । सर्ट फिल्म त्यहाँबाट नै सुरु गरेँ तर त्यही समाजको कथा मैले अरू काममा ज्यादा ल्याउन सकिनँ । हुँदै नभएको पनि हैन । जस्तो कि ‘हाइवे’ फिल्ममा पनि त्यहाँकै प्रतिबिम्ब थियो । ‘ह्वाइट सन’ मैले पहाडमा सुटिङ गरेको भए पनि त्यसलाई बनाउने अनुभव वा हेर्न आँखा तराइबाट नै आएको थियो । तर आफ्नै व्यक्तिगत कथा गर्न चाहिँ आँट नपुगेर पनि हो । 

‘आँट किन आएन ?’

‘यो स्वाभाविक पनि हो । कुनै मेकरलाई आफ्नो समुदायको वा आफ्नै कथालाई पर्दामा उतार्न ठुलो आँट चाहिन्छ । त्यसलाई बायस भएर एउटै एंगलमा लगेर बनाउन पनि मिल्दैन । अनि अब्जेटिभ भएर पनि हेर्न सक्नुपर्छ । अनि समयक्रममा जुन कुरामा फिल्म बनाउनु अर्जेन्ट लाग्छ त्यही कुरामा फिल्म बनाउने हो । मलाई यो कुरा अर्जेन्ट लाग्नुको कारण चाहिँ हाम्रोमा माओवादी द्वन्द्व सकिएपछि चेतना वा मधेस आन्दोलन सकिएपछिको चेतनाको कारणले गर्दा पनि हो ।’

‘त्यो चेतना गाउँमा कति परिवर्तन भएको पाउनुभयो ?’ मैले यसपल्ट भने उनलाई फिल्मभन्दा बाहिरको विषयमा नै पुर्‍याएँ । 

‘पहिलाको गाउँ चाहिँ अहिलेको गाउँ हैन । पहिलाको जनकपूर र अहिलेको जनकपूरमा फरक छ । लुकको हिसाबले पनि । पहिला जनकपूरमा बाटैमा गु देखिन्थ्यो । अहिले केही सफा भएको छ । भने पढेलेखेको हिसाबले वा एक्सपोजरको हिसाबले पनि फरक छ । पहिला हामीले भेटेको एक्टर र अहिले हामीले भेटेको केटाकेटीहरूमा धेरै फरक छ । इन्टरनेटले पनि होला । उनीहरूको कन्फिडेन्स बढेको छ ।’

‘कोही एकजनालाई सम्झिनुहुन्छ ?’ 

‘थुप्रै सम्झिन्छु’ उनी भन्दै गए । फिल्मको विषय सँगै जनकपूरको नाटकको बारेमा पनि भन्न थाले । 

‘यसपल्ट मैले धेरैलाई देखेँ भेटेँ । तर पीडाको कुरा त्यहाँ भएको एउटा नाट्य संस्थाको हालत पनि खराब छ । नियमित नाटकहरू भएको छैन । त्यसैले कल्चरल्ली अगाडि बढ्न सकेको छैन । त्यहाँ त्यति ठुलो कल्चर छ । अरू फिल्ममेकरहरू आइपुग्नुपर्थ्यो । त्यस्तो र स्टोरी भएको मिथिला र भोजपुरी ठाउँ । त्यो नहुनुमा हामी सबैको कमजोरी छ । एक त राज्यले आँखा लगाउन सकेन । सँगै त्यहाँको लिडरसिपले पनि देख्न सकेको छैन ।’ 

