बाबु छोरीको सम्बन्ध केलाउने शक्तिशाली फिल्म
‘तपाईँ कुनै पात्रको गहिराइमा कसरी पुग्नुहुन्छ ?’ अनुपमा चोपडा सोध्छिन् । जवाफ दिँदै नवाजुद्धिन सिद्धिकी भन्छन् ‘म त्यो चरित्रको नितान्त निजी बानीहरू खोज्छु । उ एक्लै हुँदा के गर्छ हेर्छु ।’
उनले भनेको यो कुरा झलक्क सुन्दा सामान्य सुनिन्छ । तर कुनै सिनेमामा चरित्र निर्माणको लागि सबैभन्दा महत्त्वपूर्ण विशेषता नै यही हो । त्यो चरित्रको नितान्त निजी बानी नै हो जसले हामीलाई उसको नजिक पुर्याउँछ । उसको शक्ति वा कमजोरीको भेउ पाउन मद्दत गर्छ ।
उ कुनै कुरामा कसरी प्रतिक्रिया जनाउँछ । उ चित्त दुख्दा के गर्छ । उ खुसी हुँदा कसरी हुन्छ । उसलाई अफ्ट्यारो लाग्दा कसरी लाग्छ ? कुनै कुरा बोझिलो भयो भने उसको शरीरमा कसरी सर्छ ?
ठ्याक्कै त्यही बानी ।
लेखकले त्यो बानी आफ्नो चरित्रमा कसरी लेख्छ । निर्देशकले कसरी त्यसलाई सोच्छ, अनि कलाकारले कसरी देखाउँछ । यसमा फिल्मको शक्ति निर्भर गर्छ ।
फिल्मबाहिर उभिएर हेर्यो भने खासमा हामी सबैलाई बनाउने चिज नै हाम्रो बानी हो । त्यसैको आधारमा हामी कोही साथीसँग बानी हुन्छौँ ।
र जुन फिल्मले त्यो बानीलाई गहिरोगरि देखाउन सक्छ । सहज लाग्ने चरित्र त्यसैबाट बन्छन् । हरेक घटनामा उनीहरूले देखाउने प्रतिक्रिया त्यसैले दिन्छन् । कुनै काम उनीहरूले त्यसरी गर्छन् भनेर विश्वासयोग्य बनाउँछन् ।
चार्लोट विल्सले लेखेको र निर्देशन गरेको ‘आफ्टरसन’ फिल्मले यही बानीको शक्ति प्रयोग गर्दै बाउ छोरीको सम्बन्धको कथामार्फत धेरै गहन विषयहरू उठाएको छ । र उनीहरूको त्यही बानी नै हो जसले फिल्मका हरेक साना साना मोमेन्टहरूलाई जीवित बनाइदिएको छ । अर्थपूर्ण छोडिदिएको छ । उनीहरू बिचको संघर्ष र आत्मियता सबै उनीहरूको बानीको कारण पत्याउनयोग्य बनेका छन् ।
सोफी ११ वर्ष पुग्दै छिन् । उनको ३० वर्षको बुबा कालुम र उनकी आमाले आपसी सहमतिमै छोडपत्र गरेका छन् । सोफी आमासँग इडेनबर्ग बस्छिन् । कालुम छोडपत्रपछि लन्डन सरेका छन् ।
त्यही बिचमा उनी र उनको बाबु टर्कीको एउटा सहरमा समर होलिडे मनाउन पुगेका छन् ।
दुवै चरित्र एक अर्कासँग सहज छन् । मज्जाले कुराकानी गर्छन् । जिस्कन्छन् ।
सोली भिडियो क्यामेरामा भिडियो बनाइरहन्छिन् ।
फिल्मको प्लट साधारण छ । तर धारण प्लटलाई पात्रहरूको गहिरो बुझाई र उनीहरूको बानीको अर्थपूर्ण प्रस्तुति दिँदै विल्सले आधुनिक समाजका अनेकौँ विषयहरूलाई सतहमा ल्याइदिएकी छन् । विशेषत: छोडपत्रपछि सन्तान र उसको एकल अविभावकबिचको सम्बन्धका अनेक आयामलाई त्यसले देखाएको छ ।
त्यसमध्येको एउटा हो एक पुरुषको बोझ ।
कालुमको जिन्दगी सहज चलिरहेको छैन । उनको काम गतिलो छैन । उनी राम्रो कमाइरहेका छैनन् । उनी छोरीसँग टुरमा त आएका छन् तर मज्जाले खर्च गर्न सक्ने अवस्थामा पनि छैनन् ।
