सरकार देखावटी रूपमा मात्रै राम्रो हो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गलत क्रियाकलापलाई प्रोत्साहित गर्नु नहुने बताएका छन् । बुधबार काठमाडौँको नक्सालको नारायण चौरमा पार्टीले आयोजना गरेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।
उनले सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउनु नहुने बताए । सरकारले सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरू सरकारले गर्नु नहुने उनले बताए । संविधान दिवस नेपाली जनताको साझा दिवस भएको उनको भनाई छ ।
अध्यक्ष ओलीले भने, ‘यो एउटा जाति विशेषको दिवस होइन, यो एउटा भूगोल विशेषको दिवस होइन । एउटा पेसा, व्यवसाय विशेषको दिवस होइन । यो दिवस सम्पूर्ण नेपाली जनताहरूको मेची—महाकाली र प्रवास जहाँ भएपनि नेपाली जनताको मुलुकको साझा दिवस हो । सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस हो । देशभित्र हाम्रो राष्ट्रिय भावना, हाम्रा राष्ट्रिय आकाँक्षाहरु, समृद्ध नेपाल, सुखी नेपालीका राष्ट्रिय आकाँक्षाहरु यस दिवसले समेटेको छ । यस दिवसले ती आकाँक्षाहरुका अगाडि बढाउन चाहेको छ । देश र जनताका लागि जनताले जारी गरेको संविधान बनेको छ । कहीँ कतै हाम्रा उपलब्धिहरूलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलापबाट यस्ता प्रयासहरू छिटपुट रूपमा हुने गरेका देखिन्छन् । त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई भङ्ग गर्ने खालका जुनसुकै काम, विचारहरू सकारात्मक कुरा हुन सक्दैन । जनताको एकता, उन्नतिका लागि यस्ता विभाजनकारी प्रवृत्तिहरू, जनतामा खटपट ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतामा खलल पु¥याउने प्रवृत्तिहरू, क्षेत्रीय, साम्प्रदायिक, जातियतावादी अथवा विभिन्न आस्थासँगका नाममा गरिएका उश्रृंखल खालका क्रियाकलापहरू राष्ट्रिय एकताको पक्षमा छैनन् । त्यसले हाम्रो राष्ट्रिय एकतालाई कमजोर पार्छ । यस्ता कुरा गर्नु हुँदैन भन्ने आग्रह गर्न चाहन्छु । सरकारलाई म भन्न चाहन्छु, सरकारले देखावटी रूपमा एउटा कुरा गर्ने र भित्रभित्र अर्को खालको व्यवहार देखाउने, गलत क्रियाकलापलाई प्रोत्साहन गर्ने, बढवा दिने र सही क्रियाकलाप अघि नबढाउने लगायतका तौरतरिकाहरू सरकारले गर्नु हुँदैन ।’
उनले संविधान दिवस सरकारी दिवस नभई सरकार र नेपाली जनताको दिवस भएको उल्लेख गरेका छन् । उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति सुव्यवस्था, सामाजिक न्याय समानता र राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताए । नेकपा एमालेले संविधान दिवसका अवसरमा काठमाडौं नक्सालको नारायण चौरमा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरेको हो ।