तर उनले सबै नराम्रो कुरा मात्र देखेनछन् । केही राम्रो विषयहरू पनि देख्न पाएछन् । 

‘तर अडिसन गर्नेक्रममा अर्को सुन्दर देखेको भनेको छोरीमान्छेको कन्फिडेन्स हो । उनीहरू पहिलाभन्दा एकदमै धेरै फरक रहेछन् । केही वर्ष अगाडिसम्म मास्टर्स डिग्री गरेको छोरी मान्छे भेट्न सजिलो थिएन । अहिले थुप्रै जना थिए । कोही मास्टर्स डिग्री गरिसकेर पनि तेक्वान्दो सिकाइरहेका थिए । कोही आफ्नो आफ्नो पेसामा रहेर काम गरिरहेका थिए । फिल्म आएपछि तपाईँ देख्नुहुन्छ हामीले कलाकार को रूपमा पनि धेरै त्यस्ता महिलाहरूसँग छलफल गर्न पायौँ । आर्टिस्टहरू रहेछ वा काम गर्न सक्ने रहेछ भन्ने पनि देखिएको छ । केही समय पहिला अभिनास (‘लोरी’ फिल्मका निर्देशक) ले गरेको वर्कसपमा पनि त्यो कुरा त देख्नुभयो होला । अहिले महिला सचेतना बढेको छ । मैले मेरो कथा भनिनँ भने अरू कसैले गरिदिँदैन भन्ने चेतना भने बढेको रहेछ । त्यसलाई अझै सपोर्ट गर्न सकियो भने धेरै कुरा हुन सक्ने रहेछ ।’

उनी नराम्रो कुरामा जस्तै राम्रो कुरामा पनि पुनः बृहत् विषयमा फर्किए । 

‘सङ्घीयताले वडा वडासम्म शक्ति पुर्‍याएको छ । त्यसले कन्फिडेन्स दिएको हुन सक्छ । आफ्नो वडामा के काम भइरहेको छ वा बजेट कसरी बाँडिएको छ देखि कुनै कुरामा चित्त नबुझ्दा आन्दोलन गर्न गइहाल्ने काम पनि भइरहेका नै हुन् । बोल्न जानेका छन् । प्रश्न सोध्न सक्ने भएका छन् । मेरो भाषा हो यो यसलाई मैले बोल्नुपर्छ । उ नेपाली बोल्ने मान्छे नै भए पनि मैले उसको अगाडि झुकिराख्नु पर्दैन । म उ सँग नेपालीमा बोल्न झुक्नुपर्छ भन्ने छैन । कोही मसँग हिन्दीमा बोल्न आयो भने देखि मैले त्यसलाई हिन्दीमा जवाफ दिनुपर्छ भन्ने छैन । मलाई कालो देख्ने बित्तिकै कोही हिन्दीमा बोल्न थाल्छ भने मैले त्यसलाई पछ्याउनुपर्ने छैन भन्ने चेत र आँट भएको मान्छे थुप्रै जना भेटेँ । जुन पहिला गर्दैन थिए ।’ 

‘तपाईँ ‘टेल योर स्टोरी’ प्रोग्राममा सहभागी दुई नम्बर प्रदेशका महिलाहरूको फाइनल स्क्रिप्ट पढ्ने कार्यक्रममा रुनुभएको थियो । अगाडि गाह्रो छ भन्नुभएको थियो । अहिले तपाईँले यति राम्रो कुरा देखिरहँदा तपाईँलाई रुनेगरि चिन्ता लागेको कुरा चाहिँ के के हो ?’ मैले उनलाई हाम्रो पछिल्लोपल्ट भेट भएको ठाउँमा पुर्‍याएँ । 

त्यसको जवाफ दिने बेलामा उनले फेरी एकपल्ट त्यो माहौल सम्झिए । संभबत त्यहाँ सहभागी भएका अनुहारहरू पनि सम्झिए । तीनले लेखेका स्क्रिप्ट सम्झिए । अनि हाम्रो देशको अवस्था पनि सम्झिए । 