जो मान्छेसँग अहिलेको समयमा पैसा छैन ऊसँग कन्फिडेन्स हुँदैन । फिल्मको धेरै ठाउँमा कालुमको अनुहारबाट त्यो कन्फिडेन्स हराउँछ ।
उनी सहज मानसिक परिस्थितिमा नभएको पनि धेरै साइनहरू उसको बानीबाट नै देखिन्छ । उनी बेलाबेला सेल्फ डिफेन्स भनिने चाइनिज मार्सल आर्ट्स को पोजहरू प्राक्टिस गर्छन् । त्यसको स्लो मोसनले उनको जीवनको व्यस्ततालाई रोकिनु भनिरहेको जस्तो लाग्छ । उनी सेफ्फ हेल्प बुकहरू पढ्छन् ।
तर त्यो सबै कुरा सिधै सोफीलाई भने भन्दैनन् । भलै सोफी बुझ्छिन् ।
सोफीले के के कुरा बुझ्छिन् वा के के कुरा हेर्छिन् भन्ने बानीले हामीले सानो उमेरको भन्ने बच्चाहरू कति धेरै बुझ्ने भइसकेका हुन्छन् भन्ने कुरा बताइदिन्छ ।
उनी सोफीलाई पनि सेल्फ डिफेन्स सिकाउन खोज्छन् । संभबत उनी आफूलाई जे भयो त्यो उनलाई नहोस् भन्ने सोच्छन् ।
एउटा दृश्यमा भिडियो खिचिरहेको बेला सोफी बुबालाई जिस्काउँदै भन्छिन् ‘म ११ वर्ष पुगेँ । उहाँ एक सय ३० वर्ष पुग्नुभयो ।’
उनले जिस्किँदै भनेको त्यो वाक्यमा ठुलो सबटेक्स्ट छ । उनको बुबा उमेरको बोझले थिचिएका छन् । उनको त्यो बोझ अनुहारमा बेलाबेला देखिन्छ । उनले सोफीलाई लुकाउन खोजेको कुरामार्फत देखिन्छ ।
सोफि जिस्किँदा जिस्किँदै उसलाई सोध्छिन् ‘तपाईँले ११ वर्षको हुँदा कस्तो हुने सोच्नुभएको थियो ?’
त्यो प्रश्नले फेरी उसलाई उही बोझ सम्झाइदिन्छ ।
उसको बोझ धेरै हिसाबले वर्तमान समयमा मानिसहरूले बोकिरहेको बोझसँग मिल्छ । उनीहरूलाई अल्झाउने कुरा धेरै छन् । धेरै द्विविधा छन् । दिमागमा कतै पैसा कमाउने बोझ छ त कतै राम्रो परिवार बसाउने । तर धेरैको जीवन सोचेको जस्तो भएको हुँदैन । अनि त्यो अर्को बोझ बन्छ ।
उमेरले थाहा नै नपाई अनेको जिम्मेवारीहरुको भारी ल्याएर बोकाइदिइसकेको हुन्छ ।
फिल्ममा धेरै साना साना घटना हुन्छन् तर तीनले दुई जना पात्रको बानीमार्फत ठुलो कुरा प्राप्त गर्छन् । स्कुबा डाइभिङ गर्न गएको एउटा दृश्यमा सोफी महँगो स्कुबा मास्क हराउँछिन् । कालुम उनीसँग रिसाउँछन् ।
उनको लागि त्यो मास्क किन्नु ठूलो कुरा थियो ।
अर्को एउटा दृश्यमा उनीहरू गलैँचा किन्न गएका छन् । सोफीलाई मनपरेको गलैँचा उनी किन्न सक्दैनन् ।
उनको लागि त्यो गलैँचा किन्नु सोच्नुपर्ने कुरा हो ।
अरू केही दृश्यमा सोफी केही खाने मन गर्छिन् । उनी त्यसलाई पनि किन्न सक्दैनन् ।
उनको लागि ती सबै कुरा खर्च हुने कुरा हुन् ।
खर्च हुने कुराले हामी सबैलाई कुनै न कुनै तरिकाले बोझ थपिरहेका छन् ।
उनी ती सबै कुरा गर्न सक्दिनँ भनेर सोफीलाई सिधै भन्न सक्दैनन् । बाबुको अवस्था नबुझुन्जेल सोफी पनि उसलाई दोष लगाउन छोड्दिनन् ।
