भिडिओ एक्स-रे गर्दा गर्भ रहेको खुलेपछि बाहिरियो सामूहिक बलात्कारको घटना
काठमाडौँ । डडेल्धुरामा विवाहित महिलामाथि सामूहिक बलात्कार गर्ने चारजना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । भागेश्वर गाउँपालिकाकी २० वर्षीया विवाहित महिलालाई सामूहिक बलात्कार गर्ने चार युवालाई प्रारम्भिक रूपमा बलात्कार गरेको स्विकारेपछि जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रहरीले भागेश्वर गाउँपालिका-३ ओडगाउँका २३ वर्षीय कमल ओड, १८ वर्षीय प्रकाश ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओडलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार प्रकाश र दीपक अविवाहित हुन् । केही महिनादेखि पेट दुख्यो भनेपछि परिवारका सदस्यले ती महिलालाई ३० भदौमा भागेश्वर गाउँपालिका-३ मा आयोजित स्वास्थ्य शिविरमा पठाएका रहेछन् । त्यहाँ शिविरमा उनको भिडिओ एक्स-रे गर्दा ५ महिनाको गर्भ रहेको देखाएपछि घटना बाहिर आएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले बताए ।
ती महिलाका श्रीमान् डेढ वर्षदेखि भारत थिए । पीडित महिला एक छोरीकी आमा हुन् । स्थानीय नानीगाड खोलामा वैशाख ५ गते र वैशाख १२ गते गोठमा बेलुकीको समयमा दुईपटक ती महिलालाई सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी कार्कीले जानकारी दिए । कार्कीका अनुसार बिहीबार डडेल्धुरा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।