‘हाम्रो सिने उद्योगमा सपोर्ट सिस्टम नै छैन । फिल्म बनाउनुपर्यो भने फण्डिङको लागि कहाँ एप्लाइ गर्ने ? अहिले उनीहरूलाई केही हप्ता एउटा संस्थाले ट्रेनिङ दियो । तर फर्किएर गएर काम गर्नुपर्ने त त्यहाँ नै हो । फिल्मले खान दिँदैन । कोही एफएममा काम गर्ने हो त्यहाँ फर्किनुपर्छ । कोही एनजिओमा । कोही हाउसफाइफ होला । घरमा नै काम गर्नुपर्छ । उनीहरूले टेक्निसियन खोज्दा डिल गर्न सक्ने टिम वा सुटिङ गर्ने बेला जम्मा पार्नसक्ने पैसा त एकदमै कम छ नि । मैले यो कुरा यसपालि जनकपूरको मेयरसँग पनि गर्न खोजेँ । त्यहाँको प्रशासकीय अधिकृतसँग कुरा गर्न खोजेँ । प्राय: कसैलाई पनि सिनेमाप्रति चासो छैन ।’ 

‘त्यसको कारण के हो जस्तो तपाईँलाई लाग्छ ?’

‘एक त बुझाइ पनि छैन । अहिले प्रदेश प्रदेशमा फिल्म बोर्ड बनाएको छ । त्यसको नाम त विकास बोर्ड हो तर के त्यसले फिल्म विकासको काम गरेको छ त ? त्यसले प्रशासकीय काम गरिरहेको छ । फिल्म बोर्डले विकास वा नीति बनाउने काम गरेकै छैन भन्दा पनि हुन्छ । देशकै बोर्डको अवस्था यस्तो छ । स्थानीय तहबाट फिल्मलाई विकास गर्ने कुनै मेकानिजम छैन । अनि गाली गर्नेखालका फिल्म आउँदा गाली गरेर मात्र के हुन्छ ? हामी रोप्न चाहिँ तयार छैनौँ तर सुन्तला मिठो भएन मात्र भनिरहेका छौँ । आजकाल अलिअलि बजेट त छुट्टिएको हुन्छ तर कुनै पनि नगरपालिकाहरूले आर्टमा एकदमै सिन्सियर भएर इन्भेस्टमेन्ट गरेका छैनन् ।’

अगिल्लो जवाफमा थोरै आशावादी भएका थिए । फेरी पुनः दुखी भइहाले । सायद यो हामी सबैको नियति नै हो । 

‘यो इन्डस्ट्रीमा एक जना प्रभावशाली महिला लेखक छैनन् । एक जना उस्तै राम्रो निर्देशक नहुनु । अरू त अरू एक जना फिमेल मधेसी प्रभावकारी लिडरोलमा छैनन् । मेललाई पनि मधेसी लिडरोल आजसम्म लेखिएका छैनन् । जब कि हाम्रो संस्कृति वा भाषाको हिसाबले हेर्दा ठुलो समूह त त्यहाँ छ ।’

‘यो किन भएन होला त ?’ म सँग उनलाई सोध्ने ‘किन’ प्रश्न आइरहे । 

‘एउटा त त्यो समुदायको बारेमा लेख्न त्यो समुदायको मान्छे चाहिन्छ । त्यो समुदायको विकास नभएर हो । अर्को चाहिँ त्यो समुदायलाई हिरो बनाउँदा फिल्म चल्दैन भन्ने भएर पनि हो । मार्केटले त के कुरा चल्छ भन्ने कुरामा चल्छ । व्यक्ति त व्यवसाय सोचिरहेको हुन्छ । हामी पैसालाई दोस्रो प्राथमिकतामा राखेर आर्टलाई पहिलो प्राथमिकतामा राख्दै फिल्म बनाउने त कति नै छौँ होला र ? मंगोलियन फेसकै कुरा गरौँ न हामी । कति वटा दयाहाङ राई छ र हामीसँग ? एउटा दयाहाङ राई चल्यो सबैलाई त्यही दयाहाङ राई चाहिएको छ । ( उनलाई पनि) अहिले पनि हाम्रो सौन्दर्यको चेत त अग्लो नाक र ठूलोठूलो आँखा मात्र त हो नि । त्यो सौन्दर्य चेत परिवर्तन भएको छैन । गोरो छाला । त्यो के ले सिकाएको हो भन्दा त फेरि पनि बलिउड ले होला । त्यही कुरा बाँडिएको छ । त्यो चेत परिवर्तन गर्न हामीले नै काम गर्नुपर्ने थियो नि त । नेताले, नीति निर्माताले, सरकारले वा पढेलेखेको समाजले । हामी त्यसमा चुक्यौँ होला ।’  