यो फिल्मले दुई बाउ छोरीको बानीको कथा भन्दै समानुभूतिको कुरा गरेको छ । एक अर्कालाई बुझ्नुपर्ने कुरा गरेको छ । उनीहरू सुरुवातमा जति नजिक थिए केही समयमा त्यति नजिक पनि हुँदैनन् । तर बिचमा जति टाढा पुगेका थिए त्यति टाढा पुगेका पनि हुँदैनन् । हाम्रो जीवनमा धेरै सम्बन्धहरू पनि त्यस्तै नै हुन् । तीनलाई बन्नलाई समय लाग्छ । सँगै धेरै कुरा गुजार्नुपर्छ जसरी एउटा बिदा मनाउन जाँदा बाबु छोरीको बिचमा धेरै कुरा थाहा हुन पाएको छ ।
सँगै यो फिल्मले दुई जनाको बानीमार्फत दुई फरक उमेर समूहको बिचमा हुनुपर्ने संवादको पक्षमा पनि बोलेको छ । बारम्बार आफ्नो बढ्दै गरेको उमेरको कारण विपरीत लिङ्गप्रति आकर्षित भइरहेकी सोफी आफूले एक युवकलाई चुम्बन गरेको कुरा बाबु सुनाउँछिन् । त्यसलाई स्वाभाविक रूपमा लिँदै बाबु भन्छन् ‘तिमीले मलाई जस्तो सुकै कुरा पनि सुनाउन सक्छौ है ।’
उनी त्यसो भन्छ किनकि उसले कसैलाई कुरा सायद सुनाउन पाएका छैनन् । उनका धेरै डार्क ट्रुथहरू उ भित्र दबेका छन् । ऊनीसँग सायद कुनै साथी छैनन् । एउटा दृश्यमा सँगै गीत गाउन नमानेपछि सोफी उ सँग रिसाउँछिन् । उनी पनि उनीसँग रिसाएर समुन्द्रमा राती पौडी खेल्छन् । फर्किएर आएर कोठामा नाङ्गै सुत्छन् ।
उनलाई त्यो कुराले दोषी महसुस हुन्छ । उनी पटक पटक सोफीसँग माफी माग्छन् ।
त्यो कुराले उनीहरूको बिचमा रहेको दुरी कम हुन्छ । सोफी उनलाई माफी गरिदिन्छिन् ।
उनीहरूको बानीलाई सहज र सरल तरिकाले बग्न दिएर फिल्मले हरेक मान्छेमा हुने कमजोरी र शक्तिलाई देखाएको छ । उनी एकदमै प्रिय बाबु हुन् । उनी छोरीसँग सहज छन् । आफूले मनपराएका युवतीहरूको कुरा पनि सुनाउँछन् । उनको होलिडे राम्रो बनाउन अनेक प्रयत्न गर्छन् ।
तर उनको नराम्रो बानी पनि छ । उनी सानो सानो मोमेन्टमा आफ्नो प्रतिक्रिया दिइहाल्ने बानीलाई कन्ट्रोल गर्न सक्दैनन् ।
फिल्ममा निर्देशकले उनीहरूको बानीलाई यति नजिक पुर्याएकी छन् कि उनीहरूले प्याराग्लाइडिङ गरेको हेरिरहेको कुराले पनि उनीहरूको पुरा नभएको चाहनालाई प्रतिबिम्बित गर्छ । सोफी हरेकपल्ट पौडी पोखरीमा हाम्फाल्दा डर लाग्छ । उनले पौडी पोखरीमा हाम फालेको कुरा उनी उमेरको पोखरीमा पौडिन खोजिरहेको जस्तो लाग्छ ।
निर्देशक चार्लोट वेल्सले प्रेमिल छुवाइलाई पनि निकट तरिकाले देखाएकी छन् । सोफी र कालुमले एक अर्काको हातमा हात राखेको दृश्य मार्मिक छ ।
त्यसले हामीलाई हाम्रा प्रिय मान्छेको हात संझाउँछ ।
उनीहरूबिचको निकटतालाई देखाउने दृश्यहरू प्राय क्लोज र मिड फ्रेममा छन् । तीनले मिठो सम्बाद गर्दै आफ्ना नजिकका मान्छेहरूसँग हामी एउटै फ्रेममा छौँ कि छैनौँ सोधिदिन्छ ।
यो फिल्मले सकिएपछि पनि लामो समयसम्म झङ्कार हानिरहन्छ । सोच्ने बनाइरहन्छ, हामीलाई पनि हरेक सम्बन्धहरूसँग यस्तै निकट हुनेगरिको कुनै यात्रा चाहिन्छ । त्यस्तो यात्रा जसले हामीलाई हाम्रो सीमितता बुझाइदियोस् । हाम्रो अप्ठ्यारो खुलाइदियोस् ।
अनि कसैलाई भन्न सकियोस् ‘तिमीले मलाई जे कुरा सुनाएपनि हुन्छ ।’
कसैले भनिदियोस् ‘तिमीले मलाई जे कुरा सुनाएपनि हुन्छ ।’
ट्रेलर हेर्ने लिंक