एक्लै भेट्यो भने तपाई जस्तो गृहमन्त्री कोही छैन भन्छन्, संसदमा गाली गर्छन्ः गृहमन्त्री
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचारबिरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा पैदा हुने बताएका छन् ।
बिहीवार नेपाल बुद्धिजीवि संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
उनले सरकारले संविधान र कानूनअनुसार निष्पक्ष ढंगले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउने बताए ।
उनले देशमा पारदर्शीताको अभियान, जवाफदेहीताको अभियान, कानूनको शासनको अभियान प्रत्याभुत गर्नुपर्ने बताए । उनले पोल्टिकल सिस्टममाथि खतरा पैदा हुनेकुराले राष्ट्रियतामाथि गम्भीर खतरा उत्पन्न हुने बताए ।
गृहमन्त्री श्रेष्ठले देश बनाउन सकिन्छ की सकिँदैन भन्ने नभइ बनाएर नै छोड्ने प्रतिवद्धता जनाए । उनले अब तैँ चुप मै चुप भएर यथास्थिति कायम गर्ने प्रक्रियाले देश बन्न नसक्ने भन्दै देश बर्बाद हुन दिन नसकिने स्पष्ट पारे ।
उनले भने, ‘सरकारले निष्पक्ष ढंगले, को सरकारमा, को प्रतिपक्षमा छ भन्ने आधारले होइन, कसले आफूलाई समर्थन गर्छ भन्ने आधारमा होइन, सरकारले संविधान र कानूनअनुसार निष्पक्ष ढंगले दृढतापूर्वक अहिलेको अभियानलाई अघि बढाउनुपर्छ । अझ सशक्त र प्रभावकारी बनाउनु पर्छ । हामीले अहिले समाजमा पनि एक प्रकारको अभियान छेड्नुपर्छ, त्यसको लागि हामीले मेहनत गर्नुपर्छ । भ्रष्टाचारबिरोधी, सुशासनको अभियान, सुशासनसँग जोडिएका अरु सेवा प्रवाहको अभियान, सिस्टम फंग्शन गर्ने, पारदर्शीताको अभियान, जवाफदेहीताको अभियान, कानूनको शासनको अभियान हामी प्रत्याभुत गर्नसक्छौँ । यसलाई सफल बनाइएन भने मेरो, मेरो पार्टीको, अहिलेको सरकारको कुरा होइन, राजनीतिक प्रणालीमाथि खतरा पैदा हुन्छ । यो पोल्टिकल सिस्टममाथि खतरा पैदा हुनेकुरा देश अस्थिरता,अराजकता, फेल स्टेट र राष्ट्रियतामाथि ठूलो गम्भीर खतरा पैदा हुन्छ । त्यो दिशातिर जान दिनु हुँदैन, त्यसकारण बनाउन सकिन्छ की सकिँदैन होइन, बनाइन्छ, बनाउनुपर्छ, आशा विश्वास पैदा गरेर नयाँ अभियान छेड्नु छ, अब तैँ चुप मै चुप भएर यथास्थिति कायम प्रक्रियाले देश बन्दैन, देश बर्बाद हुन दिन सकिँदैन । अब बनाउनै पर्छ । को सत्ता पक्षमा छ को प्रतिपक्ष भनेर नहेरौँ, एक्लै भेट्यो भने तपाई जस्तो गृहमन्त्री पाइएन नभनौँ, पाल्र्यामेण्टमा गए भने आदर्शका कुरा गर्ने गृहमन्त्री भन्छन्, मलाई नै त्यही भने भयो नि । हामी त सबै वकील भयौँ । एउटा पार्टीको झण्डा बोकेको छ, सबै वकील यहाँ त । समाज नै वकीक हुन थाल्यो । देश क्राइसिसमा छ, यो देशलाई बचाउनका निम्ति हामी सबै संगठित भएर सुशासन स्थापित गर्न र उपलब्धि रक्षा गर्न लाग्नुपर्छ, सम्भव छ, बनाएर छोडिन्छ ।’
गृहमन्त्री श्रेष्ठले देश संकटपूर्ण अवस्थामा रहेको भन्दै देशलाई बचाउनका लागि सबै संगठित भएर सुशासन स्थापित गर्न र उपलब्धि रक्षा गर्न लाग्नुपर्ने बताए ।