‘अहिले भइरहेका चरित्रहरूमा पनि धेरै स्टेरियोटाइप देख्छ । मधेसको चरित्र बनायो भने त्यो हुन्छ । यस्तो किन हुन्छ जस्तो तपाईँलाई लाग्छ ?’

‘त्यो मार्केटले चलाएको हो । एक बेलामा मह जोडीले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद् भवन) मा नाटक गर्नुभएको थियो । मैले त्यसको समीक्षा गरेको थिएँ । त्यो पढेपछि हरि दाइ र मदन दाइ मसँग केही समय बोल्नुभएन । उहाँहरूले धेरै राम्रो काम गर्नुभएको छ तर अपाङ्गलाई वा फरक क्षमता एकाहरूलाई उहाँहरूले जहिल्यै मजाकको विषय बनाउनुभयो । उहाँहरूले बनाएका ती सामाग्रीहरूले हामीलाई त्यस्ता मान्छे जोकका विषयहरू हुन् भन्ने भाष्य बनायौँ । त्यस्तै एक बेलामा शर्मिला मल्लको टाइममा कालो दलेर काली बनाइएको छ । त्यो उनीहरू रङप्रति संवेदनशील नभएको हो । अनि सँगै ह्युमरले चल्छ भन्ने बनावटी कुरा पनि भनियो । दीपक र दीपाले ‘रामबिलाश’ र ‘धनियाँ’ भन्ने चरित्र बनाउँथे । भाषा बिगारेर उडाउँथे । नेपाल भाषा बोल्ने एक जना नेवार पात्रलाई नेपाली बोल्न नसक्ने जसरी देखायो भने मान्छेहरू गललल हाँसिदिन्छन् । त्यसलाई हामीले त्यो चल्छ भनेर मार्केटको रूपमा बनायौँ । अस्ति भर्खरैसम्म पनि कान्तिपूर टेलिभिजनमा आउने कार्यक्रममा कालो दलेको मधेसी चरित्र आउँथ्यो । किन गर्‍यो भन्दा त्यो चल्छ भन्ने भयो । मान्छेले त्यसैलाई मनपराउँछन् भन्ने भयो । त्यो उसको मात्रै दोष पनि हैन । हाम्रो समाजले हामी आफैँलाई प्रश्न गर्नुपर्ने बेला हो यो । किनभने अरूपना वा ‘ओदर’ लाई उडाउने चलन छ । म काठमाण्डौ तेह्र वर्ष बसेँ । मलाई नेपाल भाषाको एउटा शब्द पनि आउँदैन । यो भन्दा मलाई लाज लाग्छ । दोषी महसुस हुन्छ । हामीले त्यसो गरेर इग्नोर गरेको हैन ? त्यो भाषाको केन्द्रमा बस्नु तर त्यो भाषाको एउटा शब्द पनि नसिक्नु । हामीलाई राज्यले के सिकायो ? हाम्रो शिक्षा प्रणालीले के सिकायो ? हामीले त्यो भाषालाई रेस्पेक्ट नै नगरेको हो । मैले नगरेको हो नि त । तर त्यो पनि मलाई यही समाजले सिकायो । यहाँ काम गर्न आउने एउटा अमेरिकन नेपाली भाषा सिकेर आउँछ । यहाँबाट मधेसमा काम गर्न जाने कति कर्मचारीहरूले मैथिली वा भोजपुरी भाषा सिकेका होलान् ? या ताप्लेजुङ जाँदा लिम्बु । जाँदैनन् नि त । त्यो भनेको हाम्रो राज्यले हामीलाई अरूको भाषा र संस्कृतिमाथि असंवेदनशील बनाएको हो नि त । त्यही भएर हामीले त्यसो गर्नुपर्ने आवश्यकता नै ठानेनौँ । त्यो हाम्रो कमजोरी हो । हामीले यसलाई बिस्तारै सच्याउँदै जानुपर्छ ।’ 

