बाबुरामलाई ‘साइज’मा राख्न प्रचण्डको नयाँ रणनीति, महिन्द्रलाई पठाए पत्र !
काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई एकताका लागि भन्दै पत्र पठाएको छ ।
माओवादी केन्द्रले नेसपाका अध्यक्ष रहेका बाबुराम भट्टराईलाई बेवास्ता गर्दै अर्का अध्यक्ष महिन्द्रराय यादवलाई सम्बोधन गरेर पार्टी एकताका लागि पत्राचार गरेपछि (नेसपा)को आन्तरिक राजनीतिमा तरङ्ग आएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबिचको एकताले मूर्त रूप लिने सम्भावना टरेपछि माओवादी केन्द्रले नयाँ रणनीति तय गरेको हो ।
लामो समयको आन्तरिक छलफलबाट पार्टी एकताका लागि भट्टराईसँग सहमति जुट्न नसकेपछि उनी बाहेक अन्य नेतालाई भित्र्याउने दाउमा माओवादी केन्द्र लागेको छ ।
पार्टी एकताका लागि १५ बुँदे पार्टी एकताका आधारसहितको प्रस्ताव नेसपाले माओवादी केन्द्रीय कार्यालयमा बुझाएको थियो । यद्यपि उक्त प्रस्ताव माओवादीले गत साउन १७ देखि २१ सम्म काठमाडौँमा भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि बैठकमा पेस गरेको थिएन ।
आफूलाई माओवादी केन्द्रको बारम्बार बेवास्ता र गत असारमा गठित चार दल सम्मिलित समाजवादी मोर्चामा सामेल नगराएपछि दाहालसँग थप असन्तुष्ट बनेका थिए ।
दाहालले पछिल्लो समय भट्टराईलाई पार्टीमा भित्र्याए उनको पुरानो गुट ब्युँतिने भयले सशङ्कित भएर अनिच्छा प्रकट गरेको स्रोतको दाबी छ ।
मोर्चाको अवधारणाकार रहेका भट्टराईलाई जसपा अध्यक्ष उपेन्द्र यादवले सहभागी गराउन अस्वीकार गर्दा दाहालले कुनै पहल नगरेपछि भट्टराई थप रुष्ट बनेका हुन् ।
तर, सरकारमा खानेपानी मन्त्री रहेका नेसपाका अध्यक्ष महिन्द्र राय यादव र बागमती प्रदेश सरकारमा मन्त्री रहेका सह अध्यक्ष गङ्गानारायण श्रेष्ठ लगायतका नेताहरू माओवादीसँग तत्काल एकता गर्नुपर्ने पक्षमा रहेका छन् ।
माओवादीसँग एकताको पक्षमा रहेका नेताहरू र भट्टराईबिच पछिल्लो असन्तुष्टि बढेको बताइन्छ । सह अध्यक्ष श्रेष्ठ र यादव एकताका लागि तयार रहे पनि दाहालको उपेक्षाबाट आजित भट्टराई एकता गर्ने पक्षमा छैनन् ।
यही भट्टराईको दलभित्रको असन्तुष्टि बुझेरै दाहालले पछिल्लो नयाँ रणनीति अख्तियार गर्दै नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवलाई सम्बोधन गर्दै भदौ ३० गते पत्र लेखेको माओवादी स्रोत बताउँछ ।
नेसपाका भट्टराईलाई भित्र्याउँदा पार्टीमा फेरि उनको पक्षधरका नेताहरू सङ्गठित भएर आफू विरुद्ध गुटबन्दी हुने भयले भट्टराई बाहेक अरूलाई भित्र्याउने रणनीतिमा दाहाल लागेको स्रोत बताउँछ ।
नेसपा र माओवादी केन्द्र बिच विगत चुनाव अगावै पार्टी एकता गर्ने सहमति बमोजिम एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका थिए । भट्टराईको दल नेसपाबाट सङ्घीय संसद् एक जना र प्रदेशमा तीन सांसद निर्वाचित भएका थिए ।
गोरखा २ को आफ्नो निर्वाचन क्षेत्र छाडेर दाहाललाई सुम्पिएका थिए । भट्टराई दाहाल नेतृत्वको माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सम्मको तयारीमा थिए ।
निर्वाचन पछि भट्टराईलाई पार्टीमा भित्र्याएर जिम्मेवारी दिन दाहाल सहमत भएको माओवादी नेताहरू बताउँछन् । तर त्यसका लागि पार्टीको नाम चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त रहेको थियो ।
तथापि निर्वाचन परिणाममा आफ्नो अनुकूल नभएर काठमाडौं ७ बाट छोरी मानुषी मयी पराजित भएपछि भट्टराईको बाँकी सर्त पूरा गर्न दाहाल अनुदार देखिएपछि यी दुईको सम्बन्धमा खटपट सुरु हुन थालेको बताइन्छ ।
दाहालले पछिल्लो समय भट्टराईलाई पार्टीमा भित्र्याए उनको पुरानो गुट ब्युँतिने भयले सशङ्कित भएर अनिच्छा प्रकट गरेको स्रोतको दाबी छ ।
नेसपाका अध्यक्ष भट्टराईले सोही कारण केही समय अघि एक टेलिभिजन अन्तरवार्तामा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको सहकार्यको सम्भावना टरेको बताएका थिए ।
उनको सोही अभिव्यक्ति पछि अध्यक्ष दाहाल र महासचिव देव गुरुङको संयुक्त हस्ताक्षरित पत्र नेसपाका अध्यक्ष द्वय मध्येका अर्का महिन्द्र राय यादवलाई सम्बोधन गरेर पठाएपछि यसले नेसपाको आन्तरिक एकतामा खलबल पु¥याउने आँकलन गरिएको छ ।
सहकार्य सम्भावना टरेपछि दाहालको नयाँ रणनीति अनुसार माओवादी केन्द्रले नेसपाको आन्तरिक राजनीतिमा प्रभाव पार्ने गरी भट्टराईलाई एक्लाउन लागेको स्रोतको स्रोतले बतायो ।
नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र लामो छलफलपछि टरेको एकताको सम्भावनालाई मूर्त रूप दिन माओवादी केन्द्रले नयाँ रणनीति तय गर्दै असन्तुष्ट समूहलाई पार्टीमा भित्र्याउने तयारी थालेको हो ।
यी दुई नेता द्वयको सम्बन्ध विगतदेखि उतारचढावपूर्ण रहँदै आएको छ । उनीहरू अलग भएपछि पछिल्लो समय पुनर्मिलनका लागि जारी संवाद परिणाममुखी हुन सकिरहेको थिएन ।
लामो समय राजनीतिक सहयात्रा गरेका भट्टराई र दाहाल अहिले फरक कित्तामा पुगेका छन् । २०७२ को संविधान निर्माण पछि दाहाल नेतृत्वको माओवादीबाट भट्टराई अलग भएका हुन् ।
संविधान जारी भएसँगै नेपालको राजनीतिको एक अध्याय सकिएको बताउँदै भट्टराई कम्युनिष्ट विचार परित्याग गर्दै लोकतान्त्रिक चरित्रको नयाँ शक्ति पार्टी गठनमा लागेका थिए ।
उनी त्यसयता नयाँ शक्ति, समाजवादी, जसपा हुँदै अहिले नेसपा गठन गर्दै लोकतान्त्रिक चरित्रको राजनीतिक यात्रा तय गरेका छन् ।
यता माओवादी केन्द्रको अध्यक्ष समेत रहेका भट्टराईका पूर्व सहकर्मी प्रधानमन्त्री दाहाल भने काँग्रेस सहितको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका छन् ।