नेपथ्यले क्यानडामा सांगीतिक प्रस्तुति दिने
काठमाडौँ । नेपाली सांगीतिक समूह नेपथ्य क्यानडाका नेपालीमाझ पुग्ने भएको छ । क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा सांगीतिक प्रस्तुति दिने भएको हो ।
समूहको सांगीतिक यात्राको तालिका नेपालयले बुधबार सार्वजनिक गरेको हो । समूहको दुई कार्यक्रम पश्चिम क्यानाडामा हुने भएको छ । आगामी अक्टोबर १ मा क्यालगरी सहरको ’दी प्यालेस थिएटर र अक्टोबर ४ मा भ्यानकुभरको दी भोग थिएटरमा प्रस्तुति रहने जनाइएको छ ।
यात्राको अन्तिम शो भने टोरन्टोमा अक्टोबर ८ मा हुने भएको छ । टोरन्टोस्थित क्यानाडाकै विख्यात कार्यक्रमस्थल ‘म्यासी हल’मा समूहले प्रस्तुति दिने तय भएको नेपालयले जनाएको हो ।
सन् १८९४ मा खुलेको क्यानाडाको म्यासी हल त्यसको सयवर्ष पुग्नैलाग्दा अर्थात् सन् १९८१ मा मुलुककै ‘नेशनल हिस्टोरिक साइट’ (राष्ट्रिय ऐतिहासिक स्मारक) मा सूचीकृत भएको थियो । त्यहाँ विश्वविख्यात सांगीतिक समूहहरुले कन्सर्ट गरेको इतिहास छ ।
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औं गन्तव्य हुनेछ । अघिल्लो महिनाको जापान यात्रामा सम्मिलित ८ जना प्राविधिक एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा जाने जनाइएको छ ।
‘हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए पनि त्यहाँ बसोबास गर्ने नेपालीहरुले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘दसैंको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौं ।’
क्यानाडामा रहेका शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् दिइरहेको सन्देश आफूलाई प्राप्त भइरहेको अमृतले जानकारी दिए । क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
क्यानाडा नेपालीका लागि आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरुको संख्या बर्सेनि बढ्दो छ ।