हामी लगभग कुराकानीको अन्तिमतिर आइसकेका थियौँ । मैले उनीबाट सुन्न चाहेका धेरै कुरा पाइसकेको थिएँ । अब अन्तिममा उनले अमेरिकामा पढाउने प्रणालीको बारेमा सोध्नु थियो । 

‘उता पढाउने ठाउँमा कस्तो विद्यार्थीहरू छन् ?’ 

‘प्राय संसारभरका सबै फिल्म स्कुलहरूमा पढ्न आउने विद्यार्थीहरूको समस्या भनेको उनीहरू टेक्निकल कुरालाई ठुलो बनाएर आउँछन् । मलाई डेभिड फिन्चर जस्तो वा तार्कोभ्पी जस्तो फिल्म बनाउनु छ । वा क्रिस्टोफर नोलन हुनु छ । हामी प्रोफेसरहरूको काम भनेको उनीहरूको त्यो बुझाइलाई कसरी ब्रेक गर्ने भन्ने हो । म उसलाई ब्रेक गरेर उ आफैँभित्र हेर्ने कसरी बनाउन सक्छु भन्ने मुख्य कुरा हो । मेरो अप्रोच चाहिँ उसलाई आफू जन्मिएको वा हुर्किएको समाज चिन्न हेल्प गर्ने हो । अहिले हाम्रोतिर कक्षामा हुने तीन प्रश्न छन् । यो कथा किन चाहियो ? यो कथा अहिले किन भन्नुपर्‍यो ? अनि यो कथा भन्न तिमी उपयुक्त मान्छे हौ ? किन तिमी ? कुनै कथामा फिल्म बनाउन त्यही मान्छे उपयुक्त मान्छे हो कि हैन । म तराईमा हुर्किएको मान्छे मलाई छाउपडीमा फिल्म बनाउने अधिकार छ कि छैन ? मैले बनाउनै हुँदैन भनेको हैन तर यदि मलाई घचघच्यायो भने मैले कति समय त्यसको बारेमा पढ्ने । कति समय उता गएर बिताउने ? अर्को को राइटर खोज्ने हो कि । त्यसको बारेमा म अनेष्ट हुनुपर्छ कि पर्दैन ? हामीले कक्षामा गर्ने मुख्य प्रश्नहरू यी हुन् । क्यामेरापछाडि को उभिएको छ भन्ने प्रश्न अहिलेको समयको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । जुन कुरा र छलफल यहाँ पनि जरुरी छ ।’

हामी यो बोल्दै गर्दा उनको श्रीमती कलाकार आशा मगराती र कलाकार गौमाया गुरुङ आइपुगे । उनले फोनमा भनेको समयमा लगभग हाम्रो कुरा पनि सकिए । मैले उहाँहरूसँग पनि चिनजान गरेँ । 

उनीहरूको कुराकानीबाट थाहा भयो उनीहरू सेफ सन्तोष शाहलाई पर्खिँदै छन् । सन्तोष शाहको बारेमा बायोपिक बन्ने र त्यसलाई दीपक रौनियारले निर्देशन गर्ने भन्ने कुरा मलाई थाहा थियो । 

म त्यसलाई सम्झिएर रोमाञ्चित भएँ । अनि त्यहाँबाट निस्किएँ ।

यो पनि पढ्नुहोस्:

हाम्रो विकास सडक पुर्‍याउन मात्र केन्द्रित भयो : नविन सुब्बा

फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा

महानगर सबैको लागि हुनुपर्छ : मोहन राई

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *